साहसिक वाइल्डलाइफ फोटोग्राफर चुङ्बा शेर्पाको निधन
सोलुखुम्बु : चर्चित वाइल्डलाइफ फोटोग्राफर चुङ्बा शेर्पाको ६४ वर्षको उमेरमा निधन भएको छ । कलेजोसम्बन्धी समस्या देखिएपछि एक सातादेखि उपचाररत शेर्पाको आइतबार राति १२:१५ बजेतिर ग्रान्डी अस्पतालमा निधन भएको हो
सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–१,लुक्ला स्थायी बासिन्दा शेर्पा वाइल्डलाइफ फोटोग्राफीको क्षेत्रमा पछिल्लो पाँच वर्षयता अत्यन्त सक्रिय थिए। उनले नेपालका विभिन्न राष्ट्रिय निकुञ्ज र दुर्गम स्थानहरूमा पुगेर दुर्लभ वन्यजन्तुका अनौठा तस्बिर खिचेका थिए । उनले खिचेका जङ्गली याक,हिउँचितुवा र बाघका तस्बिरले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा चर्चा पाएका छन् । शेर्पा सामाजिक क्षेत्रमा पनि सक्रिय थिए । चौरीखर्क मावि विद्यालय निर्माणदेखि लुक्ला एयरपोर्टको विकाससम्म उनको महत्त्वपूर्ण योगदान रहेको छ । नेपाली कांग्रेसको राजनीति गर्दै खुम्बु पासाङल्हामु गाउँपालिका समितिका सभापति बनेका शेर्पा समाजसेवाका लागि निकै लोकप्रिय छन्।
आफूले खिचेका फोटोहरूले नेपालको वन्यजन्तु संरक्षण र पर्यटन प्रवर्द्धनमा योगदान दिन सकून् भन्ने उनको चाहना थियो । मंगलबार शेर्पा इन्डोनेसियाको जंगलमा फोटोग्राफी गर्न जाने तयारीमा थिए । शेर्पाको निधनले नेपाली फोटोग्राफी र वन्यजन्तु संरक्षण क्षेत्रमा ठूलो क्षति पुगेको छ । शेर्पाले देखाएको साहस र योगदानले धेरैलाई प्रेरणा दिएको छ ।
जीवन र करियरको मोड
चुङ्बा शेर्पा ५७ वर्षको उमेरमा वाइल्डलाइफ फोटोग्राफीमा होमिएका थिए । उनको जीवनको यो मोड प्रेरणादायी छ । लामो समयसम्म यती एयरलाइन्समा जागिर र होटल व्यवसाय गरेका शेर्पाले आफ्नो बाल्यकालको सपना पूरा गर्न उमेर पाँच दशक नाघिसकेपछि क्यामेरा समाएका थिए।
क्यानोनको उच्चस्तरीय क्यामेरा, लेन्स किन्नु र प्रयोग गर्न सिक्न विदेशीहरूबाट अनलाइन कक्षा लिनु उनको सौख थियो। पाँच वर्षको अभ्यासपछि शेर्पाले वन्यजन्तुका उत्कृष्ट फोटो खिच्न सफल भएका थिए ।
जोखिम र साहस
वन्यजन्तुका फोटो खिच्न उनले धेरै जोखिम मोल्नु परेको थियो। जङ्गली याकको फोटो खिच्ने क्रममा उनलाई याकले आक्रमण गरेको थियो । यस्तै,बाघको फोटो खिच्दा पनि बाघले झम्टेपछि भागेर ज्यान जोगाएका थिए। नेपालको पर्यटन व्यवसायको प्रवर्द्धन गर्न शेर्पाको ठूलो योगदान रहेको छ।
नेपाल पंक्षी संरक्षण संघ,राष्ट्रिय प्रकृति संरक्षण कोष र नेपाल टुरिजम बोर्डजस्ता संस्थाबाट उनले सम्मान प्राप्त गरेका छन् । शेर्पाका दुई छोरा र दुई छोरी छन् । जेठा छोरा छेवाङ शेर्पा चिकित्सक छन् भने छोरी बन्दा फुटी शेर्पा जहाजकी क्याप्टेन छिन् ।
पत्नी आङ फुटी शेर्पा र अर्की छोरी मिङ्मा शेर्पाको निधन भइसकेको छ।