अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठक
प्रधानमन्त्रीको चीन भ्रमणबारे संसदीय समितिमा परराष्ट्रमन्त्री राणाको ब्रिफिङ
काठमाडौं : परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन र संयुक्त राष्ट्रसंघको भ्रमणबारे जानकारी गराएकी छन्। सोमबार संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा मन्त्री राणाले प्रधानमन्त्री ओली नेतृत्वको विदेश भ्रमणबारे जानकारी गराएकी हुन्।
उनले प्रधानमन्त्री ओलीबाट संयुक्त राष्ट्र संघको ७९ औं महासभामा भएको सहभागिताले नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध सुदृढ बनाउन र विश्व मञ्चमा नेपालको उपस्थिति मजबुत बनाउन महत्वपूर्ण योगदान गरेको बताइन्।
भ्रमणका क्रममा प्रधानमन्त्री ओली र संयु्क्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरसबीच भेटवार्ता भएको र उक्त भेटका क्रममा उनीहरूबीच नेपालको शान्ति प्रक्रियामा भएको प्रगति,नेपालमा जलवायु परिवर्तनले पारेको प्रभाव न्यूनिकरणका लागि संयुक्त राष्ट्र संघको सहयोग,संयुक्त राष्ट्र संघको विकास र सुदृढिकरणमा नेपालको समर्थन तथा संयुक्त राष्ट्र संघअन्तर्गत शान्ति स्थापना कार्यमा नेपालको योगदानको विषयमा छलफल भएको मन्त्री राणाले बताइन्।
मन्त्री राणाले प्रधानमन्त्री ओलीको मंसिर १७ गतेदेखि २० गतेसम्म भएको चीन भ्रमण पनि उपलब्धिमूलक रहेको बताइन्। उनले चीन भ्रमणमा रहँदा प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सिचिनफिङसँग भएको भेट महत्वपूर्ण रहेको जिकिर गरिन्।
यसैगरी प्रधानमन्त्री ओली र चीनका प्रधानमन्त्री लि छियाङबीच द्विपक्षीय वार्ता भएको र उक्त वार्तामा नेपाल र चीनबीचको सम्बन्ध र सहयोग सम्बन्धी महत्वपूर्ण छलफल भएको उनको भनाइ छ।