बृहत् पर्यटकीय कृषि मेलाका लागि ३ दिन स्थानीय बिदा
भोजपुर : टेम्केमैयुङ गाउँपालिकाले आयोजना गर्न लागेको बृहत् सांस्कृतिक तथा पर्यटन कृषि मेलाका लागि ३ दिन स्थानीय बिदा दिएको छ। योवर्ष एक लाख पर्यटक भित्राउने लक्ष्यका साथ गाउँपालिकाले ‘मुन्दुम ट्रेल भ्रमण वर्ष २०२५’ प्रवर्द्धन गर्न कृषि मेला आयोजना गर्न लागेको हो।
माघ १ गतेदेखि ५ गतेसम्म चल्ने कृषि मेलाका लागि आकस्मिक सेवाबाहेक २, ३ र ४ गते स्थानीय बिदा दिएको हो। गाउँपालिकाको पर्यटन प्रवर्द्धनका साथै कृषि उत्पादनलाई जोड दिँदै पालिकाले ३ दिन बिदा दिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विकेन पौडेलले बताए।
मेलाको पहिलो दिन माघ १ गते संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले उद्घाटन गर्ने छन्। गाउँपालिकाको आयोजना, चखेवा बजार तथा शहरीकरण व्यवस्थापन समिति चखेवाको मेला व्यवस्थापन र मैयुङ टेम्के साल्पा सिलिचुङ पर्यटन प्रवर्द्धन केन्द्रको समन्वयमा मेला सञ्चालन हुन लागेको हो।