दोर्खु दोभानमा तीनमुखे पुलको निर्माण सुरु
नुवाकोट : नुवाकोटको दोर्खु दोभानमा तिनमुखे पुलको निर्माण सुरु गरिएको छ। नुवाकोटको तादी र पञ्चकन्या गाउँपालिकाको संगमस्थल सूर्यमती र हेमवती नदीको संगमस्थल तादी दोर्खु दोभानमा तीनमुखे झोलुंगे पुलको शिलान्यास गरिएको हो।
सो पुलको पूर्व अर्थमन्त्री तथा कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले शिलान्यास गरे। उनले नेपालकै दोस्रो तीनमुखे झोलुङ्गे पुलको निर्माण सुरु भएकोमा यसले पर्यटन तथा सांस्कृतिक गतिविधिमा मद्दत पुग्ने बताए। उक्त पुलको कुल लागत कुल ६ करोड ५८ लाख ५७ हजार रुपैयाँ रहेको छ।
कुल १ सय ५८ मिटर लम्बाइको सो पुल आगामी २०८३ साल असार महिनाभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ। तीनमुखे पुल निर्माणपछि पर्यटकीय क्षेत्रमा सहयोग पुग्नुका साथै यसले आन्तरिक तथा बाह्य पर्यटक र सर्वसाधारण किसानलाई दैनिक जीवनयापनमा सहजता प्रदान गर्नेछ।
सो पुलको निर्माणले उक्त क्षेत्रको धार्मिक पर्यटनको विकास हुनुका साथै आर्थिक गतिविधि बढ्ने विश्वास लिइएको बागमती प्रदेशका पूर्वमन्त्री तथा एमाले नुवाकोटका अध्यक्ष बद्री मैनालीले बताए। उनका अनुसार तादी र पञ्चकन्याको संगम दोर्खु र तादी खोलाको बीच भाग ऐतिहासिक महत्त्व बोकेको हुँदा नेपालकै दोस्रो तीनमुखे झोलुङ्गे पुलको निर्माणले नुवाकोटको तादी, पञ्चकन्या र दुप्चेश्वरका स्थानीय बासिन्दाको जीवनस्तरमा सकारात्मक प्रभाव पार्ने छ।