मुक्तिनाथ विकास बैंकको अठारौं वार्षिक साधारण सभा सम्पन्न
मुक्तिनाथ विकास बैंकले पुस २९ गतेका दिन पोखरामा आफ्नो अठारौं वार्षिक साधारण सभा सम्पन्न गरेको छ।
बैंकका सञ्चालक समितिका अध्यक्ष भरतराज ढकालको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा आव २०८०/०८१ को वार्षिक प्रतिवेदन पारित गर्दै प्रति सेयर सय रुपैयाँका दरले १ अर्ब बराबरको मुक्तिनाथ ८.५ प्रतिशत अविमोच्य असञ्चित अग्राधिकार सेयर सम्बन्धित नियमानकारी निकायको स्वीकृतिपश्चात जारी गर्ने प्रस्ताव समेत स्वीकृत गरेको छ।
यसै सभाबाट आव २०८१/०८२ को लागि लेखापरीक्षकको नियुक्ति लगायतका सामान्य प्रस्तावहरु पारित गरेको छ। साथै, साधारण सभाको अवसरमा बैंक स्थापना गर्न पहल गरेका सुरुका ३० जना संस्थापक सेयरधनीहरू, बैंकको उन्नयनमा अतुलनीय योगदान दिने अन्य संस्थापक सेयरधनीहरु तथा सञ्चालक सदस्यहरूलाई सम्मान गरिएको थियो।
विशेष प्रस्तावको रुपमा रहेको काठमाडौं–२८, कमलादीमा अवस्थित केन्द्रीय कार्यालय, बैंकको नवनिर्मित आफ्नै केन्द्रीय कार्यालय भवन, लाजिम्पाट काठमाडौंमा स्थानान्तरण गर्ने लगायतका सबै प्रस्तावहरू सर्वसम्मत रूपले पारित भएका छन् ।