माघ लहैली सुरिक सिकार खैली...
टीकापुर : आज ‘माघ’, थारू समुदायको नयाँ वर्ष। थारू सम्वत् २६४८ सुरु भएको दिन। आफ्नो नयाँ वर्षका दिन पश्चिम तरार्ईका थारू समुदायका मानिस बिहानै नदी, तलाउ, खोलामा नुहाएर आफूभन्दा ठूलालाई ढोगसलाम गर्ने र सानालाई आशीर्वाद दिने गर्छन््। आजको दिन रिसराग, आपसी वैमनस्यता, झैझगडा सबै बिर्सेर एक आपसमा आत्मियता दर्शाउनुका साथै शुभकामना आदानप्रदान गर्ने चलन थारू समुदायमा छ।
पुस महिनाको अन्तिम दिनदेखि नै थारू बस्तीमा माघको रौनक छाउँ छ। पश्चिमको कैलाली, कञ्चनपुरलगायत थारू बस्तीमा माघको रौनक छाएको हो। पुस महिनाको अन्तिम दिनको बिधाइ गर्दै माघ १ गते नयाँ वर्षको सुरुवात गरिने पर्वलाई थारू समुदायका लागि सबैभन्दा ठूलो चाड हो। सोमबार बिहानैदेखि थारू समुदायमा बंगुरको मासुका परिकार बनाइन्छ। आजको राति थारू जातिको संस्कृतिअनुसार नाचगान गरी रातभर जाग्राम बस्ने, ध्वनि जगाएर (धमार) भजनकीर्तन गर्ने, आगो ताप्ने, तरुल, सकरखण्ड जस्ता परिकार बनाएर खाने चलन छ।
माघ लहैली सुरिक सिकार खैली रे हाँ,
जस्ता गीतमा थारू समुदायमा मघौटा नाच देखाइन्छ। थारू गाउँबस्ती यतिबेला यस्तै गीतले गुञ्जायमान बनेको छन्। थारू समुदायका बालबालिकादेखि वृद्धवृद्धासम्म यो चाडमा उत्तिकै रमाउँछन्। यो पर्वको विशेष रौनक नै मघौटा नाच भएको थारू अगुवाहरू बताउँछन्।
जिल्लाका थारू समुदायका मानिसले हर्षोल्लासपूर्वक माघ पर्व मनाइरहेका छन्। मघौटा नाच, ढमार, ढुमरु गीतमा रमाउँदै आफ्नो सबैभन्दा ठूलो माघ पर्व मनाइरहेका छन्। गाउँघरमा माघीको हर्षोल्लास छाएको टीकापुर नगरपालिका १ का वनगाउँका स्थानीय हिरालाल चौधरीले बताए।
थारू समुदायका व्यक्तिहरूका अनुसार पुस अन्तिम दिनदेखि माघ २ गतेसम्म माघ पर्व धुमधामपूर्वक मनाउने चलन रहेको छ। माघको पहिलो दिन बिहानै जिता (बंगुर) मार्ने गरिन्छ। हरेकको घरमा बंगुरको मासुसहित मीठामीठा परिकार पाक्ने गर्छ। पुस महिनाको अन्तिम दिन ढमार, ढुमरु गीत र मघौटा नाचमा रमाउँदै मीठामीठा परिकार खाने चलन रहेको लम्कीचुहा नगरपाकिला –६ थारू अगुवा रामकुमार चौधरीले बताए।
‘थारू समुदायले माघलाई तीन दिनसम्म मनाउने चलन छ, पुस महिनाको अन्तिम दिन जिता काटेर मीठामीठा परिकार खाइन्छ, दोस्रो दिन अर्थात् माघ १ गते बिहानै नदी, तलाउ, खोलामा नुहाएर आफूभन्दा ठूलालाई आशीर्वाद लिने र सानालाई आशीर्वाद दिने गरिन्छ’ चौधरीले भने, ‘तेस्रो दिनमा अर्थात् माघ २ गते खोज्नीबोज्नीका रूपमा मनाउने चलन छ।’
उनका अनुसार माघ पर्वको पहिलो दिन थारू सम्वतको अन्तिम दिन हुने गरेकाले यस दिन वर्षभरीको दुःखपीडा बिर्सेर रमाउने गरिन्छ। थारू बस्तीमा जिता मारेर घर परिवार, इष्टमित्रबीच खुसियाली साटासाट गर्दै माघ पर्वको रमाइलो गरिन्छ।
माघ २ गते अर्थात् माघ पर्वको अन्तिम दिन खोज्नीबोज्नी हो। यस दिन अघिल्लो आर्थिक वर्षको समीक्षा गर्दै नयाँ वर्षका लागि योजना बनाउने प्रचलन थारू समुदायमा छ। माघ २ गते नै थारू गाउँको नेतृत्व (बडघर, भलमन्सा) चयन गर्ने चलन पनि छ। एक वर्षका लागि गाउँको नेतृत्व कसले गर्ने थारू समुदायको सामूहिक भेलाबाट निर्णय गरिन्छ। माघ पर्वको अन्तिम दिन नै आफ्ना विवाहित छोरी चेलीलाई उपहारका रूपमा चामल दिने गरिन्छ, जसलाई निसराउ भनिन्छ।
माघ धार्मिक, सांस्कृतिक, सामाजिक र आर्थिक महत्व बोकेको पर्व रहेको टीकापुर बहुमुखी क्याम्पसका उपप्राध्यापक नाथुराम चौधरी बताउँछन्। उनी भन्छन्, ‘माघ नयाँ वर्ष पनि हो, आर्थिक वर्षको पनि हो, शान्तिको महशुस अथवा मुक्ति पाएको पर्वका रूपमा समेत थारू समुदायमा लिइन्छ’ चौधरीले भने, ‘जसरी हामी असारमा आर्थिक वर्ष सुरु गरेजस्तै थारू समुदायमा माघबाटै गरिन्छ, घरको अंशवण्डा गर्दा समेत माघी मै गरिन्छ।’