आन्तरिक उत्पादन अधिक भए पनि रोकिएन तरुल आयात

आन्तरिक उत्पादन अधिक भए पनि रोकिएन तरुल आयात

काठमाडौं : नेपाली समुदायमा पुसमा पकाएर माघमा खाने तरकारी हुन् तरुल, सखरखण्ड र पिँडालु। यस्ता कन्दमूलजन्य उत्पादनलाई सांस्कृतिक पर्व माघे संक्रान्ति मनाउन पुस मसान्तमा उसिनेर माघ १ गते पारिवारिक जमघटसहित खाने प्रचलन छ। यससँगै घिउचाकु, तिलको लड्डु र सेलरोटी खानु माघे संक्रान्तिको विशेषता हो। यो पर्वलाई मगर र थारु सम्प्रदायले विशेष उत्सवका रूपमा मनाउने गरेका छन्। 

सांस्कृतिक पर्व माघे संक्रान्तिमा मात्रै खपत बढी हुने भएकाले तरुल, सखरखण्डको माग र आपूर्तिको ७५ प्रतिशत थेग्ने गर्छ। तरुल बाह्रै महिना खान सकिने पोषिलो कन्दमूल हो। तर, बजारमा पनि संक्रान्तिलाई लक्षित गरी दैनिक हजारौं क्विन्टल तरुल र सखरखण्ड भित्रिएका छन्। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकअनुसार पुसको तेस्रो सातादेखि धमाधम तरुल, सखरखण्ड र पिँडालु आउने परिमाणमा हात्तै बढेको छ। पछिल्लो सात दिनमा कालीमाटी तरकारी बजारमा मात्रै ६ लाख २३ हजार ७०६ किलोग्राम बराबरको तरुल, १ लाख ९९ हजार ६५० किलोग्राम सखरखण्ड र ६१ हजार ४१५ किलोग्राम पिँडालु भित्रिएको छ। 

null

पुसको तेस्रो सातादेखि क्रमशः यस्ता तरकारी आउने क्रम बढ्दा दिनमै अधिकतम १ लाख ५९ हजार ९२५ किलोग्राम तरुल भित्रियो। यो पुस २७ गतेको तथ्यांक हो। उक्त दिन ४८ हजार किलोे सखरखण्ड र १६ हजार १५० किलो पिँडालु भित्रियो। जबकी यसअघि पुस २२ गते ४९ हजार ५२५ किलो तरुल, ३ हजार ५० किलो सखरखण्ड र २ हजार १ सय किलो पिँडालु कालीमाटी बजार भित्रिएको थियो। यसपछिका दिनमा क्रमशः बढ्दै गएर २५ गतेदेखिका ४–५ दिन दैनिक लाख किलोभन्दा माथि तरुल भित्रियो। यस्तै, तरुलको परिमाणको तुलनामा सखरखण्ड र पिँडालु भने कम भित्रियो। 

विशेष गरेर माघे संक्रान्तिमा तरुललाई बढी महत्व दिइने भएकाले पनि यसको माग अधिक हुँदा बजारमा आपूर्ति बढी भएको हो। यसैक्रममा कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका सूचना अधिकारी विनय श्रेष्ठ तरुल उत्पादन सिजनमा भन्दा पनि माघे संक्रान्तिमा बढी माग हुने भएकाले सोहीबमोजिम किसानले लगाउने गरेको बताउँछन्। उनका अनुसार सबैभन्दा बढी सर्लाहीबाट उत्पादित तरुल भित्रिएको छ। सूचना अधिकारी श्रेष्ठ भन्छन्, ‘कालीमाटी बजारमा पुस महिनाको २८ गतेका दिन कुल १२ सय टन हाराहारीमा तरुल भित्रिएको छ। यसमध्ये ५० प्रतिशत सर्लाहीबाट छ। यसपछि सुनसरी, मोरङ, झापा, पश्चिम नवलपरासी, पाल्पा र उपत्यकाका छिमेकी जिल्लाहरू धादिङ, काभ्रे, मकवानपुर, चितवनबाट तरुल भित्रिएको छ।’ अधिकांश तरुल आन्तरिक उत्पादन भएको तर भारत तथा चीनबाट आयातित तरुल कालीमाटी बजारमा नभित्रेको उनको दाबी छ। तर, सखरखण्ड भने भारतको पनि भित्रिएको उनले जनाए। तरुलको सवालमा भने नेपालकै उत्पादनले पर्याप्त हुने भएकाले अन्य मुलुकबाट आयात गर्नुपर्ने बाध्यता नभएको उनको भनाइ छ। यससँगै पिँडालु पनि आन्तरिक उत्पादनबाटै पर्याप्त भएको उनले जानकारी दिए। 

चाडबाडका लागि लक्षित भएकाले यकिन खपतको अनुमान गर्न नसकेको उनले बताए। समग्रमा वार्षिक रूपमा उत्पादन भएको तरुलको ७५ प्रतिशत खपत पुस महिनामै हुने गरेको देखिन्छ। पहिला किसानले माघे संक्रान्ति लक्षित गरेर तरुल लगाउँने गरेकाले सोहीअनुसार बजारमा आउने गरेको र अरू महिना रित्तो जस्तो हुन्थ्यो। तर, अहिले उपभोग प्रवृत्तिमा परिवर्तन भएको छ। तरुल जस्ता कन्दमूलजन्य उत्पादन पोषणयुक्त खाना भनेर उपभोक्ताहरू सचेत भएकाले अरू महिनामा पनि माग गर्ने भएकाले सोहीअनुसार बजारमा यस्ता उत्पादन बाह्रै महिना आउने गरेको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए। 

बजारमा कस्ता तरुल छन् ? 

स्वदेशमै तरुल, सखरखण्ड जस्ता कन्दमूलजन्य उत्पादनको सम्भावना भए पनि केन्द्रीय तहबाट आत्मनिर्भर बनाउनै भनेर प्रवर्द्धनतर्फ मात्रै जोड दिएको छैन। यद्यपि राष्ट्रिय आलुबाली कार्यक्रमले कन्दमूललाई प्रवर्द्धन सुरु गर्न खोजेको छ।  विकास खरेल, बागवानी विकास अधिकृत, राष्ट्रिय आलु, तरकारी तथा मसलाबाली विकास केन्द्र 

अहिले बजारमा तरुलका प्रकारमा आकाशे, पाताले, रातो तरुल, सेतो तरुल, वन तरुल, घर तरुल, हात्तीपाइले तरुल, सिमल तरुल लगायतका तरुल बिक्री भैरहेका छन्। तरुल कन्दमूल, गिठ्ठा, भ्याकुर समूहको खाने तरकारीको रूपमा लिइन्छ। यसको वैज्ञानिक नाम डाएस्कोरी हो। जानकारहरूका अनुसार विश्वमा करिब ६ सय प्रजातिका तरुल फलेको देखिन्छ तर नेपालमा भने करिब १२–१३ प्रजातिको उत्पादन हुने गर्छ। अझ कतिपय वन तरुलहरू विषाक्त हुने भएकाले चिनेर मात्रै उपभोग गर्नुपर्नेबारे पुर्खाहरूले बताउँदै आएका छन्। 

थोकमा प्रतिकिलो औसत सय रुपैयाँ

गत वर्षको तुलनामा यसवर्ष तरुलको मूल्य महँगो भएको छ। गत वर्ष पुस महिनाभर होलसेल मूल्यमा तरुल प्रतिकिलो औसत ७०–८० रुपैयाँमा बिक्री भएको थियो। तर, यस वर्ष होलसेलमै पुस महिनाभरि तरुल प्रतिकिलो औसत ८० रुपैयाँदेखि १०० रुपैयाँसम्म छ। पुस मसान्त अर्थात् पुस २९ गते नै प्रतिकिलो नयूनतम १ सयदेखि अधिकतम १ सय २० रुपैयाँसम्म बिक्री भएको छ। अझ खुद्रा पसलमा योभन्दा महँगोसमेत पर्न सक्छ। 

बर्सेनि करोडौंको सखरखण्ड र लाखौंको तरुल आयात

मुलुकभित्र प्रसस्तै उत्पादन क्षमता भएको तरुल र सखरखण्डको आयात बर्सेनि करोडौंमा हुने गरेको छ। अझै यसको निर्यात भने भएको छैन। भन्सार विभागको तथ्यांकअनुसार विगत ५ आर्थिक वर्षमा सबैभन्दा बढी आर्थिक वर्ष २०७७/७८ मा नेपालमा ११ लाख ५९ हजार रुपैयाँ बराबरको तरुल आयात भएको छ। यसपछि आव २०७८/७९ मा ४४ हजारको तरुल आयात भयो भने यसपछिको आव २०७९/८० मा भने शून्य भएको देखिन्छ। तर, आव २०८०/८१ मा भने ६ लाख ३९ हजार रुपैयाँ बराबरको तरुल आयात भएको थियो। यससँगै चालु आवकोे ५ महिना अर्थात् मंसिरसम्ममा १ लाख रुपैयाँ बराबर मात्रै आयात भएको भन्सार विभागको तथ्यांकमा उल्लेख छ। तर, यो चाडपर्वभन्दा १ महिनाअघि भएकाले कम आयात भएको देखिएको हुनसक्ने विभागले जनाएको छ। पुस महिना माघे संक्रान्ति लक्षित भएकाले आयात बढ्न सक्ने अनुमान विभागको थियो। तरुल नेपालमा उत्पादन अधिक हुुने भएकाले आन्तरिक बजारमा स्वदेशी तरुल देखिएका पनि छन्। तर, नेपालको भूबनोट र उत्पादन क्षमता तरुलका लागि उपयुक्त भएकाले यसलाई व्यवसायीकरण गरेर आत्मनिर्भर गर्न सम्भव हुने कृषि विज्ञहरू औंल्याउँछन्। 

समग्रमा पहिलेदेखि तरुल जस्ता कन्दमूल हेलामा परेको बाली भएकाले खासै व्यावसायिक खेती गरिँदैन थियो। तर, आजकल केहीले यसको महत्व बुझेर न्यून रूपमा व्यावसायिक खेती गर्न खोजेका छन्।   डा.रामकृष्ण श्रेष्ठ, सहसचिव, कृषि तथा पशुपन्छी विकास मन्त्रालय

नेपालमा आयात हुने तरुलभन्दा सखरखण्ड अधिक छ। किनभने यसको आन्तरिक उत्पादन कम हुँदा भारत र चीनबाट आयात भएको भन्सार विभागको तथ्यांकमा देखिन्छ। विगत ५ आवको आयात प्रवृत्ति हेर्दा प्रत्येक आर्थिक वर्षमा सखरखण्ड मात्रै न्यूनतम ६७ लाख रुपैयाँदेखि अधिकतम २ करोड ९३ लाख ७९ हजार रुपैयाँ बराबरको आयात हुने गरेको छ। भन्सार विभागको तथ्यांकअनुसार आर्थिक वर्ष २०७६/७७ मा नेपालमा १ करोड ५८ लाख ५५ हजार रुपैयाँबराबरको सखरखण्ड आयात भएको थियो। यसैगरी आव २०७७/७८ मा १ करोड ९९ लाख २६ हजार रुपैयाँ बराबरको तरुल आयात भयो। 

यसपछि आव २०७८/७९ मा २ करोड ५८ लाख ४२ हजारको सखरखण्ड आयात भयो भने आव २०७९/८० मा सबैभन्दा बढी २ करोड ९३ लाख ७९ हजार रुपैयाँ बराबरको आयात भएको देखिन्छ। तर, आव २०८०/८१ मा घटेर ६७ लाख २१ हजार रुपैयाँ बराबरको सखरखण्ड आयात भएको थियो। 

यससँगै चालु आवकोे ५ महिना अर्थात् मंसिरसम्ममा ९१ लाख २६ हजार रुपैयाँ बराबरको आयात भएको भन्सार विभागको तथ्यांकमा उल्लेख छ। जसमा भारतबाट २ लाख २० हजार ९६० किलोग्राम र चीनबाट ३ सय ४६ किलोग्राम सखरखण्ड आयात भएका छन्। 

प्रवर्द्धनमा सरकारी पहल सुस्त गतिमा

परम्पराको हिसावले माघे संक्रान्तिमा माग अधिक हुने बताउँदै कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिव डा.रामकृष्ण श्रेष्ठ समग्रमा पहिलेदेखि तरुल जस्ता कन्दमुल हेलामा परेको बाली भएको बताउँछन्। उनका अनुसार खासै व्यावसायिक खेती गरिँदैन थियो। 

यस्ता खाले रैथाने, जरे बाली घरायसी प्रयोजनबाहेक खेती गर्ने प्रवृत्ति घट्दै गएको छ। यद्यपि धेरैजसोले खेती गर्न छोडेका छन्। तर, आजकल केहिले यसको महत्व बुझेर न्यून रूपमा व्यावसायिक खेती गर्न खोजेका छन्। समग्र मुलुकमा कन्दमूल जन्य बाली कति उत्पादन हुन्छ भनेर मन्त्रालयसँग तथ्यांक नै छैन। मुलुक संघीयतामा गएपछि तीन तहको सरकारले गर्दा एकीकृत तथ्यांक निकाल्न गाह्रो भएको सहसचिव डा. श्रेष्ठ बताउँछन्। 

यस्ता बाली हराउँदै गएकाले आगामी दिनमा खाद्य सुरक्षा र पोषणको हिसावले जगेर्ना गर्न आवश्यक भएको उनले बताए। उनी भन्छन्, ‘धान, गहुँ, मकै जस्ता बालीको उत्पादन घट्ने प्रक्षेपण हुँदै गर्दा तरुल, सखरखण्ड जस्ता बालीको प्रचारप्रसार गर्नु आवश्यक देखिन्छ। यद्यपि यसलाई प्रवर्द्धन गर्न सरकारले रैथानेबाली प्रवर्द्धन भनेर सञ्चालन गरेको छ। सुरुमा करिब ३ सय ४५ वटा गाउँपालिकाहरूमा यस्तो कार्यक्रम लागू भएको थियो। पछि नदोहोरिने गरी साढे २ सय पालिकामा कार्यक्रम भएको छ।’ उनका अनुसार स्थानीय बाली प्रवर्द्धन कार्यक्रममा तरुल, पिँडालु, जंगली गिठ्ठा, भ्याकुरलाई व्यावसायिक खेती गर्न सक्ने व्यवस्था गरेको छ। 

‘तरुल लगायतका जरे, गाँडेबालीलाई रैथाने बाली मानेर त्यसको प्रवर्द्धन र क्षेत्र विस्तार गर्न कार्यविधि बनाएर कार्यान्वयन गर्न पठाएको छ। तर, यसको प्रभावकारिताको भने खासै रेकर्ड नै छैन। ‘यस्ता तथ्यांक पालिकाबाट लिनुपर्ने हुन्छ। तर, यस्ता विषयले महत्व नपाउँदा तथ्यांक छैन,’ डा. श्रेष्ठले भने। कन्दमूल खालका बाली खाद्य सुरक्षाका हिसावले प्राथमिकतामा राखिएको थियो तर पछि यो घट्दै गएको उनले बताए। यद्यपि अहिले कन्दमूल बाली विकास तथा प्रवर्द्धन केन्द्र भनेर बागमती प्रदेशअन्तर्गतको कार्यालय सिन्धुलीमा छ। यो बागमती प्रदेशको फार्म हो। 

यसले कन्दमूल बाली कस्तो उत्पादन हुन्छ हेर्ने, संकलन गर्ने, यसको खेतीपाती प्रवर्द्धनमा काम गर्ने, बेर्ना उपलब्ध गर्ने काम गर्छ। यसलाई मन्त्रालयले संघमा राख्न खोजेको थियो तर यो अधिकार नपाउँदा देशभरि यसबारे प्रचार–प्रसारमा चुकेको डा. श्रेष्ठ बताउँछन्।  यता राष्ट्रिय आलु, तरकारी तथा मसलाबाली विकास केन्द्रका बागवानी विकास अधिकृत विकास खरेल स्वदेशमै तरुल, सखरखण्ड जस्ता कन्दमूलजन्य उत्पादनको सम्भावना भए पनि केन्द्रीय तहबाट आत्मनिर्भर बनाउन भनेर प्रवर्द्धनतर्फ मात्रै जोड नदिएको बताउँछन्। समग्रमा वार्षिक रूपमा उत्पादन भएको तरुलको ७५ प्रतिशत खपत पुस महिनामै हुने गरेको देखिन्छ। यो माघे संक्रान्ति लक्षित देखिन्छ। कालीमाटीमा सबैभन्दा बढी सर्लाहीबाट उत्पादित भएको तरुल भित्रिएको छ। तरुलको सवालमा भने नेपालकै उत्पादनले पर्याप्त हुने भएकाले अन्य मुलुकबाट आयात गर्नुपर्ने बाध्यता देखिँदैन। विनय श्रेष्ठ, सूचना अधिकारी, कालीमाटी फलफूल तथा तरकारी बजार विकास समिति 

यद्यपि राष्ट्रिय आलुबाली कार्यक्रमले कन्दमूललाई प्रवर्द्धन सुुरु गर्न खोजेको उनले जनाए। उनी भन्छन्, ‘अहिले सखरखण्डको अध्ययन गरेर २ जातको उत्पादनका लागि व्यावसायिक कारोबार गर्न स्वीकृत गरिएको छ। यसलाई राजपत्रमै अंकित गरिसकेको छ। 

कानुनी रूपमा स्वीकृत नभएका बालीको व्यावसायिक कारोबार गर्न नपाइने उल्लेख गरेको छ। तर, यसबाहेकको भने अध्ययन नै भएका छैनन्।’ कन्दमूलजन्य उत्पादनको माघे संक्रान्तिका लागि मात्रै नभई खाद्य पोषणको हिसावले पनि प्रवर्द्धन जरुरी भएको उनी स्विकार छन्। यसकारण सरकारले यसलाई जोड दिनु जरुरी भएको उनको ठहर छ। 

उनका अनुसार रिसर्चले पनि यस्ता खाले उत्पादनलाई खासै अपनत्व लिएको देखिँदैन। ‘सरकारी प्रणालीमा पनि यस्ताबालीमा काम र कार्यक्रम भएको छैन। जबकी यस्ता उत्पादन बर्सेनि आयात भएको तथ्यांक छ। अझ कालीमाटी बजारमा यसको माग राम्रै भएको देखिन्छ। यसकारण सरकारले अब तरुलजस्ता उत्पादनलाई प्राथमिकता दिनुपर्छ भन्ने हाम्रो धारणा छ’, उनले अन्नपूर्णसँग भने। 

पोषणयुक्त कन्दमुलजन्य तरुल र सखरखण्ड

​​​​​​​तरुललाई बाह्रै महिना खान सकिने पोषिलो तरकारीको रूपमा लिइन्छ। यो औषधिजन्य जडीबुटी हो। यसको उत्पादनदेखि उपभोगसम्म आइपुग्दा विषादी प्रयोग गरिँदैन। यसैले तरुललाई विषादी नमिसाइएको पोषिलो र सस्तो तरकारीको रूपमा पनि चिनिन्छ। 

विशेष गरेर तरुलमा प्रशस्त कार्बोहाइड्रेट, खनिज, प्रोटिन भिटामिन पाइन्छ। सय ग्राम तरुलमा २७ ग्राम कार्बोहाइड्रेट, २ ग्राम प्रोटिन, ३.३ ग्राम फाइबर, २४ मिलिग्रामसम्म फलाम पाइन्छ। तरुलका थुप्रै स्वास्थ्य लाभहरू छन् तर धेरै खाँदा पेट दुख्ने हुन् सक्छ। मिर्गौलाका बिरामीले डाक्टरको परामर्श लिएर मात्र खाने गर्नुपर्छ। कतिपय प्रजातिका तरुलले मिर्गौलालाई खराब असर गर्ने पनि हुन्छन्। मिर्गौलाका बिरामीले पोटासियमको मात्रा नियन्त्रित गर्न विशेष ख्याल राख्न जरुरी हुन्छ। तरुलका विभिन्न प्रकारमध्ये पहेंलो रंगको भ्याकुरलाई कुकुर तरुल भन्ने गरिन्छ। जसलाई हर्मोन गडबडीसम्बन्धी औषधि बनाउन प्रयोग हुन्छ। 

 विशेष गरेर तरुल र खरखण्डमा भिटामीन ए प्रशस्त मात्रमा पाइने हुँदा यसले अन्धो हुनबाट बचाउने स्वास्थ्यकर्मीहरू बताउँछन्। यसले तौल घटाउने, छाला चम्किलो बनाउने, आँखा तेजिलो, हड्डीलाई बलियो बनाउने र पाचन प्रक्रियालाई बलियो बनाउन मदत गर्छ। विशेष गरेर पोलेको भन्दा उसिनेको सखरखण्ड–तरुलमा पोषण तथा भिटामिन पाइने भएकाले यो अन्य फलफूल तथा हरियो सागसब्जी जत्तिकै फाइदाजनक छ। अझ एउटा सखरखण्ड–तरुलमा करिब ४ ग्राम फाइबर उपलब्ध हुन्छ। जसका कारण लामो समयसम्म भोक मेटाउने काम गर्छ।  यससँगै यसमा चिनीको मात्रा नहुने भएकाले मधुमेह रोगलाई नियन्त्रनमा राख्ने पनि बताइन्छ। यस्तै, यो बेटाक्यारोटिन तथा अन्य स्वस्थकर पोषणले भरपुर हुन्छ। अझ काँचो सखरखण्ड–तरुल र गाजरलाई पिसेर त्यसको सुप बिहानको खानाका रूपमा प्रयोग गर्दा शरीरलाई आराम हुने बताइएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.