रसुवाका ३६ प्रतिशत नागरिकमात्र बिमाको पहुँचमा
रसुवा : गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच र उपयोगमा सुधार ल्याई स्वास्थ्य बिमाको आधारमा सबैका लागि स्वास्थ्य सेवा सुनिश्चित गर्ने उद्देश्यले सरकारले ल्याएको सामाजिक सुरक्षाको महत्त्वपूर्ण कार्यक्रम स्वास्थ्य बिमा २०७२ देखि लागू भए पनि यस वर्ष ३६ प्रतिशत नागरिकले मात्र स्वास्थ्य बिमा सेवा लिएका छन्।
स्थानीय सरकारले स्वास्थ्य बिमाबारे सचेतनामूलक कार्यक्रम गर्न नसकेकोले बिमाप्रति नागरिक आकर्षण नभएको गुनासो छ।
स्वास्थ्य बिमा बोर्डले समस्त नेपाली नागरिकलाई सर्वसुलभ गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने र स्वास्थ्य सेवा उपभोगमा सुधार ल्याउनका लागि सामाजिक स्वास्थ्य बिमाको आधारमा सबैका लागि स्वास्थ्य सेवा सुनिश्चित गर्न कार्यक्रम सुरु भएको हो।
जिल्लाको कुल जनसंख्या ४६ हजार ६ सय ८९ रहेका छ। ११ हजार १ सय ४० घरपरिवार रहेको छ। यस वर्ष सबैभन्दा धेरै स्वास्थ्य बिमा कार्यक्रममा समेटिएको कालिका गाउँपालिका हो।
स्वास्थ्य बिमा बोर्ड रसुवा शाखाका संयोजक सृष्टि श्रेष्ठका अनुसार जिल्लाको उत्तरगयामा ९ सय ६६ घरमा २ हजार ९ सय ५८, कालिकामा ३ हजार २ सय ८६ घरका ११ हजार ४ सय ६६, नौकुण्डमा ५ सय ८ घरमा १ हजार १ सय १३, गोसाइँकुण्डमा ३ सय ४६ घरका ८ सय ७० र आमाछोदिङमो गाउँपालिकामा ३ सय ३० घरका ५ सय ८२ जना गरी जिल्लाभर कुल ५ हजार ४ सय ३६ घरपरिवारका १६ हजार ९ सय ८९ जनाले स्वास्थ्य बिमा गरेका छन्।