रिडीमा माघी मेला, गण्डकीमा स्नान गर्नेको घुइँचो

रिडीमा माघी मेला, गण्डकीमा स्नान गर्नेको घुइँचो
तस्बिर : अन्नपूर्ण

गुल्मी : गुल्मीको पवित्र धार्मिकस्थल रिडीमा आजदेखि माघी मेला सुरू भएको छ । उद्योग वाणिज्य संघ रिडी शाखा,रुरु फ्रेन्डस क्लब र फ्रेन्डस क्लबको संयुक्त आयोजनामा माघी मेला सुरू भएको हो । तीन जिल्लाको संगमस्थल रिडीस्थित कालीगण्डकी नदीमा बिहानैदेखि नुहाउने र पुजाआराधना गर्ने श्रद्धालुको घुइँचो लागेको रुरक्षेत्र गाउँपालिका–१ का वडाध्यक्ष नवराज विकले जानकारी दिए । 

पहिले जेठी,माइली र कान्छी सङ्क्रान्तिका नाममा विभाजन गरेर तीन दिनसम्म रिडीमा माघी मेला हुने गर्दथ्यो । तर,पछिल्लो समय श्रद्धालुको चाप र स्थानीयको मागका आधारमा बढाएर मेला छ दिन गराइएको छ । चार धाममध्येकै एक धाम रुरुक्षेत्र भएकाले पनि माघे सङ्क्रान्तीमा स्नान गर्न र पूजाआजाका लागि श्रद्धालुको घुइँचो लाग्ने गर्दछ ।

कालिगण्डकी नदी तीन जिल्लाको संगम स्थलमा पर्ने गर्दछ । गण्डकीमा स्नान र मेलाको अवलोकन गर्नका लागि गुल्मी,पाल्पा र स्याङ्जालगायत जिल्लाबाट श्रद्धालु आउने गरेको वडाध्यक्ष विकले बताए । चारधाममध्येको एक प्रमुख धाम मानिने रुरु क्षेत्रको कालीगण्डकीमा माघे सङ्क्रान्तिका दिन स्नान गरेर रुरु कन्याको दर्शन गरेमा मानिसले आफूले अन्जानमा गरेका सम्पूर्ण पापबाट मुक्त भई मोक्ष प्राप्त हुने किंबदन्ती छ ।

विशेषगरी माघे सङ्क्रान्तिका दिनमा कालीगण्डकीमा स्नान गर्नाले देव ऋण,पितृ ऋण तथा रिषि ऋणसमेत मुक्ति पाइने धार्मिक विश्वासका कारण हजारौं मानिस यस अवसरमा रिडि क्षेत्रधाममा आउने गर्छन् । यो मेलालाई यस क्षेत्रकै पर्वको रुपमा हेरिन्छ । प्रत्येक वर्ष लाग्ने यो मेला तीन जिल्लामा फरक फरक कार्यक्रमको आयोजना गर्ने गरिन्छ । पाल्पाजिल्ला तर्फ धार्मिक कार्यक्रम भजन कृतन ,पुजापाठ ,भण्डारा ,दान पुन्य जस्ता कार्यक्रम हुने गर्दछन् । यस्तै गुल्मीतर्फ स्थानीय संघसंस्थाको सहयोग बृहत् सांस्कृतिक कार्यक्रमको आयोजना हुने गर्दछ । छ दिनसम्म चल्ने मेलामा स्याङ्जा तर्फ ठूलो राशीमा खुल्ला भलिबल प्रतियोगिता र विभिन्न परिकारका होटल सञ्चालन हुने गर्दछन् । 

मेलामा पाल्पा,गुल्मी,स्याङ्जा,अर्घाखाँची,रुपन्देही,बाग्लुङ,पर्वत,रुकुम,काठमाडौंलगायतका स्थानबाट समेत भक्तजन भगवानको दर्शनको निम्ति आउने गरेको पाइन्छ । यहाँ रुकुमबाट भेडाका उनबाट बनेका चारपाटे काम्ला,लम्बरी काम्ला  जुम्लेली सुइटर,टोपि,उनका सुइटर,राडीपाखी,बिक्री गर्न व्यापारी आउने गर्दछन् । यस्तै मेलामा डाला, सुपा, नाम्ला, चाल्नाहरुको पनि व्यापार हुने गर्दछ । घरेलु उद्योग तथा स्थानीय परिकारबाट ब्यापारीहरुले लाखौको आम्दानी गर्ने गर्दछन् । 

पाहुरको रुपमा पठाइने गुल्मेली गुड,खुदो,कफि,टिमुर,सिन्की,सुन्तला,अचारलगायतका ग्रामीण भेगमा पाइने खानेकुराको विक्री वितरण हुने गर्दछ । गुल्मीतर्फ २ सय र पाल्पामा १ सय गरि मेलामा ३ सय स्टल राखिएको गुल्मी उद्योग वाणिज्य संघ रिडी शाखाका अध्यक्ष तथा मेला मुल आयोजक समिति संयोजक ताराप्रसाद सुवेदीले जानकारी दिए ।

मेलामा अवलोकन गर्न श्रद्धालुलाई प्रवेश निःशुल्क गरिएको छ । उनले स्थानीय कला संस्कृतिको जगेर्ना गर्दै धार्मिक क्षेत्रको थप प्रचारप्रसारका लागि प्रत्येक वर्ष मेलाको आयोजना गर्दै आएको मुल आयोजक समिति संयोजक सुवेदीले बताए । मेला माध्यमबाट यहाँका स्थानीय कला, संस्कृति,कृषि प्रदर्शनी,नेपाली मौलिकताका साथै धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रचारप्रसार गरेर पर्यटन प्रवर्द्धन  सहयोग मिल्ने सुवेदीले बताए ।  

६ दिनसम्म चल्ने मेलामा दैनिक राष्ट्रिय स्तरका कलाकारहरू प्रस्तुति रहने छ । मेलामा स्थानीय विभिन्न परम्परागत झाँकीहरू नाच,लाखे नाच,भजन,बाल उद्यान,कृषि तथा घरेलु उत्पादनको प्रर्दशनीलगायत हस्तकलाबाट निर्माण गरिएका वस्तुहरूको प्रर्दशनी गरिने आयोजकले जनाएको छ ।

साथै मेलामा गुल्मीको गुण खुदो,राडीपाखी,पाला सुपालगायतका कोदाको बिस्कुट,विभिन्न परिकारका खाना र  खुदोबाट निर्माण गरिएका विभिन्न परिकार मेलाका आर्कषण रहेको बताइएको छ । परापूर्व कालदेखि लाग्ने मेला भएकाले यहाँ पूर्वी रुकुमबाट उनीबाट निर्माण गरिएका कम्मल पनि ब्रिक्रीका लागी ल्याइने गर्दछ । मेलामा पुगेकाहरूलाई रमाइलो र धार्मिक क्षेत्रको प्रचारका लागि यसवर्ष पनि गण्डकीमा र्‍याफ्टिङ
सञ्चालन गरिएको आयोजकले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.