नुवाकोटमा ३० हल गोरु जुधाइयो
नुवाकोट : माघे संक्रान्तिका अवसरमा नुवाकोटको विभिन्न स्थानमा ३० हल गोरु जुधाइएको छ। माघे संक्रान्तिका अवसरमा नेपालको मुख्य स्थान तारुकाको चन्दनीमा यस पटक विशेष महोत्सवका रूपमा यस वर्षको गोरु जुधाई मेला गरिएको हो।
तारकेश्वर गाउँपालिका-३ चन्दनीमा यस वर्ष छनौट गरेर १४ हल गोरु जुधाइएको हो। गोरुपालक किसानहरूले मदनकुमार श्रेष्ठको अध्यक्षतामा तारुकामा गोरु जुधाई मेला व्यवस्थापन समिति गठन गरेर यस वर्ष गोरु जुधाई सम्पन्न गरेका हुन्।
तारुकाको चन्दनी पुगेर गोरु जुधाई महोत्सवको मंगलबार बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा तामाङले उद्घाटन गरे। यसपटक चन्दनीमा १४, बेत्रावतीमा १०, पञ्चकन्यामा ६ हलका साथै शेराबगर, तादी, थानसिङ लगायतका स्थानमा समेत गोरु जुधाइएको छ।
विजेतालाई ११ हजार र उपविजेता गोरु धनीलाई १० हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको छ। यसैगरी पञ्चकन्या गापा-३ पिपलडाँडामा समेत गोरु जुधाइएको छ। सो स्थानमा ६ हल गोरु जुधाइएको आयोजक समितिका अध्यक्ष शिवहरि विष्टले बताए। पञ्चकन्याका निखिल थापाको नाममा दर्ता भएको गोरु प्रथम भएको छ। थापाले नगद २० हजार रुपैयाँ पुरस्कार थापेका छन्।
जीवन थापाको गोरु दोस्रो भएर नगद १५ हजार, केशव थापाको गोरु तेस्रो भएर नगद १० हजार रुपैयाँ पुरस्कार थापेका छन्। सहभागी अन्य गोरुका धनीले सान्त्वना भएर नगद ३/३ हजार रुपैयाँ पुरस्कार थापेका छन्।
नुवाकोटको विदुर नगरपालिका-१० बेत्रावतीमा यस वर्ष १० हल गोरु जुधाइएको छ। विजेता तथा उपविजेता गोरु धनीलाई नगद पुरस्कार प्रदान गरिएको छ। क र ख वर्ग गरेर गरिएको जुधाइमा जित्ने गोरु धनी किसानलाई १५ हजार रुपैयाँ र दोस्रो भएको गोरुको धनी कृषकलाई १३ हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको छ।
माघे संक्रान्तिका दिन गोरु जुधाई हेर्नका लागि नुवाकोटको तारुका र बेत्रावतीसम्म पुग्नका लागि सहज सडकका कारण यातायात सजिलो भएपछि पनि दर्शकहरूको उपस्थिति बर्सेनि बढ्दै गइरहेको आयोजकहरूको भनाई रहेको छ। गोरु जुधाई हेर्न नुवाकोट, रसुवा, धादिङ, काठमाडौं, चितवन, मकवानपुर, गोरखाबाट समेत सर्वसाधारण आउने गरेका छन्।
तारुकाको चन्दनीमा गोरु जुधाएर मनोरञ्जन लिने परम्परा २०६० सालदेखि चन्दनीको बारीको ठूलो पाटोमा गोरु जुधाउन थालिएको हो। गत २०६२ सालदेखि भने समिति गठन गरेर व्यवस्थित रूपमा गोरु जुधाउन थालिएको हो।