मालिकामा चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
गुल्मी : गुल्मीको मालिका गाउँपालिकामा चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। बिहीबारदेखि देविस्थान माध्यमिक विद्यालय घमिरको खेल मैदानमा सुरु भएको प्रतियोगिताको उद्घाटन राष्ट्रिय सभा सदस्य विष्णुकुमारी सापकोटाले गरिन्।
राष्ट्रिय सभा सदस्य सापकोटाले विद्यार्थीलाई पठनपाठनसँगै खेलका माध्यमबाट उनीहरुको प्रतिभा प्रस्फुटनका निम्ति स्थानीयले आयोजना गर्ने यस्ता कार्यक्रमले सहयोग पुर्याउने बताइन्। उनले विद्यार्थीहरूको खेल प्रतिको रुचि र चाहनालाई पालिकाले प्रोत्साहन गरेकोमा धन्यवाद दिइन्। उनले पछिल्लो समय खेलकुद क्षेत्र र खेलाडीको विकास भएको बताउँदै उनले यसलाई प्राथमिक नियम कानुन निर्माणमा जोड दिने बताइन्।
गाउँपालिका अध्यक्ष देविराम अर्यालले दुर्गम स्थानमा भएपनि पालिकाले शैक्षिक गुणस्तरीय वृद्धि र खेलकुद प्रवर्द्धनका निम्ति निरन्तर लागि परेको बताए। उनले मालिकाको समृद्धिको विभिन्न आयाम मध्ये खेलकुद एक रहेको उल्लेख गर्दै विद्यालय विभिन्न क्लबका माध्यम बाट युवाहरूलाई खेलप्रति आकर्षित गर्ने कार्य गरेको बताए।
ग्रामीण क्षेत्रमा खेल सञ्चालन गर्दा स्थानीय स्तरमा नयाँ खेल प्रतिभा पहिचानका लागि रनिङ शिल्ड एक माध्यम बनेको गाउँपालिका उपाध्यक्ष उपेन्द्र अर्यालले बताए। उपाध्यक्ष अर्यालले विद्यार्थीलाई अनुशासित मर्यादित र मेहनतका साथ खेल प्रदर्शन गर्न आग्रह गरे।
मालिकामा समग्र खेल क्षेत्र र खेलाडीको विकासका लागि गाउँपालिकाले विभिन्न खेलकुद कार्यक्रमको आयोजना गर्दै आएको मालिका गाउँपालिका –७ का वडाध्यक्ष हिरा बहादुर कार्कीले बताए। उनले पछिल्लो समय ग्रामीण क्षेत्रका युवाको खेलमा रुची बढिरहेको समेत बताए। रनिङ शिल्ड लगायतका कार्यक्रमलाई वडादेखि पालिकाले निरन्तरता दिने वडाध्यक्ष कार्कीले उल्लेख गरे।
प्रतियोगितामा देबिस्थान माध्यमिक विद्यालयका प्रधानाध्यापक खिम बहादुर बुढाथोकीले मालिका गाउँपालिका भित्रका १४ विद्यालय सहभागी रहेको बताए। तीन दिनसम्म चल्ने चौथो रनिङ शिल्ड प्रतियोगितामा छात्र छात्रा बीचमा विभिन्न खेल हुने गर्दछन्। जसमा कबड्डी, भलिबल,कराँते,तेक्वान्दो,सर्ट,लङ, रिले दौड, हाईजम्प, लङजम्म र त्रिपल जम्म लगायतका खेल हुने प्रधानाध्यापक बुढाथोकीले जानकारी दिए।