पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका ३८ जना विद्यार्थी दीक्षित
पोखरा : पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोहमा पहिलो र दोस्रो ब्याचका ३८ जना विद्यार्थी दीक्षित भएका छन्। प्रधानमन्त्री तथा प्रतिष्ठानका कुलपति केपी शर्मा ओली, स्वास्थ्य मन्त्री प्रदीप पौडेल र स्विडेनको कोरोलिन्स्का इन्स्टिच्युटका प्राध्यापक माग्नुस वेस्टग्रेनले विद्यार्थीहरूलाई दीक्षित गरे।
मेडिकल विज्ञान संकाय पोस्टग्राजुएटका प्रथम र दोस्रो ब्याचका ३८ जना विद्यार्थी दीक्षित भएका हुन्। प्रधानमन्त्री ओलीले उत्कृष्ट विद्यार्थीहरू आरविनदकुमार शाह अर्थोपेडिक्स र आशिष सापकोटा जनरल सर्जरीलाई उपकुलपति पदक वितरण गरे। प्रधानमन्त्री ओलीले प्रतिष्ठानको आकस्मिक तथा प्राज्ञिक भवनको उद्घाटन पनि गरेका छन्।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान २०१२ सालमा सोल्जर्स बोर्ड अस्पतालको नाममा सञ्चालन भएर विभिन्न कालखण्डमा जिल्ला अस्पताल, गण्डकी अञ्चल अस्पताल, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल हुँदै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका रूपमा सेवा दिँदै आएको छ।
२०६९ सालमा ५ सय शय्या क्षमता विस्तार भएर सञ्चालित पश्चिमाञ्चल क्षेत्रीय अस्पताल २०७२ सालमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्थापना भए सँगै प्रतिष्ठानको शिक्षण अस्पतालको रुपमा स्वास्थ्य सेवा प्रवाह गर्दै आएको छ। प्रतिष्ठानमा एम डि/एम एस, एमबिबिएस तथा नर्सिङ तर्फ बिएनएस र बिएस्सी नर्सिङ कार्यक्रममा अध्ययन अध्यापन भइरहेको छ।
प्रतिष्ठानको स्नातकोत्तर तर्फ विभिन्न १० वटा विभागमा कुल ९१ जना विद्यार्थीहरू अध्ययनरत छन्। स्नातक तर्फ कुल १७१ जना विद्यार्थीहरू अध्ययनरत छन्। बिहीबार ४३ जना विद्यार्थीहरू स्नातकोत्तर तह उत्तीर्ण गरी दीक्षित भएका छन्। नेपाल सरकारले हरेक प्रदेशमा सरकारी स्तरमा एमबिबिएस कार्यक्रम सञ्चालन गर्ने नीति अनुसार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि यसै वर्षदेखि ५० सिट प्राप्त गरि २०८१ पुस २५ गतेदेखि नियमित कक्षा सञ्चालन भइरहेको छ।