संवैधानिक जग नभएको सरकारलाई देश जिम्मा लगाएर विदेश भाग्दिनँ : अध्यक्ष ओली
काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संवैधानिक जग नभएको सरकारलाई देश जिम्मा लगाएर विदेश भाग्ने कल्पना बाहिरको कुरा भएको बताएका छन्। एमाले सम्पर्क समन्वय कमिटीको भेटघाट तथा चियापान कार्यक्रमलाई शनिबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
यस्तै अध्यक्ष ओलीले आफू नेपालको जुनसुकै स्थानमा जाने भन्दै रोकेर देखाउन चुनौती पनि दिए।
अध्यक्ष ओलीले राजनीतिक दलसँग संवाद नगरी निर्वाचनको वातावरण बन्न नसक्ने बताए। उनले प्रहरीका एक हजार २०० हतियार र एक लाखभन्दा बढी गोली लुटिएर बाहिर रहेको तथा साढे पाँच हजार कैदी फरार रहेका अवस्थामा निर्वाचनमा जान कठिन हुने बताए।
उनले भने,ʻजेनजी भाइबहिनीले भ्रष्टाचारको अन्त्य र सुशासनका लागि राखेका माग जायज छन्। तर त्यसका नाममा हिंसा मच्चाउने तत्त्वले गरेका अराजक क्रियाकलापको हामी समर्थन गर्न सक्दैनौँ। समाजमा त्रासको वातावरण राखेर सरकार चलाउन वा निर्वाचन गराउनुहुँदैन। हामी लोकतान्त्रिक प्रणालीमा छौँ। हाम्रो सुरक्षा र स्वतन्त्रताको रक्षा राज्यले गर्नुपर्छ। नागरिकले आफ्नो सुरक्षा आफैँ गर्नुपर्ने अवस्था आउनुहुँदैन। हामी कुनै हतियार र कमजोर शक्ति होइनौँ। लोकतन्त्रका लागि लडेर आएका दल हौँ। लोकतन्त्र र शान्ति सुव्यवस्थाको पुनर्स्थापना गर्न लाग्नेछौँ। त्यसका लागि एमाले सक्रिय रहनेछ।ʼ
अध्यक्ष ओलीले विघटित प्रतिनिधिसभाको पुनर्स्थापना आफ्नो पार्टीको अडान भएको भन्दै पार्टीको नीतिमा स्पष्ट र ढुक्क भएर अघि बढ्न कार्यकर्तालाई आग्रह गरे।
गत भदौ २३ र २४ गतेको प्रदर्शनपछि अध्यक्ष ओली पहिलो पटक पार्टी केन्द्रीय कार्यालयमा पुगेका हुन्। आन्दोलनका क्रममा कार्यालय ध्वस्त भएको छ।
प्रतिक्रिया दिनुहोस !