एनएलआईसीको एफपीओ विवाद चर्कियो

एनएलआईसीको एफपीओ विवाद चर्कियो

काठमाडौं: धितोपत्र बोर्डले नेपाल लाइफ इन्सुरेन्स कम्पनीले प्रस्ताव गरेको एफपीओ मूल्यको सूचना चुहावट गर्नुको कारण माग्दै स्टक एक्सचेन्जसँग सोमबार स्पष्टीकरण सोधेको छ। बजार मूल्यसँग अतिसंवेदनशील सूचना के कति कारणले सार्वजनिक गरिएको हो, त्यसको जवाफ तुरुन्त दिन बोर्डले नेप्सेलाई पत्रमार्फत निर्देशन दिएको हो। 

गत बिहीबार नेपाल लाइफ इन्सुरेन्स कम्पनी (एनएलआईसी) ले प्रस्ताव गरेको एफपीओ (फर्दर पब्लिक अफर) मूल्यसम्बन्धी सूचना नेप्सेले तुरुन्तै वेबसाइटमार्फत सार्वजनिक गरेको थियो। जबकी, धितोपत्र निष्कासन निर्देशिका २०६५ मा एफपीओ मूल्य धितोपत्र बोर्डले अनुमोदन गरेपछि मात्र कार्यान्वयनमा आउने स्पष्ट उल्लेख छ।
 
एनएलआईसीले बोर्डमा प्रस्ताव गरेको एफपीओ भाउका बारेमा नेप्सेलाई जानकारी गराए पनि नेप्सेले बोर्डले भाउ अनुमोदन नगरेसम्म सार्वजनिक गर्न नमिल्ने नियामकको भनाई छ। धितोपत्र बोर्ड स्रोतका अनुसार एफपीओ निष्कासनमा अनुमति लिनुपर्ने स्पष्ट कानुनी प्रावधान हुँदाहुँदै नेप्सेले वेबसाइटमार्फत सूचना सार्वजनिक गरेपछि लिखित स्पष्टीकरण सोधेको हो।
 
प्राप्त सूचनालाई वेबसाइटमा प्रविष्टि गरिएको नेप्सेको भनाई छ। नेप्सेले मूल्य संवेदनशील सूचना तत्काल उपलब्ध गराउनुपर्ने भएकाले सार्वजनिक गरिएको बताएको छ। तर धितोपत्र बोर्डले भने एफपीओ निष्कासन प्रक्रिया बोर्डबाट अनुमोदन हुनुपर्ने भएकाले कुनै पनि हालतमा अनुमोदनबिना सार्वजनिक गर्न नमिल्ने भनेको छ।
 
केही साता अघिमात्रै नेप्सेले सूचीकृत कम्पनीहरूले गरेका निर्णय तत्काल सार्वजनिक गर्ने सफ्टवेयर लन्च गरेको थियो। सोही माध्यमबाट सूचना सार्वजनिक गरिएको हो। धितोपत्र बोर्डले नेप्सेलाई सोधेको स्पष्टीकरणमा अटोमेटेड सिस्टमको अपरेसन विधि के हो ? अनि यसले कसरी काम गर्छ ? त्यसको बारेमा समेत लिखित जानकारी गराउन पत्रमार्फत निर्देशन दिएको छ।
 
धितोपत्र बोर्डका प्रवक्ता निरज गिरीले एनएलआइसीको एफपीओ भाउबारे के कति कारणले सूचना सार्वजनिक गरिएको हो त्यसको जानकारी माग्न नेप्सेलाई स्पष्टीकरण सोधिएको बताए। 'बोर्डबाट अनुमोदन नभएको एफपीओ भाउ र अटोमेटेड सिस्टमले कसरी काम गर्छ त्यसको जानकारी मागेका छौं', उनले भने।
 
एनएलआईसीले एकाएक चर्को मूल्यमा एफपीओ जारी गरेपछि पुँजी बाजारमा यससम्बन्धी चर्को बहससमेत सुरू भइसकेको छ। एफपीओ जारी गर्न बजार भाउ माथि गएका बेला कम्पनीले त्यसैलाई आधार मान्ने गरेका छन्। धितोपत्र निष्कासन निर्देशिकामा पनि नेटवर्थको कति गुणासम्म मूल्य राखेर एफपीओ जारी गर्न पाउने भन्ने स्पष्ट व्यवस्था छैन।
 
धितोपत्र बोर्डले कम्पनीको नेटवर्थको तीनदेखि पाँच गुणाभित्र कायम हुने गरी एफपीओ भाउ तोक्ने गरेको छ। 'औसतमा नेटवर्थको चार गुणा मूल्यमा एफपीओ निष्कासन गर्न दिइने गरिएको छ', धितोपत्र बोर्ड स्रोतले भन्यो।
 
आर्थिक वर्ष २०७२/७३ मा कम्पनीले सार्वजनिक गरेको तेस्रो त्रैमासिक रिपोर्ट अनुसार एनएलआइसीको नेटवर्थ एक सय ४९ रूपैयाँ ७७ पैसा छ। यसआधारमा कम्पनीले अधिकतम पाँच गुणासम्म जाँदा प्रतिकित्ता सात सय ४८ रुपैयाँ ८५ पैसामा एफपीओ जारी गर्न सक्ने देखिन्छ।
 
कानुनमा स्पष्ट व्यवस्था नभएपनि प्रचलनमा धितोपत्र बोर्डले न्यूनतम तीनदेखि अधिकतम पाँच गुणासम्म कायम हुने गरी मूल्य तोक्न पाउने व्यवस्था गर्दैआएको हो। प्रचलित एफपीओको अभ्यासलाई हेर्दा एनएलआईसीले तोकेको एफपीओ भाउ नेटवर्थको झन्डै १९ गुणा बढी देखिन्छ। 
 
नेटवर्थसँगै धितोपत्र बोर्डले कम्पनीको विगत ६ महिनायताको बजार भाउलाई पनि आधार मान्ने गरेको छ। कम्पनीको भाउ सेयर बजारमा भने लामो समयदेखि तीन हजारभन्दा माथि नै रहँदै आएको छ।
 
नेपाल लाइफ इन्सुरेन्सका प्रमुख कार्यकारी अधिकृत विवेक झाले स्वतन्त्र मूल्यांकनकर्ताले गरेको मूल्यांकन र १० वर्षयताको नेप्सेको तथ्यांक आधारमा एफपीओ भाउ तोकिएको जानकारी दिए। 'स्वतन्त्र मूल्यांकनकर्ताले विभिन्न तथ्य र आधारलाई मानेर भाउ तोकिएको हो', उनले भने।
 
पछिल्लो समय कम्पनीहरूले जारी गर्ने एफपीओ भाउका बारेमा लामो बहस पनि हुँदै आएको छ। लगानीकर्ताले एफपीओमा बढी मूल्य तिर्नुपरेको गुनासो गर्दैआएका छन्। सेयर बजार बढेका बेला एफपीओमा महँगो मूल्य तिरेका सर्वसाधारण भविष्यमा बजार तल ओर्र्लियो भने चर्को मारमा पर्ने खतरा छ। 
 
पुँजी बजार लगानीकर्ता तथा विश्लेषक भने नेटवर्थको कति गुणासम्म जान पाइने भनेर नियामकले तत्काल नयाँ निर्देशन नै जारी गर्न आवश्यक भइसकेको बताउँछन्।
 
 
यस्तो छ धितोपत्र निष्कासन निर्देशिका २०६५ मा यो निर्देशिकाको दफा नौ मा एफपीओ जारी गर्ने संस्थाले सञ्चालक समिति र साधारण सभको निर्णय पेस गर्नुपर्ने उल्लेख छ। यस्ता कम्पनीले विगत पाँच वर्षको लेखा परीक्षण भएको विवरण पनि बोर्डमा बुझाउनुपर्छ।
 
एफपीओ प्रिमियममा निष्कासन गर्ने भएमा प्रिमियम भाउमा जारी गर्न चाहेको सेयर मूल्यको गणना विधि तथा आधार पेस गर्नुपर्ने स्पष्ट व्यवस्था गरिएको छ। यसरी कानुनी प्रक्रिया पूरा गरी एफपीओ जारी गर्न प्रस्तावित मूल्यसहित धितोपत्र बोर्डमा पेस गर्नुपर्ने र त्यसमा जाँचबुझ गर्दा उपयुक्त देखिएमा बोर्डले प्रिमियममा धितोपत्र निष्कासन गर्न अनुमति प्रदान गर्नेछ भन्ने प्रावधान राखिएको छ।

प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.