शनिबार जन्मिएको हुँ, साढेसातको दशाले छुँदैनः ओली

शनिबार जन्मिएको हुँ, साढेसातको दशाले छुँदैनः ओली

काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो जन्म शनिबार भएकाले शनि ग्रहले आफूलाई दुःख नदिने र शनिको साढेसातको दशाग्रहसमेत नलाग्ने दाबी गरेका छन्।

ओलीले भने, ‘मैले कहिल्यै शनिले दुःख दिन्छ कि दिँदैन भनी ग्रहदशा हेराउने काम गरिन। अब पनि हेराउने काम गर्दिनँ। हामीले शनिलाई हेरेर हुँदैन, उसले हामीलाई हेरेमात्र दशा लाग्ने हो।'

बिपी कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी र विज्ञान सङ्ग्रहालय विकास समितिद्वारा आयोजित कार्यक्रममा ओलीले भने, ‘शनिसित मान्छेलाई देख्ने टेलिस्कोप छैन, के को दशा लाग्नु ?'

विकास समितिले सोमबार खगोल र अन्तरिक्ष विज्ञानसम्बन्धी गरेको गोष्ठी उद्घाटन समारोहमा बोल्दै ओलीले शनिसित टेलिस्कोप नभएको भन्दै रुढीवादप्रति व्याङग्य गरे।

तीनदिने गोष्ठीमा दश जोड दुई, प्रमाणपत्र तहदेखि स्नातकोत्तर तहसम्म विज्ञान विषय अध्ययन गर्ने करिब एक सय प्रतिभाशाली छात्रछात्राको सहभागिता रहेको छ।

उनीहरुलाई पछिल्लो समयमा खगोल र अन्तरिक्ष विज्ञानको अध्ययन, अनुसन्धानमा लागेका वैज्ञानिकले गरिरहेका अनुसन्धान, उपलब्धि र यस क्षेत्रमा नेपाल सरकारले गरेका कामका बारेमा जानकारी दिने कार्यक्रम रहेको छ।

बिपी कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी संस्थाले चन्द्रमामा नेपालको तर्फबाट रकेट प्रक्षेपण गर्ने अति महत्वकाङ्क्षी योजनाले काम गरिरहेको जनाएको छ। यसका लागि उसले नगरकोटमा वेदशाला स्थापना गरी कामसमेत गरिराखेको छ।

 

‘च्यातिएको कपडा छोप्न लिपिस्टिक लाएर हुँदैन'

प्रधानमन्त्री ओली कपडा च्यातिएपछि लिपिस्टिक लगाएर नहुने समेत बताएका छन्। ओलीले विकासको कुरा गर्दा आफूलाई हावादारी भनेको भन्दै प्रश्न गरे, ‘लगाउने जुत्ता, कपडा च्यातिएको छ, लिपिस्टिक र पाउडरमात्र लगाएर के गर्नु, अहिलेको हाम्रो विकासको प्रयास यस्तै छ, सबैतिर फाटेको छ, कति ठाउँमा टाल्नु ? छिटो छिटो विकास गर्छुभन्दा हावादारी कुरा गर्यो भन्छन्।'

प्रधानमन्त्री ओलीले अन्तरिक्षमा नेपालले आफ्नै स्थान (स्पेस) लिनुपर्छ, यसले दूरसञ्चारले सहयोग पुर्याउने चर्चा गर्दै सरकार खगोल र अन्तरिक्ष विज्ञानको विकास गर्न सरकार प्रतिबद्ध रहेको जानकारी दिए।

प्रधानमन्त्री ओलीले नगरकोटमा स्थापना भएको वेदशालाको निरीक्षण गर्न आतुर रहेको जानकारी दिए।

कार्यक्रममा विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव अनुपराज उपाध्यायले नेपालको हावापानी सुहाउँदो विज्ञान प्रविधिको विकास गर्न मन्त्रालयले काम जारी राखेको चर्चा गरे।

बिपी कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरीका सहकार्यकारी निर्देशक प्रा सनतकुमार शर्माले सरकारले रु अर्ब लगानी गर्ने हो भने चन्द्रमामा रकेट पुर्याउने क्षमता आफूहरुमा भएको जानकारी दिँदै खगोल विज्ञानको विकासले समग्र विकासलाई सहयोग पुग्ने विश्वास व्यक्त गरे।

संस्थाका कार्यकारी निर्देशक प्रा डा शोभाकान्त लामिछानेले खगोल र अन्तरिक्ष विज्ञानको अध्ययन, अनुसन्धान तथा प्रवद्र्धन गर्न संस्थाले विभिन्न काम गरेको बताए।

खगोल र अन्तरीक्ष विज्ञानका प्राडा उदयराज खनालले अकाशको अध्ययन गरेर के हुन्छ ? भन्ने होइन सबैथोक यसैमा छ भन्ने भावना सरकारले लिनुपर्ने बताए। रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.