के राजनीति व्यवसाय हो ?

के राजनीति व्यवसाय हो ?

आज नेपालको राजनीतिमा भएका र देखिने गरेका नेता-कार्यकर्ताको चर्तिकलाबाट जनता दिक्दार भएको बेला छ। एसएलसी पनि पास नगरेका व्यक्तिहरू उच्च पदमा पुग्छन् तर काम गरेर देखाउन सक्दैनन् भन्ने गुनासो जताततै सुनिन्छ।

कतै राजनीतिलाई एउटा व्यवसाय बनाएकाले यस्तो भएको हो कि भन्ने प्रश्न उठ्ने गरेको छ। अरू मुलुकहरूको अवस्था नियालेर यहाँ यसैको उत्तर खोज्ने प्रयास गरिएको छ।

राजनीतिक स्थायित्व भएका मुलुकहरूमा अरू पेसाबाट राजनीति गर्न आएका देखिन्छन्। अमेरिकाका राष्ट्रपति वकालतबाट राजनीतिमा आएका हुन्। हाल अमेरिकी राष्ट्रपतीय निर्वाचनका एक उम्मेदवार डोलाल्ड ट्रम्प व्यापार व्यवसायका हुन् भने अर्का उम्मेदवार हिलारी क्लिन्टन वकिल थिइन्।

अमेरिकाको राजनीतिमा वकालतको क्षेत्रबाट आएको देखिन्छ। राष्ट्रपति ओबामाको पहिलो मन्त्रिमण्डलमा वकिलहरूको भीड नै थियो। उपराष्ट्रपति जो बाइदेनले साइरेक्युज विश्वविद्यालयमा कानुन पढेका थिए।

विदेशमन्त्री हिलारी क्लिन्टन यल विश्वविद्यालयमा कानुनका विद्यार्थी थिइन। एटर्नी जनरल एरिक होल्डरले कोलम्बिया विश्वविद्यालयमा कानुनको अध्ययन गरेका थिए। त्यसैगरी सीआईएका डाइरेक्टर लियन पानेटा सान्ता क्लारा विश्वविद्यालयका कानुन ग्रेजुएट हुन्। सिनेटका आधाजसो सदस्यहरू कानुन व्यवसायबाट आएका छन्।

चीन यस्तो देश हो, जहाँका नेताहरू प्रायः इन्जिनियर हुने गरेका छन्। वर्तमान चिनियाँ राष्ट्रपति सी जिन पिङ भवन निर्माणका विशेषज्ञ हुन्। चीनका पूर्व राष्ट्रपति हु जिन्ताओ जलस्रोतविज्ञ थिए र एउटा सरकारी जलविद्युत् कम्पनीमा काम गर्दथे।

त्यसैगरी अर्का पूर्वराष्ट्रपति जियाङ जमिन विद्युत् इन्जिनियर थिए। पूर्व चिनियाँ प्रधानमन्त्री वेन जियाबाओ भूगर्भिक इन्जिनियर थिए। चिनियाँ कम्युनिस्ट पार्टीको पोलिटब्युरोका नौ सदस्यमध्ये आठजना इन्जिनियरिङ पृष्ठमूमि भएको बताइन्छ। चिनियाँ नेताहरू प्राविधिक जगत्बाट आएका देखिन्छन्।

४६ जनाको भारतीय मन्त्रिमण्डलमा भने रेलवे राज्यमन्त्री मनोज सिन्हा मात्र एकजना इन्जिनियर भेटिन्छन्। एक इन्जिनियरिङमा डिप्लोमा गरेका जुआल ओरमलाई ट्राइबल मामिलाका मन्त्री बनाइएको छ। कानुनमा स्नातक गरेका भारतीय मन्त्रीहरू १४ जना छन्।

कला विधामा स्नातक गरेका मन्त्रीहरूको संख्या भने सबभन्दा धेरै अथवा १६ जना पाइन्छन्। दस कक्षासम्म पढेकाको संख्या ६ जना रहेका छन्। उनीहरूमध्ये भारतमा धेरै नाम चलेका महिला तथा बालकल्याणमन्त्री मेनका गान्धी, जलस्रोत र गंगा पुनर्जीवन मन्त्री उमा भारती, मानव संसाधन मन्त्री स्मृति इरानी, नागरिक उड्डयन मन्त्री अशोक गजपति राजु र उनकै मन्त्रालयका राज्यमन्त्री जीएम सिद्धेश्वर र खानी, इस्पात, श्रम र रोजगार राज्यमन्त्री विष्णुदेव साई पर्छन्।

भारतको मन्त्रीमण्डलमा दुईजना डाक्टरहरू पनि छन्। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सन् १९७८ मा दिल्ली विश्वविद्यालयबाट दूर शिक्षा पद्धतिबाट राजनीतिशास्त्रमा स्नातकको उपाधि प्राप्त गरेका छन्।

बेलायतमा राजनीतिलाई नै एउटा व्यवसाय बनाउने प्रचलन आउन थालेको देखिन्छ। पहिले-पहिले कुनै व्यवसायमा सफल भएपछि मात्र राजनीतिमा जाने गर्दथे। खासगरी कन्जरभेटिभ पार्टीका सांसदहरू जीवनमा व्यापार अथवा कुनै व्यवसायमा केही हासिल गरेका स्वतन्त्र व्यक्ति हुने गर्दथे।

लेबर पार्टीमा विश्वविद्यालयका प्राध्यापकहरू र श्रमिक नेताहरू आउने गर्दथे। तर बेलायती प्रधानमन्त्री डेभिड क्यामेरुन यस्ता राजनीतिज्ञ हुन्, जो विश्वविद्यालयको पढाइ सकिनेबित्तिकै टोरी दलमा लागेका हुन्। त्यसैगरी पूर्व प्रधानमन्त्रीहरू गोर्डन ब्राउन र टोनी ब्लेयर युवावस्थामै सांसद भएका थिए।

एकजना ३२ वर्षको उमेरमा र अर्को ३० वर्षको उमेरमै संसद् पसेका थिए। बेलायतका राजनीतिमा छिटो पस्न सकिने वातावरण त्यहाँका अनुसन्धान संस्थाहरू, परामर्श सेवा दिने संगठनहरू, सामाजिक मुद्दाहरू उठाउने समूहहरू आदिले बनाउने गरेको बताउने गरिन्छ।

नेपालमा असल मानिस डाक्टर, इन्जिनियर, वकिल, प्रोफेसर कोही राजनीतिमा आउन मान्दैनन्, टाढा भाग्छन्। राजनीतिमा पढ्न नसकेका तर छट्टु, बद्मासी गर्न तत्पर हुने, झूटो बोल्न सक्ने, छलकपट गर्ने आदि मानिस राजनीतिमा जाने गर्छन् भन्ने धारणा छ।

नेपालमा राजनीतिलाई जीवनभरको व्यवसाय बनाउने चलन छ। हाम्रो चलनअनुसार आन्दोलनमा भाग लिनु, जेलमा बस्नु, सशस्त्र युद्ध गर्नु, कुनै दलमा संलग्न हुनु आदि क्रियाकलापबाट राजनीतिमा पस्ने गरेको पाइन्छ। यसको लागि न पढाइ जरुरी मानिन्छ न कुनै व्यावसायिक कौशलताको खाँचो पर्छ। यसैकारणले नेपालको राजनीतिले देशको भलो गर्न नसकेको सारांश निकालिएको छ।

नेपालमा सबै किसिमका परिवर्तन हुँदा पनि किन बिग्रेको अवस्थामा बस्नुपरेको भनेर अनेक विश्लेषण भइसकेका छन् र सो क्रम टुंगिएको छैन। यस सिलसिलामा हाम्रा राजनीतिज्ञहरू स्वार्थी, अक्षम र विदेशीका दलाल भएको बराबर चर्चा गरिन्छ। नेपालमा नेता भए तर राजनेता हुन सकेन भन्ने पनि गरिन्छ।

अर्को विश्लेषणअनुसार नेपालका जेहन्दार विद्यार्थीहरू डाक्टर, इन्जिनियर, वकिल, प्रोफेसर, बैंकर बन्न जान्छन्, तर राजनीतिमा कोही आउन मान्दैनन्। समाजका असल मानिसहरू राजनीतिबाट टाढा भाग्छन्। राजनीतिमा पढ्न नसकेका तर छट्टु, बद्मासी गर्न तत्पर हुने, झूटो बोल्न सक्ने, छलकपट गर्ने आदि बैगुन भएका मानिसहरू जाने गर्छन् भन्ने गरिन्छ।

हुन पनि राजनीतिमा लागेका मानिसहरू यस पेसामा नलागेका भए के गरिखान्थे होलान् भनेर अन्दाज लगाउनु र चर्चा गर्नु स्वाभाविक हो। त्यसो गर्दा धेरै राजनीतिकर्मी नराम्रो मान्छन् किनभने प्रायः धेरैजसो शिक्षित नभएकाले उनीहरूले शारीरिक काम गर्न बाध्य हुनुपर्ने हुन्छ। पसिना निस्कने काम गर्नु उनीहरूले अपमानजनक सम्झन्छन्।

राजनीतिक पेसामा लागेका मानिसहरूको एउटा ठूलो दाबा हुने गर्छ। त्यो हो देशको मुक्तिको लागि, प्रजातन्त्रको लागि, स्वतन्त्रताको लागि, निरंकुशताको समाप्तिको लागि, तानाशाह अन्त्यको लागि लडेको, मरेको, जेल बसेको, सास्ती खाएको, परिवार लथालिंग भएको, धनसम्पत्ति नास भएको आदि उल्लेख गरिने गर्छ।

यो ठूलो त्याग र बलिदान हो र त्यसैको आधार र बलमा उनीहरू जीवनभर राजनीतिमा बस्ने अधिकार भएको बताउँछन्। तर के देशको लागि त्याग गरेको आधारमा त्यही देशलाई बर्बाद गर्न मिल्छ? यो प्रश्नको सैद्धान्तिक र व्यावहारिक उत्तर प्रस्ट छ।

एकपटक त्याग गरेको बहानामा जीवनभर जनतालाई दुःख दिन पाइन्न। त्याग गरेर पनि राजनीतिलाई पेसा नबनाएको उदाहरणस्वरूप भारतका महात्मा गान्धी र दक्षिण अफ्रिकाका नेल्सन मन्डेलाको सम्झना गर्ने गरिन्छ।

तर प्रायः यसरी राष्ट्रिय संघर्षमा लागेका नेताहरू राजनीतिमै व्यस्त रहेका देखिन्छन्। यो प्रचलन नै राष्ट्रघाती भएको होइन?यस परिपेक्षमा राजनीतिलाई व्यवसाय बनाउनुभन्दा सफल व्यवसायीहरू राजनीतिमा जानु राम्रो होला भनेर आशा गर्न सकिन्छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.