युरोकपमा क्रोएसियाबाट टर्की पराजित
काठमाडौं: फ्रान्समा जारी युरोकप फुटबल प्रतियोगितमा क्रोएसियाले टर्कीलाई पराजित गरेको छ ।
आइतबार साँझ भएको खेलमा क्रोएसियाले पहिलो हाफको ४१ औं मिनेटमा गरेको एकमात्र गोलले टर्कीलाई पराजित गर्न सफल भएको हो ।
क्रोएसियालाई साँघुरो जित दिलाउने क्रममा रियल मड्रिडका प्लेमेकर लुका मोड्रिचले डी बक्स र हाफको बीचबाट हानेको उत्कृष्ट भलि बलले जाली चुमेको थियो ।
प्रतिस्पर्धात्मक खेलमा टर्कीले पनि गोल गर्ने प्रयास गरेको थियो । क्रोएसियाका लागि मारियो मान्जुकिज र इभार राकिटेचले केही सुन्दर अवसर खेर फाले ।
समूह ‘डी' पहिलो खेलमा जित निकाल्दै क्रोएसिया तीन अंकसहित शीर्षस्थानमा पुगेको छ ।
यही समूहमा रहेका स्पेन र चेक रिपब्लिकका खेल नेपाली समयअनुसार सोमबार पौने ७ बजे हुने भएको छ ।