नोकिया मोबाइल: नम्बर वानदेखि धरासायीसम्म
काठमाडौं: नोकियाबाहेकको मोबाइल सेट कसैको हातमा देख्दा कुन मोबाइल भनेर छक्क पर्ने अवस्था थियो। घरेलु बजारमा मोबाइल भनेकै नोकिया थियो जसरी केही दशक अघिसम्म नेपालीले अखबार भनेको गोरखापत्र बुझ्थे।
त्यतिबेला नोकियाको आधिकारिक बिक्रेता नियोटेरिकका सञ्चालक सञ्जय गोल्छाका अनुसार घरेलु बजारमा सन २०१० सम्म नोकियाको हिस्सा ७० देखि ८० प्रतिशतजति थियो। त्यसअघि त नोकियाको रोजाइ अझ बढी। छिमेक भारतमा अझ बढी ८० देखि ९० प्रतिशत हिस्सा ओगटेको थियो, नोकियाले।
नेपाल जस्तो सानो देशमा बहुराष्ट्रिय कम्पनीले सर्भिस सेन्टर खोलेको थियो। यसले कम्पनीको सानो बजारमा पनि सम्भावना देखेको झल्काउथ्यो। कम्पनीले विश्वका थुप्रै बजार यसरी नै खाएको थियो। नोकियाले एकछत्र बजार ओगट्दा सोनी, सामसङ, मोटोरोला पनि थिए, तर नोकियाको प्रतिस्पर्धी भन्न सकिने अवस्था थिएन।
सामसङले आफ्नो मोबाइलको आधिकारिक बिक्रेता बन्न अनुरोध गर्दा नियोटेरिकमार्फत नोकिया बेचिरहेको गोल्छा अर्गनाइजेसनले ठाडै अस्वीकार गर्नु अस्वभाविक थिएन। बरु, उसले नोकिया छाडेर सामसङको आधिकारिक बिक्रेता रोज्नु त्यतिबेला हास्यास्पद हुन सक्थ्यो।
नियोटेरिकले पाँच हजार रुपैया“बाट मोबाइल बेच्न सुरु गरेको थियो, पछि विपन्नले पनि किन्न सक्ने १५ सय रुपैयाँसम्मका फोन पनि नोकियाले बनायो। टिकाउ नोकियाको पहिचान थियो। धुलो र पानीले असर नगर्ने किबोर्ड भएका मोबाइल ऊबेलै आएका थिए।
टर्चलाइट, क्यामरा, रेडियो, म्युजिक प्लेयर, गेम जस्ता प्रविधिको प्रयोग गर्ने नोकिया उपभोक्ताको आवश्यकता नाडी छामेर उत्पादन गर्ने कम्पनी देखिन्थ्यो। 'नोकियाले त्यसबेला गरेको सबै कार्य इनोभेटिभ थियो', गोल्छा थप्छन्।
मोबाइलको अन्तर्राष्ट्रिय बजारमा नम्बर वानका रूपमा राज गरेको नोकियाको सफलता इतिहासको पन्नामा सीमित भयो। यसरी एकछत्र राज गर्ने नोकिया अहिले विश्व स्मार्टफोन बजारमा टप टेन लिस्टमा पनि पर्दैन। एन्ड्रोइडको विकाससँगै छोटो समयमा सामसङले छलाङ मारेर नम्बर वानको स्थानमा पुग्यो।
अन्तर्राष्ट्रिय बजारकै अवस्था घरेलु बजारमा छ, सामसङ नम्बर वान। आईफोनको आफ्नै दबदबा छ। बरु, चाइनिज ब्रान्ड हुवावे आक्रामक तरिकाले चुनौती दिन खोज्दैछ।
गोल्छाका अनुसार उपभोक्ताको नाडी छाम्न सक्ने देखिएको नोकियाले एक समयमा बजारको माग ठम्याउन नसकेको देखियो जसले उसलाई धेरै पछि छाडिदियो। चाइनिज मोबाइलको प्रवेशसँगै घरेलु बजारमा नोकिया कमजोर हुन सुरु भयो।
आकर्षक र डबल सिमसहितको चाइनिज फोन बजारमा भित्रिन थाल्यो। तर नोकियाले यसलाई खतराको रुपमा लिएन, डबल सिमपट्टि उनले सोच्न चाहेन। मोबाइल सेवा प्रदायकको कमसल गुणस्तर, गोपनियता आदि कारणले दुईवटा सिम तेस्रो विश्वमा प्रतिष्ठाको विषय बन्न थालिसकेको थियो।
डबल सीम प्रयोग गर्ने मानिसको होड नै बनिसकेको अवस्थामा पनि नोकियामा कम्पनी प्रति बफादार हुनु पर्छ भन्ने सोच हावी भयो, जुन उसका लागि भारी पर्ने वाला थियो। यसले उसको बजार नेपालमात्र हैन, भारतलगायत थुप्रै बजारमा द्रुत गतीमा गुमाउन थाल्यो।
गोल्छाका अनुसार नोकियाले गल्ति गर्ने क्रम यसअघि नै सुरु भइसकेको थियो। सन २००७ सालमा एप्पलको आईफोन बजारमा आयो। आईफोनले ल्याएको टच फोनलाई बकवासका रूपमा लिनु उसको सबैभन्दा ठूलो भूल भयो। आईफोनभन्दा पहिले नै माइक्रोसफ्टले टचफोन उत्पादन गरेको थियो।
एकछत्र राज गर्ने नोकिया अहिले विशव स्मार्टफोन बजारमा टप टेन लिस्टमा पनि पर्दैन। एन्ड्रोइडको विकाससँगै छोटो समयमै सामसुङ छलाङ मारेर नम्बर वानको स्थानमा पुग्यो।
'रेजिस्टिक स्क्रिन' भएको माइक्रोसफ्ट सफल हुन सकेन। माइक्रोसफ्टको विफलतालाई नै आधार मानेर नोकिया आईफोन विफल हुनेमा ढुक्क थियो। एकदम द्रुत गतिमा चल्ने क्षमताको स्क्रिन भएको साधारण सफ्टवेयरमा आईफोन आएको थियो। जुन प्रयोगको लागि सहज पनि थियो। एसियन मुलुकमा त्यति सफल हुन नसके पनि आईफोनले नोकियाको युरोप बजारमा भने त्यतिबेलै ठूलो धक्का दिइसकेको थियो।
नोकियामाथि तेस्रो हमला ब्यालकबेरीले गर्यो। मोबाइलमा इमेल सेवाले ब्ल्याकबेरी एकदम पपुलर भयो। नोकियाले पनि इमेल सेवा भने ल्याएको थियो तर ब्यालकबेरीमा झै नोकियामा पुस इमेल सेवा नहुनाले ग्राहकको मन जित्न सकेन।
मोबाइलबाहकका लागि अब मोबाइलको उद्देश्य फोन गर्नुमात्र हैन भन्ने पनि नोकियाले ढिलो गरी बुझ्यो। कम्पनी मोबाइलफोन एउटा हातले चलाउन सक्ने हुनु पर्छ भन्ने पुरानै ढिपीमा अडिग थियो। तर एन्ड्रोईडले मोबाइल सेट फोन गर्नका लागि मात्र होइन भन्ने सोचका साथ उपस्थिति जनायो।
कम्प्युटरमा गरिने अधिकांश काम मोबाइलबाटै गर्ने गरी मोबाइल उत्पादन हुन थाल्यो। नोकिया र आईफोनको राम्रो पक्षलाई समेटेर एन्ड्रोइड आयो। ओपन सोर्सको रूपमा आएको एन्ड्रोइडमा जस्तो सुकै सफ्टवेयर प्रयोग गर्न सकिने भयो। उसले आफ्नै स्टोरको निमार्ण गर्यो।
नोकियाले प्रयोगकर्तालाई डिभाइस बेच्यो तर एन्ड्रोइडले डिभाइस बेच्ने होइन सिस्टम बेच्नु पर्छ भन्ने सोच राख्यो। गुगलसँग मिलेर एन्ड्रोइडले सफ्टवेयर डाउनलोड गरेर प्रयोग गर्न सकिने एउटा ईको सिस्टमको निमार्ण गरिदियो।
नोकियाको आफ्नो सफ्टवेयर त थियो, तर उसले प्रयोगकर्तालाई लिमिटेसनभित्र राख्न खोज्यो। उसले सिम्बियनको टचलाई विकास गर्न थाल्यो। सँगसँगै कम्पनीले 'मिगो' अपरेटिङ सिस्टम निमार्ण गर्यो त्यसमा पनि कम्पनी सफल भएन्।
समयमा प्रस्तुत हुन नसक्नु पनि नोकियाको अर्काे समस्या भयो। नोकियाले यि हरेक कुरालाई मध्यनजर त गर्यो, तर ढिलोगरी। उसले पनि प्रविधिमा विकास त गर्यो, तर त्यसबेलासम्म चाइनिज फोन ब्रान्डेड बनिसकेका थिए।
नोकियाले डबल सिम ल्यायो तर बजारमा सस्तो मूल्यमा पाइने चाइनिजको बजारको सामु जोड चलेन। एप्पलले आईफोनमा प्रयोग गरेको टच स्क्रिनले विश्व बजारमा सफलता हातपारी सकेको थियो। सामसुङ जिरोबाट हिरो बनिसकेको थियो।
गोल्छाका अनुसार नोकियाले प्रयोग गर्ने सम्वियन सफ्टवेयरलाई विश्वकै ठूलो सफ्टवयर कम्पनीकोरूपमा लिनु र आफूलाई सफ्टवयर कम्पनीका रूपमा देखाउन खोज्नु अर्को गलत कदम थियो। सिम्बियनमा सीमित अवसर थियो, एन्ड्रोइड कम्प्युटरका रूपमा प्रयोग गर्न सकिने थियो- टच र आकर्षक बनावटका साथ थियो।
एन्ड्रोईडले गुगलसँग मिलेर इको सिस्टम निमार्ण गर्यो। गेम, न्युज, स्वास्थ्यलागायतका सामग्री एपका रूपमा प्रयोग गर्न सकिने भयो। नोकियालाई आफ्नो अफिससमेत बेच्नु पर्नेस्थिति आयो। कम्पनीले नोकियाको सीईओ इन्द्रा नोयीलाई निष्काशन गर्यो।
माइक्रोसफ्टबाट स्टेफन इलपलाई सीईओका रूपमा भित्र्यायो। यो पनि गलत निर्णय थियो भन्छन्, गोल्छा। पुराना सीईओले असफलताबाट पाठ सिकेर सही निर्णय लिन सक्थे होलान। 'कम्पनी समस्यामा परेको बेला नयाँ सीईओ नियुक्त गर्नु उसको गलत कदम थियो,' गोल्छा भन्छन्।
उनका अनुसार कम्पनीले बजारमा एन्ड्रोइडले कब्जा गरिसकेको अवस्थामा माइक्रोसफ्लाई आफ्नो अपरेटिङ सिस्टमकारूपमा प्रयोग गरी नयाँ, आकर्षक र ग्राहकको मन छुने मोबाइल फोन ल्याउने योजना बनाएको थियो। त्यसमा पनि कम्पनी असफल भयो।
माइक्रोसफ्ट र नोकिया मिलेर आफ्नो इको सिस्टमको निमार्ण गर्न सकेनन्। उसले नोकियाको ब्रान्ड नेमलाई प्रयोग गर्न बन्द गर्यो। साथै माइक्रोसफ्टले नोकियाको सप्लाई चेनलाई प्रयोग गरी त्यसको फाइदा लिन नसकेको गोल्छाको भनाइ छ।
नोकियाले सन २०१६ सम्मका लागि आफ्नो स्वामित्व बेचेको हो। त्यसपछि पुन नोकियाको ब्रान्डनेमलाई लिएर स्मार्टफोन निमार्ण गरी विश्व बजारमा आउने गोल्छाको अनुमान छ। तर, प्रतिस्पर्धा यति चर्को छ कि, नोकियालाई पहिलाको सफलता दोहोर्याउन चमत्कार गर्नुपर्नेछ।
गोल्छाको भनाइमा केही वर्षयता मोबाइलमा नयाँ प्रविधिको विकास रोकिएको छ। खाली, मोबाइलको क्षमता, डिजाइन, क्यामरा आदिमा अपग्रेडमात्र जारी छ।