चिनियाँ सहायक विदेशमन्त्री नेपाल आउँदै

चिनियाँ सहायक विदेशमन्त्री नेपाल आउँदै

काठमाडौं: नेपाल र चीनबीचको एघारौं कूटनीतिक परामर्श संयन्त्रको बैठक असार ८ मा काठमाडौंमा आयोजना हुने भएको छ। संयन्त्रको बैठक तीन वर्षपछि काठमाडौंमा हुने निश्चित भएको जानकारी परराष्ट्र मन्त्रालयका अधिकारीले दिए।

प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणमा भएका ऐतिहासिक समझदारी तथा सहमतिको समीक्षा तथा तिनलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नका लागि दुवै देशले अघि बढाउनुपर्ने मुद्दाबारे छलफल हुने भएको छ।'प्रधानमन्त्रीज्यूको भ्रमणमा भएका समझदारी र सहमतिको कार्यान्वयनबारे बैठकमा समीक्षा हुनेछ।

समझदारी तथा सहमतिको प्रभावकारी कार्यान्वयनका लागि कसरी अघि बढ्ने भन्नेबारे बैठकले मोटामोटी रूपरेखा कोर्नेछ', परराष्ट्रका एक अधिकारीले अन्नपूर्णसँग भने।भ्रमणका क्रममा नेपाल र चीनबीच पारवहन यातायात सम्झौता, स्वतन्त्र व्यापार सम्झौताको सम्भाव्यता अध्ययनलगायत दस महत्वपूर्ण सहमति र सम्झौतामा हस्ताक्षर भएको थियो। चीनसँग भएको पारवहन सम्झौता नेपालका लागि ऐतिहासिक तथा दीर्घकालीन महत्वको छ।

विगतमा केवल भारत हुँदै समुद्री मार्गबाट नेपालले तेस्रो देशसँग व्यापार गर्ने गरेको भए पनि प्रधानमन्त्रीको बेइजिङ भ्रमणमा हस्ताक्षरित ऐतिहासिक पारवहन सम्झौताले चीन हुँदै समुद्री मार्गबाट तेस्रो देशसँग पारवहन व्यापार गर्न नेपाललाई नयाँ बाटो खोलिदिएको छ।

प्रधानमन्त्रीको चैतमा सम्पन्न चीन भ्रमणका क्रममा जारी भएको संयुक्त वक्तव्यको चौथो नम्बर बुँदामा कूटनीतिक परामर्श संयन्त्र, संयुक्त आर्थिक तथा व्यापार समितिलगायत नेपाल र चीनबीच रहेका द्विपक्षीय संयन्त्रलाई पूर्ण रूपमा क्रियाशील गर्ने उल्लेख छ। त्यस्तै संयुक्त वक्तव्यमा नेपाल र चीनबीचका विभाग, संसद् तथा राजनीतिक दलबीच भ्रमण एवं सहकार्य बढाउने उल्लेख छ।


चिनियाँ राष्ट्रपति सी जिनपिङको असोज अन्तिम साता हुनसक्ने नेपाल भ्रमणका लागि एजेन्डा तयार गर्नसमेत यो बैठक सहयोगी हुनसक्ने अधिकारीले बताए। बैठक नियमित खालको भए पनि द्विपक्षीय मामिलाका आर्थिक, राजनीतिक, सामाजिकलगायत सहकार्यका सबै क्षेत्रमा छलफल हुने अधिकारीले बताए।

चिनियाँ विदेश मन्त्रालयका एसिया मामिला प्रमुख एवं सहायक विदेशमन्त्री कोङ सुयान्यु नेतृत्वको उच्चस्तरीय प्रतिनिधिमण्डल बैठकमा सहभागी हुने भएको छ।
नेपालका लागि चिनियाँ राजदूत ऊ चुन्ताईले परराष्ट्रसचिव शंकरदास बैरागीलाई मंगलबार भेटी कूटनीतिक परामर्श संयन्त्रको बैठकका एजेन्डाबारे छलफल गरेका थिए।

बैठकमा सहभागी हुन चिनियाँ प्रतिनिधिमण्डल असार ७ गते काठमाडौं आइपुग्ने भएको छ। बैठकमा नेपाली पक्षको नेतृत्व परराष्ट्रसचिव बैरागीले गर्नेछन्।
'बैठकका लागि चिनियाँ पक्षसँग कुराकानी भइरहेको छ। यो संयन्त्रको बैठकमा द्विपक्षीय मामिलाका सबै क्षेत्रमा हामी छलफल र समीक्षा गर्नेछौं', बैरागीले अन्नपूर्णसँग भने।

सरकारले छिमेकी चीन र भारतसँगका सहमति र समझदारी कार्यान्वयन तथा अनुगमन गर्न विभिन्न मन्त्रालयका पदाधिकारी सम्मिलित परराष्ट्रसचिव बैरागीको नेतृत्वमा दुई भिन्न उच्चस्तरीय समिति गठन गरिसकेको छ। समितिको पहिलो बैठक एक साताअघि बसेको थियो।

परराष्ट्रसचिव स्तरमा रहेको नेपाल—चीन कूटनीतिक परामर्श संयन्त्रको बैठक हरेक वर्ष एक अर्को देशमा गर्ने सहमति विगतमा भएको थियो।'तर सन् २०१३ पछि नेपाल र चीनबाट विदेशमन्त्रीस्तरीय भ्रमण आदानप्रदान भइरहेका कारण सचिव तहको बैठक रोकिन पुगेको थियो। अब नियमित रूपमा हरेक साल बैठक गर्ने कोसिस हुनेछ', अधिकारीले भने।

संयन्त्रको दसौं बैठक बेइजिङमा सन् २०१३ अगस्ट महिनामा सम्पन्न भएको थियो। तत्कालीन परराष्ट्रसचिव अर्जुनबहादुर थापा नेतृत्वको टोलीले बैठकमा सहभागिता जनाएको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.