मनसुन नेपाल आइपुग्यो, पूर्वमा भारी वर्षा
काठमाडौं: यो वर्षको मनसुन बुधबार नेपाल प्रवेश गरेको छ । सामान्य समयभन्दा एक साता ढिलो गरी प्रवेश गरेको मनसुनका कारण पूर्वी नेपालमा अधिकांश भागमा वर्षा भइरहेको छ ।
जलवायु तथा मौसम पूर्वानुमान महाशाखाले पूर्वी नेपालबाट मनसुन प्रवेश गरेको औपचारिक घोषणा गरेका छन् । महाशाखाका बरिष्ठ मौसमविद् मीनकुमार अर्यालले भने,‘ पूर्वबाट मनसुन प्रवेश गरिसक्यो, अब क्रमशः मध्य र पश्चिमतर्फ फैलिन्छ, ।'
मैसमी नक्सा तथा भू–उपग्रहले खिचेका बादलका तस्बिरका आधारमा मनसुन केही दिनभित्रै नेपालभर सक्रियरुपमा फैलिने अनुमान जलवायु तथा मौसम विज्ञान विभागको छ । पूर्वी नेपाल आइपुगेको मनसुन थप सक्रिय भएपछि देशैभर वर्षा हुने आंकलन छ ।
सामान्य अवस्था भन्दा पाँच दिन ढिलो गरी मनसुन नेपाल आइपुग्नुपर्ने हो । दक्षिण एसियामा मनसुन सुरु हुने मूख्य स्थान भारतको केरालामै यो पटक नौ दिन ढिलो मनसुन आइपुगेको थियो ।
दक्षिण एसीयाली मनसुन बंगालको खाडीमा विकास भइ उत्तरपश्चिमतर्फ अघि बढ्छ । नेपालमा जुनदेखि सेप्टेम्बरसम्म मनसुन सक्रिय रहन्छ । यसअघिका सबै वर्षा मनसुन सक्रिय बनाउने (प्री मनसुन) वर्षा हुन् ।
मौसमविद्हरुले यो वर्षको मनसुनमा औषत वर्षा हुने प्रक्षेपण यसअघि नै गरिसकेका छन् । दक्षिण एसीयाली मौसमविद्हरुको संस्था जलवायु दृष्टिकोण मञ्चले लालिनो सक्रिय हुदै गएकोले राम्रो वर्षा हुने अनुमान गरेको हो ।
अघिल्लो वर्ष नेपालमा औषतभन्दा कम वर्षा भएको थियो । गत महिना भएको बैठकपछि दक्षिण एसीयाली मौसमविद्हरुले नेपालको सुदुरपश्चिम तराईका केही भाग तथा केही पहाडी भागमा सरदरभन्दा बढी र पूर्वका केही तराई तथा पहाडी भागमा कम वर्षाको अनुमान गरेका छन् । देशका बांकी भागमा भने सरदर नै वर्षा हुने अनुमान गरिएको मौसमविद् शिव नेपालले बताए ।
दक्षिण एसीयाली मनसुनलाई मूख्य रुपमा प्रभाव पार्ने एलनीनोको अवस्था कमजोर हुदै गएको र लानिनोको अवस्था (मौसमी प्रणाली) बलियो हँदै गएकोले मनसुनको अन्त्यतीर बढी वर्षा हुने मौसमविद्हरुको निश्कर्ष छ ।
तर मनसुनका समयमा हुनसक्ने अतिबृष्टी र अनाबृष्टिका बारेभने कुनै अनुमान र विश्लेषण भएको छैन । पछिल्ला वर्षमा जलवायु परिवर्तनका कारण छाटो समयमा धेरै परिणाममा पानी पर्ने र सुख्खा हुने क्रम बढिरहेको छ ।
मनसुन ढिलो हुनुमा पनि जलवायु परिवर्तन नै मूख्य कारण रहेको विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुसन्धानहरुको निश्कर्ष छ ।
पूर्वको मनसुन बंगालको खाडीमा तथा पश्चिमी प्रणाली अरेबियन समुन्द्रमा विकास हुन्छ । अरेबियन समुद्रमा विकास भएको मनसुन मध्यभारत हुँदै पश्चिमबाट नेपाल भित्रिन्छ । नेपालमा वर्षभरीमा हुने कुल वर्षाको ८० प्रतिशत वर्षा मनसुनको चार महिनामा हुन्छ ।