ओर्लान्डो नरसंहार
ठूलो संख्यामा निशस्त्र व्यक्तिहरूको हत्या संसारको जुनसुकै कुनामा हुँदा पनि त्यसले सर्वत्र चासो, समवेदना, आक्रोश र कूतुहल निम्त्याउँछ । संयुक्त राज्य अमेरिकाको फ्लोरिडास्थित एउटा रात्रिक्लबमा गोली चल्दा ४९ व्यक्तिको मृत्यु र त्यसभन्दा केही बढी घाइते भएका छन् । हत्यामा संलग्न ओमर मनीत मारिए पनि षड्यन्त्र तथा बृहत् षड्यन्त्रका सम्भावित पाटाहरू छानबिनकै दायरामा छन् ।
अमेरिकामा हतियार किन्ने र चलाउनेबारे या त्यसलाई नियन्त्रित गर्नेबारे विविध दल र सरकारले ठोस निर्णय गर्न सकेको अवस्था छैन । त्यसले गर्दा विभिन्न मान्यता, निराशा, आक्रोश या बदलाको भावनाबाट ग्रसित भएर कहिले चर्च, कहिले स्कुल या पार्क र अन्य सार्वजनिक थालेमा सानाठूला आकारमा निर्दोषहरूको हत्याले शृंखलाबद्ध रूप लिएको छ । यी सबै घटनाको निन्दाका क्रममा हतियारको बेचबिखनमा नियन्त्रणका कुरा उठे पनि अनिर्णय र हतियारको दुरुपयोगको क्रम जारी नै छ ।
तर शनिबार रात्रिक्लबमा भएको घटना अन्यभन्दा पृथक छ र त्यसको प्रभाव अमेरिकाको उच्च राजनीतिक तह र सम्भवतः आगामी राष्ट्रपतीय निर्वाचनमा समेत प्रतिविम्बित हुने अड्कलबाजी हुन थालेको छ ।
हत्यारा इस्लामिक अतिवादी संगठन आईएसआईएससँग आबद्ध छन् या छैनन् ? उनले एक्लै यो काम गरे या बृहत् षड्यन्त्रबाट निर्देशित भएर गरे यी सबै तथ्य बाहिर आइसकेका छैनन् । तर उनको निशानामा परेका सबै व्यक्तिहरू समलिंगीहरूको क्लबमा एकत्र युवायुवती थिए, छुट्टी मनाउन आफ्ना मित्रहरूसँग ।
अमेरिकी सरकार र राज्य समलिंगीहरूको अधिकारको पक्षमा उभिँदै आएको छ र विभिन्न प्रान्तले समलिंगी विवाह र सम्बन्धलाई मान्यता दिँदै आएका छन् । तर यो विषयमा अमेरिकी समाज विभाजित छ । अर्थात् राज्यभन्दा फरक मत राख्छ, त्यहाँका समाजको अनुदार पक्ष । त्यसमा असहिष्णुताको पक्ष पनि छ । कुनै पनि समाजमा विविध विचार र मान्यता बोक्ने समूह हुन्छन् र धर्म तथा परम्परा र प्रचलनका नाममा असहिष्णुताको अभ्यास गर्नेहरू समाज र राज्यका उदार व्यवहार स्विकार्दैनन् सहजै ।
रात्रिक्लबमा भएको घटनालगत्तै राष्ट्रपति बाराक ओबामाले त्यसको निन्दासँगै घृणा र आतंकबाट निर्देशित कुनै पनि अभियान सफल हुन नदिने, पराजित गर्ने संकल्प दोहोर्याए । त्यो प्रतिक्रिया र संकल्प संयमित र अपेक्षित दुवै थिए । अमेरिकामा चार महिनापछि हुन लागेको राष्ट्रपतीय निर्वाचनमा डेमोक्रेटिक पार्टीका प्रत्याशी हिलारी क्लिन्टनले ओबामालाई समर्थन गरिन् ।
राजनीति र मानवीय संवेदनाको हिसाबले त्यो पक्कै पनि सही अडान थियो उनको, तर रिपब्लिकन पार्टीमा प्रत्याशी डोनाल्ड ट्रम्पले त्यो आक्रमणलाई हत्यामा सामेल मतीनको धर्म या इस्लामसँग जोडेर अर्को घृणाको अभियानलाई तीव्रता दिएका छन् । त्यो अभियानमा घृणा र निषेधको नियत छ र घृणाबाट सञ्चालित मतीनको कार्य या नियतलाई सबभन्दा बढी सहयोग पुर्याउनेछ, असंयमित प्रतिक्रियाले ।
मतीनको आक्रमणपछि अमेरिकी समाजको उदार र सहिष्णु पक्षलाई निरुत्साहित हुन नदिनु त्यहाँका राज्य र राजनीतिहरूको मुख्य दायित्व बन्न पुगेको छ । अन्यथा घृणाको राजनीति सशक्त देखिनेछ । प्रतिशोध त्यहाँको नियति बन्न पुग्नेछ । अमेरिका शक्तिशाली मुलुक भएकाले त्यहाँका नेता या सम्भावित राष्ट्रप्रतिका उद्गार, मान्यता आदिले ठूलो अर्थ राख्दछ, मुलुकभित्र र विश्वमै ।
अमेरिकी राज्य उदार मानवीय स्वतन्त्रताको पक्षधर छ र त्यसलाई घृणा र निषेधको अभियानबाट निरुत्साहित गरिँदैन भन्ने मान्यता पनि राख्छ । तर निन्दनीय र दुर्भाग्यपूर्ण 'रात्रिक्लब' नरसंहारले कुनै धर्म, कुनै जाति या यौनिक व्यवहार तथा मान्यताका कुनै पक्षलाई निशाना बनाउनेतर्फ त्यहाँको राजनीतिलाई ध्रुवीकृत गर्यो भने त्यो हत्यारा मतीनको ठूलो विजय सावित हुनेछ । त्यो अमेरिकी मूल्यको पराजय सावित हुनेछ ।