युरोकपमा इङ्ल्यान्ड र जर्मनीलाई दबाब

युरोकपमा इङ्ल्यान्ड र जर्मनीलाई दबाब

मर्सेली: युरोकप फुटबलअन्तर्गत समूहगत चरणको आफ्नो दोस्रो खेलमा इङ्ल्यान्ड र जर्मनीले कठिन प्रतिद्वन्द्वीको सामना गर्दैछन् । बिहीबार साँझ हुने खेलमा इङ्ल्यान्डले वेल्सको सामना गर्दैछ भने शुक्रबार बिहान हुने खेलमा जर्मनी पोल्यान्डविरुद्ध उत्रनेछ ।

आफ्नो पहिलो खेलमा जर्मनीले युक्रेनलाई २–० गोलले हराएको थियो भने इङ्ल्यान्ड रुससँग १–१ गोलको बराबरीमा रोकिएको थियो ।
समूह 'बी' अन्तर्गत आफ्नो पहिलो खेलमा वेल्सले स्लोभाकियालाई २–१ गोलले पराजित गरेको थियो ।

पहिलो पटक युरोकपमा सहभागी भइरहेको वेल्सले उत्कृष्ट प्रदर्शन गरेको थियो । बेलायतका दुई राष्ट्र भएकाले पनि इङ्ल्यान्ड र वेल्सबीचको खेललाई चासोपूर्वक र प्रतिष्ठाको लडाइँका रूपमा हेरिएको छ ।

विश्वकप तथा युरोकपमा इङ्ल्यान्डले बेलायतकै अर्को राष्ट्रसँग सामना गर्न लागेको यो केवल दोस्रोपटक हो । यसअघि सन् १९९६ को युरोकपमा स्कटल्यान्डसँग भिडन्त गरेकोमा इङ्ल्यान्ड २–० गोलले विजयी भएको थियो ।

इङ्ल्यान्डका वेन रोनी र वेल्सका गारेथ बेल चर्चाको केन्द्रमा छन् । स्ट्राइकर बेलले पहिलो खेलमा फ्रिकिकमा उत्कृष्ट गोल गरेका थिए । रोनी इङ्ल्यान्डका कप्तान र सर्वाधिक गोलकर्ता हुन् ।

पुरानो र ठूलो टोली भएकाले इङ्ल्यान्ड बढी दबाबमा छ । अघिल्लो चरण प्रवेश गर्न इङ्ल्यान्डलाई सुखद नतिजाको विकल्प छैन । वेल्सले अन्तर्राष्ट्रिय फुटबलमा पछिल्ला आठ भिडन्तमा केवल एकपटक इङ्ल्यान्डलाई हराउन सकेको छ । ६ खेलमा इङ्ल्यान्ड विजयी भएको थियो ।

पछिल्लो पटक यी दुई टोलीबीच सन् २०११ मा प्रतिस्पर्धा भएकोमा त्यति बेला इङ्ल्यान्ड १–० गोलले विजयी भएको थियो । यो खेललाई लिएर दुवै टोलीले ‘माइन्ड गेम’ भने सुरु गरिसकेका छन् । इङ्ल्यान्डविरुद्ध जित हात पार्न सके वेल्स एक खेल खेल्न बाँकी रहँदै ऐतिहासिक सफलतासहित प्रिक्वार्टरफाइनल पुग्न सक्नेछ ।

 

समूह ‘सी’ अन्तर्गतको खेलमा पछिल्लो समय राम्रो प्रदर्शन गरिरहेको पोल्यान्ड विश्व च्याम्पियन जर्मनीलाई निराश बनाउने प्रयासमा हुनेछ ।
पोल्यान्डले आफ्नो पहिलो खेलमा उत्तरी आयरल्यान्डलाई १–० गोलले हराएको थियो ।

सन् २००८ मा पहिलोपटक युरोकप खेलेको पोल्यान्डले पछिल्लो समय जर्मनीलाई कडा चुनौती दिइरहेको छ । पछिल्ला पाँच वर्षमा यी दुई टोलीबीच भएका चार भिडन्तमा दुई खेल बराबरी भएको थियो भने दुवै टोलीले एकएक खेल जितेका थिए ।

सन् २०१५ मा भएको भएको युरो छनोटमा जर्मनीले पोल्यान्डलाई ३–१ गोल र सोही प्रतियोगिताअन्तर्गत सन् २०१४ मा भएको खेलमा पोल्यान्डले जर्मनीलाई २–० गोलले हराएका थिए ।

जर्मनीलाई सबैभन्दा टाउको दुःखाइ पोल्यान्डका स्ट्राइकर रोबर्ट लेवान्डोस्की हुन् । जर्मन क्लब बायर्न म्युनिखबाट क्लब फुटबल खेलिरहेका लेवान्डोस्की यो सिजन घरेलु लिगमा सर्वाधिक गोलकर्ता बनेका थिए ।

उनी जारी युरोकपका लागि भएको छनोटमा पनि १३ गोलसहित सर्वाधिक गोलकर्ता बनेका थिए । जर्मनीमा लेवान्डोस्कीले खेल्दै आएको क्लब बायर्नका खेलाडीको प्रभाव छ ।

जर्मनीका रक्षक जेरोमी बोआटेङले भने पोल्यान्ड टोलीमा लेवान्डोस्की मात्र चुनौती नभएको भन्दै प्रतिद्वन्द्वीलाई कठिन रूपमा उल्लेख गरेका छन् । जर्मनी र पोल्यान्ड दुवै टोलीका लागि ठूलो परीक्षा हुनेछ ।

सोही समूहको अर्को खेलमा बिहीबार राति युक्रेन र उत्तरी आयरल्यान्ड भिड्दैछन् । पहिलोपटक युरोकपमा सहभागी भएको उत्तरी आयरल्यान्ड पहिलो जितको खोजीमा छ । अगाडि बढ्ने सम्भावना कायम राख्न दुवै टोलीलाई जितको विकल्प छैन ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.