ग्रेडिङले विद्यार्थी र अभिभावक अन्योलमा
काठमाडौं: एसएलसी परीक्षाको ८३ बर्से इतिहासमा परीक्षा नियन्त्रण कार्यालयले पहिलोपटक सबै विद्यार्थीको नतिजा ग्रेडिङ (अक्षरांक) प्रणालीमा सार्वजनिक गरेको छ।
विगतमा विद्यार्थीको प्राप्तांकलाई कुल एक सय पूर्णांकमा गणना गरेर उत्तीर्ण प्रतिशतका आधारमा नतिजा प्रकाशन गरिँदै आएको थियो।विद्यार्थीलाई प्राप्तांकका आधारमा उत्तीर्ण र अनुत्तीर्ण भनेर छुट्ट्याउनु व्यावहारिक नभएको र अन्तर्राष्ट्रिय प्रचलनमा समेत नरहेको तर्क गर्दै शिक्षा मन्त्रालयले यसपटकदेखि अक्षरांक प्रणालीमा नतिजा सार्वजनिक गरेको हो।
अक्षरांक प्रणालीमा नतिजा सार्वजनिक गरिएको हुनाले यस वर्ष परीक्षामा सहभागीमध्ये ८० प्रतिशतभन्दा धेरै विद्यार्थी सहज रूपमा कक्षा ११ पढ्न योग्य भएका छन्। नतिजाअनुसार एसएलसीमा नियमिततर्फ सहभागी भएका ४ लाख ३७ हजार ३ सय २६ जनामध्ये चार लाख ३२ हजार ३ सय १५ जना कक्षा ११ मा भर्ना हुन योग्य छन्।
अधिकतम ग्रेड प्वाइन्ट एभरेज (जीपीए) ४ मानेर प्रकाशन गरिएको नतिजाअनुसार न्यूनतम एक दशमलव ६ जीपीएसम्म ल्याउने विद्यार्थी कक्षा ११ मा भर्ना हुन पाउँछन्। यी विद्यार्थीले जीपीएमा गणना गर्दा न्यूनतम एक दशमलव ६ भन्दामाथि र अधिकतम ४ सम्म ल्याएका छन्। विगतको नतिजासँग तुलना गर्दा यसपटक ३० नम्बरभन्दा माथि अंक ल्याउने विद्यार्थीले कक्षा ११ पढ्न पाउने भएका छन्।
नतिजाअनुसार नियमिततर्फ परीक्षामा सहभागी भएकामध्ये १६ हजार ४ सय ५४ जना ए प्लस अर्थात् आउट स्ट्यान्डिङ अंक ल्याएर उत्तीर्ण भएका छन्। जीपीएअनुसार ३ दशमलव ६ देखि ४ सम्मलाई ए प्लस मानिन्छ। त्यस्तै ४१ हजार ४ सय ५४ जना विद्यार्थी ए ल्याएर उत्तीर्ण भएका छन्। यसअन्तर्गत ३ दशमलव २ देखि ३ दशमलव ६ जीपीए ल्याउने विद्यार्थी पर्छन्।
बी प्लस ल्याउने विद्यार्थी संख्या ४ हजार ८ सय ६१ जना छ। यसअन्तर्गत जीपीए २ दशमलव आठ देखि ३ दशमलव दुईसम्म ल्याउने विद्यार्थी पर्छन्। बी ल्याउने विद्यार्थी ६३ हजार १ सय ८१ जना छन्। यसअन्तर्गत २ दशमलव ४ देखि २ दशमलव ८ जीपीए ल्याएका विद्यार्थी पर्छन्।
सी प्लस ल्याउने विद्यार्थी ९ हजार ४ सय ७६ छन्। यसअन्तर्गत जीपीए २ देखि २ दशमलव ४ जीपीए ल्याएका विद्यार्थी छन्। त्यस्तै सी ल्याउने विद्यार्थी सबैभन्दा धेरै एक लाख चार हजार दुई सय ७८ छन्। यसअन्तर्गत जीपीए एक दशमलव ६ देखि २ सम्मका विद्यार्थी छन्।
डी प्लस र डी ल्याउने विद्यार्थी क्रमशः ५६ हजार ७ सय ६३ र ८ हजार रहेका छन्। यसअन्तर्गत जीपीए १ दशमलव २ देखि १ दशमलव ६ सम्म र ० दशमलव ८ देखि १ दशमलव २ सम्मका विद्यार्थी छन्। जीपीए १ दशमलव ६ भन्दा तल ल्याउने अर्थात् ई ग्रेड ल्याउने विद्यार्थी ११ जना छन्।
एक्जाम्टेडतर्फ परीक्षामा सहभागी एक लाख ५० हजार ८ सय २६ जना परीक्षार्थीमध्ये ए प्लस र ए ल्याउने विद्यार्थीसंख्या क्रमशः ४ र ८ मात्र छ। त्यस्तै बी प्लस र बी ल्याउने विद्यार्थी ९४ र दुई हजार ९ सय ४३ छन्। सी प्लस र सी ल्याउने विद्यार्थीसंख्या क्रमशः २९ हजार ७ सय ८० र ७५ हजार ३ सय ४० जना रहेको छ।
आंशिकतर्फ नै डी प्लस र डी ल्याउने विद्यार्थी क्रमशः ३७ हजार ९ सय ३९ र २ हजार ४ सय ५२ छन्। जीपीए १ दशमलव ६ भन्दा तल ल्याउने अर्थात् ई ग्रेड ल्याउने विद्यार्थी संख्या २ छ।
नतिजा सार्वजनिक गर्न आयोजित पत्रकारसम्मेलनमा शिक्षा मन्त्रालयका सचिव विश्वप्रकाश पण्डितले अक्षरांकन पद्धतिबाट नतिजा पहिलो अनुभव भएकाले आगामी वर्षमा सुधार गर्दै लैजाने बताए। नयाँ प्रणालीको सुरुआतसँगै विद्यार्थीको सिकाइ स्तर पनि सुधँ्रदै जाने उनको भनाइ थियो।
ग्रेडिङले अन्योल
पहिलोपटक सबै विद्यार्थीको नतिजा ग्रेडिङ प्रणालीमा सार्वजनिक गरिएका कारण परीक्षार्थी तथा अभिभावकसमेत अन्योलमा परेका छन्।
नतिजा सार्वजनिक भएपछि आफूले प्राप्त गरेको नम्बर थाहा पाए पनि कुन श्रेणी वा ग्रेडिङमा उत्तीर्ण भएको भन्नेमा विद्यार्थी अन्योलमै थिए। नतिजा सुन्न सानोठिमी पुगेका रामचन्द्र अधिकारीले भने, ‘समग्रमा नतिजा ३ दशमलव ७५ आएको पाएँ। तर यो कुन ग्रेड हो भन्ने पत्ता लगाउन निकै कठिन भयो।'
पनिकाले पहिलोपटक नयाँ प्रणालीमा नतिजा सार्वजनिक गरेका कारण आफूलाई समस्या भएको अधिकारीले बताए।
विगतमा कुल पूर्णांकलाई आधार मानेर नतिजा प्रकाशन गरिँदा विद्यार्थीले कुन विषयमा कति अंक ल्याएका छन् र समग्रमा कति प्रतिशत आएको छ भनेर सहज रूपमा थाहा पाउँथे। तर यसपटक उनीहरूको प्राप्तांकलाई कुल चार जीपीएमा हिसाब गरेर नौ तहमा वर्गीकरण गरिएको छ।
गणितमा धेरै ए प्लस
पनिकाका अनुसार विगतका वर्षमा धेरै विद्यार्थी अनुत्तीर्ण हुँदै आएका विज्ञान, गणित र अंग्रेजीमध्ये यसपटक गणितमा सबैभन्दा धेरै विद्यार्थीले ए प्लस ल्याएका छन्।
यो विषयमा २३ हजार ३ सय ३४ जनाले ए प्लस ल्याएका छन्। त्यस्तै अंग्रेजीमा १२ हजार ५ सय ५२ जना तथा विज्ञानमा ६ हजार ८ सय २७ जनाले ए प्लस ल्याएका छन्।
एक लाख ८ हजार पूरक परीक्षामा
सामान्यतया ग्रेडिङ प्रणालीमा नतिजा सार्वजनिक गरिँदा कुनै पनि विद्यार्थीलाई अनुत्तीर्ण नगरिएको दाबी गरे पनि दुई विषयमा डी र ई ल्याउने विद्यार्थीलाई भने पूरक परीक्षाको व्यवस्था गरिएको छ। यस्तो परीक्षामा बस्न चाहनेले दुईवटा सैद्धान्तिक विषयमा मात्र डी र ई ल्याएको हुनुपर्नेछ।
उदाहरणका लागि आठवटा विषयमध्ये सातवटामा ए प्लस ल्याउने विद्यार्थीको कुनै एक विषयमा डी वा ईमात्र आएको छ भने त्यस्ता विद्यार्थी पूरक परीक्षामा बस्न पाउनेछन्।
परीक्षानियन्त्रक काप्रीले यस्ता परीक्षार्थीको संख्या नियमित र एक्जाम्टेडतर्फ गरेर १ लाख ४७ हजार ५ सय ८३ जना रहेको बताए।
तर परीक्षार्थीले पहिलेकै प्राप्तांकमा चित्त बुझाएर बस्न पनि सक्ने पनिकाले जनाएको छ। पूरक परीक्षा साउन १४ गतेदेखि सञ्चालन हुनेछ।