क्षमायाचना र सुधार
इतिहासमा भएका गल्ती, अन्याय र अत्याचार तथा तिनले स्थापित गरेका गलत संस्कार र मान्यताले समाजमा बलियो जरो गाडेका हुन्छन् । त्यस्ता गल्तीबाट एउटा पक्ष लाभान्वित हुन जान्छ र अर्को घाटा स्वीकार्न विवश हुन्छ पछिसम्म । त्यसले समाजमा असमानता र अन्याय स्थापित गर्दछ । पुस्तौंसम्म समाज र मुलुकको भविष्य र विकाससमेत प्रभावित हुन जान्छ, यस्ता अभ्यासको निरन्तरताले ।
अमेरिकामा कालाहरू विरुद्धको भेदभाव, बेलायती साम्राज्य र उसका उपनिवेश मुलुकमा बाहिरबाट जबर्जस्ती उठाइएका कामदारहरूका सन्ततीले भोग्दै आएका असमानता र विभिन्न मुलुकभित्र समाजले आन्तरिकरूपमै अपनाएका विभेद प्रतिनिधि संस्कार या कुसंस्कार हुन् । नेपालमा जात र जातीयताका सांस्कृतिक, ऐतिहासिक र सामाजिक पक्ष रहे पनि त्यसको नकारात्मक अभ्यासले सामान्य विभेदमात्र हैन, छुवाछूतजस्ता अस्वीकार्य प्रचलनले निरन्तरता पाउँदै आएको छ । यद्यपि कानुनले त्यसको उल्लंघनको घोषणा अनेकपल्ट गरेको छ ।
विभेद अन्त्य गर्न राज्यद्वारा शिक्षा र अवसरमा पहुँच अनि शोषित तथा वञ्चितहरूका लागि विशेष अवसर र सकारात्मक विभेदका नीतिहरू अपनाइन्छ र त्यसको कार्यान्वयनबाट चरणबद्ध रूपमा नतिजा प्राप्त हुने अपेक्षा गरिन्छ, यद्यपि त्यो सहज, छोटो र व्यवधानरहित नहुन सक्छ ।
तर जहाँ विभेदले समाजको बुझाइमा ‘धर्म र संस्कृति तथा समुदाय विशेषका प्रचलन, चाड पर्वका रूप लिएका छन्’, त्यहाँ समुदायभित्रबाटै सुधारका प्रयास हुँदा त्यो बढी प्रभावकारी हुने गर्छ ।
अहिले मधेसका केही उच्च जातीय र शिक्षित व्यक्तिहरूले ‘माफी र सुधार’ का प्रयास सुरु गरेका छन्, सामाजिक सञ्जालमार्फत । ऐतिहासिक रूपमा, विभेदका कारण आफूहरूले नाजायज फाइदा लिएको र दलित तथा अल्पसंख्यक र थारूहरूसहित अन्य त्यस्तो फाइदाबाट वञ्चित भएकोमा माफी पनि मागेका छन् उनीहरूले ।
मधेसको राजनीतिक आन्दोलनमा त्यहाँको करिब एक करोड ४० लाख जनसंख्यामा २ लाख २० हजारको संख्यामा मात्र रहेका उच्च तीन या चार जातिले अवसरको ठूलो हिस्सा ओगेटेको आरोप लागिरहेको बेला यो अभियान सुरु भएको छ । यो ‘क्षमायाचना र सुधार’ कति रणनीतिक र कति प्रतिबद्धताबाट प्रेरित हो, त्यसबारे अहिले नै निष्कर्ष निकाल्नु हतार हुनेछ, तर प्रयास सकारात्मक छ । यो अभियानले कसरी अन्य वञ्चित समूहका लागि समानताको अवसर र पहँुच सुनिश्चित गर्ला, त्यसबाट यसको सफलता नापिने छ ।
नेपालमा केही अपवाद छोडेर समानता र सुधारका आन्दोलनहरू स्वस्फूर्त, विवेक र प्रतिबद्धताबाट भन्दा बाह्य ‘फन्ड’ बाट प्रेरित छन् अर्थात त्यसमा सामाजिक सुधारको चाहनाभन्दा बढी ‘आर्थिक लाभ’ को लोभ बढी छ भन्नेहरूको संख्या पनि कम छैन । र, त्यो आशंका सर्वथा निराधार छैन । तर यसपल्टका क्षमायाचना र सुधारका अभियन्ताहरूले त्यसप्रति समर्पण र सेवाद्वारा दलित, उपेक्षित महिला र सबैखाले वञ्चितहरूलाई केही दिन सके भने त्यो उनीहरूको सफलता मानिने छ । र, मुलुकले उनीहरूप्रति गर्व गर्नेछ ।