स्पेनको आँखा दोस्रो चरणमा

 स्पेनको आँखा दोस्रो चरणमा

मर्सिल्ले: युरोकप फुटबलमा लगातार तेस्रोपटक उपाधि जित्दै इतिहास रच्ने योजनामा रहेको स्पेनले समूहगत चरणको आफ्नो दोस्रो खेलमा शनिबार बिहान टर्कीको सामना गर्दैछ।

टर्कीलाई हराउन सके स्पेन नकआउट चरण अर्थात् अन्तिम १६ मा पुग्नेछ। समूह'डी'अन्तर्गत शुक्रबार राति हुने खेलमा क्रोएसियाले चेक गणतन्त्रलाई हराएमा र आफू पनि विजयी भएमा स्पेनसँगै क्रोएसिया पनि नकआउट चरणमा पुग्नेछ। आफ्नो पहिलो खेलमा स्पेनले चेक गणतन्त्रलाई १-० र क्रोएसियाले टर्कीलाई १-० गोलले हराएका थिए।

साविक विजेताका रूपमा गत विश्वकपमा सहभागी भए पनि पहिलो चरणबाटै बाहिरिएपछि स्पेनले निकै आलोचना बेहोर्नु परेको थियो। स्पेनलाई पुरानो साख फर्काउन यो प्रतियोगिता निकै महत्वपुर्ण मानिएको छ। साथमा युरोकपमा हालसम्म कुनै पनि टोलीले लगातार तीनपटक उपाधि जित्न सकेका छैनन्। तर स्पेन र जर्मनीले तीनतीन पटक युरोकप भने जितेका छन्।

स्पेन र टर्कीबीच हालसम्म ११ पटक भिडन्त भएकोमा स्पेन पाँचपटक र टर्की दुईपटक विजयी भएका छन्। चार खेलको नतिजा बराबरीमा सकिएको थियो। टर्कीले पछिल्ला तीन खेलमा स्पेनलाई हराउन सकेको छैन। टर्कीले अन्तिम पटक सन् १९६७ मा स्पेनलाई १-० गोलले हराएको थियो। यी दुई टोलीबीच अन्तिमपटक सन् २००९ मा भिडन्त भएको थियो, जसमा स्पेन २-१ गोलले विजयी भएको थियो।

 

सन् २००८ मा सेमिफाइनलसम्म पुगेको टर्की सन् २०१२ को संस्करणमा भने छनोट नै हुन सकेन। जारी प्रतियोगितामा टर्की बलियो टोलीलाई हराएर पुनरागमन गर्ने प्रयासमा छ। टर्की कप्तान अर्दा टुरानमाथि बढी निर्भर छ। टुरान स्पेनिस क्लब बार्सिलोनाबाट क्लब फुटबल खेल्छन्।

तर, उनले पहिलो खेलमा भने राम्रो खेल्न सकेका थिएनन्। टर्कीका प्रशिक्षक फाति तेरिम भन्छन्,'टुरान महत्वपूर्ण खेलाडी हुन्। हामी उनीमाथी निर्भर छौं।' २१ वर्षको उमेरमा टर्कीलाई कप्तानी गर्दै उनले सन् २००८ को युरोकपमा सेमिफाइनलसम्म पुर्याएका थिए।

यसअघि दुईपटकमात्र दोस्रो चरणमा पुगेको क्रोएसिया पनि चेक गणतन्त्रसँग प्रतिस्पर्धा गर्दा अघिल्लो चरण पुग्ने योजनामा छ। हालसम्म चेक गणतन्त्रसँग दुईपटक प्रतिस्पर्धा गरेको क्रोएसिया ती दुवै भिडन्तमा विजयी भएको थियो। अन्तिम पटक यी दुई टोली मैत्रीपूर्ण खेलमा सन् २०११ मा भिडेका थिए। उक्त भिडन्तमा क्रोएसिया ४-२ गोलले विजयी भएको थियो।

स्विडेनविरुद्ध इटाली


समूह'ई' अन्तर्गत शुक्रबार साँझ हुने खेलमा साविक उपविजेता इटालीले बलियो प्रतिद्वन्द्वी स्विडेनको सामना गर्दैछ। ग्रुप अफ डेथसमेत मानिएको यो समूहमा इटालीले पहिलो खेलमा समूहकै सबैभन्दा बलियो टोली बेल्जियमलाई २-० गोलले हराएको थियो। स्विडेन भने आयरल्यान्डसँग बराबरीमा रोकिएको थियो। स्विडेनलाई हराउन सके इटाली पनि दोस्रो चरणमा पुग्नेछ।

इटाली पनि गत विश्वकपमा समूहगत चरणबाटै बाहिरिएपछि निकै आलोचित बनेको थियो। इटाली र स्विडेनबीच हालसम्म २१ पटक भिडन्त भएकामा इटाली नौ खेलमा र स्विडेन ६ खेलमा विजयी भएका छन्। यी दुईबीचको ६ खेल भने बराबरीमा सकिएका थिए। स्विडेनले सन् १९९८ यता भएका चार खेलमा इटालीलाई हराउन सकेको छैन।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.