'शिलाजीले सपना पूरा गरिदिनुभयो'
सन् १९८० को कुरा हो। तत्कालीन राजा वीरेन्द्रको जन्मोत्सवका अवसरमा सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्न त्यति बेलाको राष्ट्रिय नाचघरका जीएम नारायणगोपालले हामीलाई काठमाडौं आउन निमन्त्रणा दिनुभएको थियो। १२÷१३ जना कलाकारको टोलीमा दार्जिलिङका चर्चित कलाकार कर्म योञ्जन, पेमा लामा, डेजी बराइली, रिमला मोक्तानलगायत हुनुहुन्थ्यो।
एक दिन भीआईपी सो भएको थियो। त्यति बेला मलाई सम्झना भएअनुसार रेडियो नेपालका तत्कालीन जीएम भोग्यप्रसाद शाह पनि आउनुभएको थियो। उहाँलाई कार्यक्रम मन परेपछि हामी सबै कलाकारले रेडियोमा गीत रेकर्ड गर्ने अवसर पायौं।
हामी सबै कलाकारको गीत रेकर्ड गराउन रेडियोमा दुई दिन छुट्याइएको थियो। तर हामी धेरैजना भएकाले सामान्य अभ्यास गरेर सलल गाउनुपथ्र्यो र एकै टेकमा ओके हुनुपथ्र्यो। शिलाबहादुर मोक्तानको शब्द र संगीतमा मैले ‘कहिलेकाहीँ मलाई पनि हेरिदेऊ है फर्किएर' पहिलोपटक रेडियोमा रेकर्ड गराएर जीवनको सबभन्दा ठूलो सपना पूरा गर्ने मौका पाएको थिएँ।
हुन त सन् १९७७ मै मैले रेडियो खर्साङबाट लोक गीतमा भ्वाइस टेस्ट पास गरेर थुप्रै लोक गीत गाइसकेको थिएँ। तर, आफूलाई नेपाली गीत असाध्यै मन पर्ने र प्रसारण हुने एउटामात्रै माध्यम रेडियो नेपाल भएकाले हामी दार्जिलिङमा धेरै सुन्ने गर्थ्यो।
यहाँसम्म कि म त सुत्दा पनि कानमा रेडियो राखेर सुत्थेँ। यहाँ रेकर्डिङ गराएर दार्जिलिङ फर्किएपछि रेडियोबाट बजेको मेरो पहिलो गीत सुनेर धेरै अग्रजले प्रशंसा गर्नुभएको थियो। त्यसपछि त्यसलाई निरन्तरता दिन पाए हुन्थ्यो भन्ने धोको मनमा जाग्यो।
सन् १९८३ मा शिलाबहादुर मोक्तानजीसँग विवाह गरेर हामी काठमाडौं आयौं। रेडियोमा गीत गाउन पाइन्छ कि भन्ने एउटै लोभले हामी यहाँ आएका थियौं। रेडियोमा हामीले शास्त्रीय संगीतमा भ्वाइस टेस्ट पास गर्यौं र गीत गाउन थाल्यौं। त्यति खेर गीत गाउन डेट दिने ठाउँमा नातिकाजी दाइ हुनुहुन्थ्यो।
उहाँले पनि धेरै डेट दिनुभयो। मैले जति गीत गायो त्यति नै चर्चित हुँदै गयो। शिलाजीको शब्द र संगीतमा मैले धेरै आधुनिक, लोक, पप, भजन र राष्ट्रिय गीत रेकर्ड गराएँ। त्यति बेला डिजिटल प्रविधि थिएन, तर पनि अग्रज कलाकारसँग बसेर लाइभ गीत गाउन पाइन्थ्यो। उहाँहरूसँग एउटै स्टुडियोमा एउटै माइकमा बसेर गाउँदा, महान् कलाकारलाई नजिकबाट देख्न पाइने र उहाँहरूको आशीर्वाद पाउँदाको मज्जा नै बेग्लै हुन्थ्यो।
गीतहरू एकै टेकमा ओके नहुने हुँदा कहिलेकाहीँ स्टुडियोमै तीनचार घन्टा बसेर गर्नुपथ्र्यो। यो स्टामिना त्यति बेलाका कलाकारमा हुन्थ्यो पनि। मैले नेपालका थुप्रै अग्रज कलाकारसँग गीत गाउने अवसर पाएँ। भजनशिरोमणि भक्तराज आचार्यसँग गाएको डुयट गीत पनि एकदम चर्चित भयो।
त्यसैगरी मीरा राणा दिदीसँग गाएको ‘पन्छीमा डाँफे राम्रो' बोलको गीतलाई पनि धेरैले मन पराउनुभयो। प्रकाश श्रेष्ठ, प्रेमध्वज प्रधानलगायतका कलाकारसँग गाउँदाका ती स्वर्णिम पललाई सम्झँदा निकै आनन्द आउँछ।
प्रस्तुति: रामकला खड्का