अपाङ्गता भएकालाई हौसला बढाउँदै राष्ट्रपति (फोटोफिचर)
काठमाडौँ: राष्ट्रपति विद्यादेवी भण्डारीले चौथो राष्ट्रिय अपाङ्गता पौडी प्रतियोगिताको अवलोकन गरेकी छन्।
अपाङ्गमैत्री खेलकुदबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले शुक्रबार आयोजित प्रतियोगिताको अवलोकपछि राष्ट्रपति भण्डारीले विजेतालाई पदक र प्रमाणपत्र वितरण गरिन्।
नेपाल स्पाइनल कर्ड इन्जुरी खेलकुद सङ्घले सातदोबाटोस्थित अन्तर्राष्ट्रिय पौडी पोखरीमा आयोजना गरेको प्रतियोगितामा फरक खालका अपाङ्गता भएका ३५ जनाको सहभागिता थियो।
प्रतियोगितामा पूर्ण दृष्टिविहीन महिला र पुरुष तथा ह्विलचियर प्रयोगकर्ताबीच २५ मिटर दूरीको पौडी स्पर्धा गराइएको हो।
प्रतियोगितामा दृष्टिविहीन महिला पौडीतर्फ ५३ सेकेन्डमा २५ मिटर दूरी पार गर्दै जिमावती लामकोलिया प्रथम भइन् भने आयुषा क्षेत्री द्वितीय र धना दर्लामीले तृतीय स्थान हात परिन्।
पुरुषतर्फ २० मिनेटमा दूरी पार गर्दै राकेश शर्मा प्रथम भए। सुमान घिमिरे द्वितीय र गोकर्ण न्यौपाने तृतीय भए।
त्यसैगरी, ह्विलचियर प्रतियोगितातर्फ ४० सेकेन्डमा दुरी पार गर्दै निर्मला कार्की प्रथम भइन्। त्यस्तै जेनिसा कडायत द्वितीय र रजनी राई तृतीय भइन्।
पुरुषतर्फ २३ सेकेन्डमा दूरी पार गर्दै रमेश खत्री प्रथम भए भने रामबहादुर तामाङ गोले द्वितीय र दीपक तामाङ तृतीय भए।
२०६० मा स्थापना भएको संस्थाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाली खेलाडीले सफलता हासिल गर्न सकेको जनाएको छ।
तस्बिरहरु: रजेन्द्र केसी