'सेयरमा जोखिम बढ्यो'
कठमाडौं : नेपाल धितोपत्र बोर्डले सेयर बजारमा जोखिम बढ्दै गएकाले निकै सजग भएरमात्र लगानी गर्न सर्वसाधारण लगानीकर्तालाई आग्रह गरेको छ।
पछिल्लो समय बिमा कम्पनीको सेयर अकासिएपछि बोर्डले सजग गराएको हो। बिहीबार नेप्से परिसूचक १६३२ अंकमा आइपुगेको छ।
यसअघि पनि दुईपटकसम्म बोर्डले लगानीकर्तालाई सचेत गराइसकेको छ। धितोपत्र बोर्ड पुँजी बजारको नियामक निकाय हो।
आर्थिक वृद्धिदर एक प्रतिशतभन्दा कम छ। दैनिक कारोबार रकम दुई अर्बभन्दा बढी हुँदा लगानीकर्ता आकर्षित हुनेक्रम थप बढेको छ।
कारोबार रकम बढे पनि सबै सूचीकृत कम्पनीको कमाइ अपेक्षाअनुसार बढ्न सकेको छैन।
यस्तो बेला लगानीकर्ताले सेयर किन्दा सतर्क हुनुपर्ने बोर्डको भनाइ छ।
कतिपय कम्पनी र समूहको सेयर भाउ बेस्सरी बढे पनि वाणिज्य बैंकसहित कतिपय समूहका सेयर भाउमा भने खासै बढोत्तरी भएको छैन।