मेरो चीन भ्रमणले देश नयाँ उचाईमाः ओली
काठमाडौः प्रधानमन्त्री केपी शर्मा ओलीले तीन महिना अघि सम्पन्न आफ्नो चीन भ्रमणबाट मुलुककै हैसियत नयाँ उचाईमा पुगेको बताएका छन् ।
नेपाल—चीनबीच कुटनीतिक संबन्ध स्थापनाको ६० बर्ष पुगेको अवसरमा प्रकाशित ‘गतिशील साझेदारीका ६० बर्ष' शीर्षकको पुस्तक शुक्रबार लोकार्पण गर्दै प्रधानमन्त्री ओलीले त्यस्तौ बताएका हुन् ।
‘मेरो चीन भ्रमणबाट दुई देशबीचको संबन्ध त नयाँ उचाईमा पुगेको छ नै । साथै मुलुकको हैसियत समेत नयाँ उचाईमा पुगेको छ,' नेपाल—चीन समाजद्वारा वालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले भने ।
प्रधानमन्त्री ओलीको गत चैत ७ देखि साताब्यापी औपचारिक चीन भ्रमणमा सम्पन्न भएको थियो । भ्रमणका बेला ऐतिहासिक पारवहन सम्झौता लगायत १० बुँदे सम्झौतापत्रमा हस्ताक्षर हुनुका साथै नेपाल—चीन १५ बुँदे संयुक्त वक्तव्य पनि जारी भएको थियो ।
नेपाल र चीनबीच पुरानो निकट छिमेकीको संबन्ध रहेको र आगामी दिनमा संबन्ध अझै प्रगाढ हुँदे जाने विश्वास ओलीको थियो । ‘नेपाल र चीन दुई छिमेकी मित्रबीच कुनै समस्या छैन । हाम्रा मित्रताहरु पारस्परिक लाभका आधारमा भन्दा पनि पारस्परिक सम्मानका आधारमा अघि बढेका छन् भन्दा फरक पर्दैन' ओलीले भने ।
नेपालप्रति चीनले सदैव अत्यन्तै सहयोगी र सम्मान देखाउँदै आएको उनले बताए । सम्मानको हिसाबमा बराबरीको संबन्ध र सहयोगका हिसाबमा चीनले नेपालप्रति सकारात्मक दृष्टिकोण राख्दै आएको ओलीले बताए ।
संबिधान जारी भएपछि नेपाल दु्रत विकासका आफ्ना प्रयासहरु केन्द्रित गरिरहेका कारण छिमेकी मुलुकहरुसंगको संबन्धको यतिबेला खास महत्व रहेको उनले बताए ।
‘त्यसमा पनि नेपाल र चीनबीचको संबन्धको खास महत्व छ यतिबेला । किनकि अब नेपालजस्तो भूपरिबेष्ठित मुलुकले दुनियाँसम्म संबन्ध बढाउन पारवहन र यातायात चीनको बाटो प्रयोग गर्दैछ । यो नयाँ अध्ययाको शुरुवात गरेका छौँ जसले नेपाललाई दुनियाँसम्म संबन्ध बढाउन मद्दत मिल्नेछ' उनले भने ।
कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत ऊ चुन्ताईले प्रधानमन्त्री ओलीको चीन भ्रमणबाट नेपाल र चीनबीचको सम्बन्ध नयाँ युगमा प्रवेश गरेको बताए । ‘प्रधानमन्त्री ओलीजीको ऐतिहासिक र सफल चीन भ्रमणबाट हाम्रो संबन्ध नयाँ युगमा प्रवेश गरिसकेको छ । भ्रमणले क्षेत्रीय शान्ति र स्थिरतमा पनि महत्वपूर्ण सहयोग पुर्याएको छ' उनले भने ।
चिनियाँ नेतृत्वले छिमेकी मुलुकहरुसंगको संबन्धलाई शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्दान्तका आधारमा अघि बढाइरहेको उनले बताए ।
चिनियाँ नेतृत्वले अघि बढाएका ‘वान बेल्ट वान रोड अवधारणा', एसियाली पूर्वाधार लागानी बैंक स्थापना र स्वतन्त्र ब्यापार सम्झौतामा हस्ताक्षर लगायतका नयाँ रणनीतिमा सहकार्य गरेबाट नेपाल जस्ता छिमेकी मुलुकहरुले लाभ लिने उनले बताए ।
‘विश्वको दो श्रो ठूलो अर्थतन्त्रको नाताले हामी हाम्रा छिमेकीहरुको विकास प्रक्रियामा सहयोग पुयाउन चाहन्छौँ' उनले भने ।
उनले चीनले छिमेकीको आन्तरिक मामिलामा कहिल्यै हस्तक्षेप नगरेको तथा पारस्पारिक हित र लाभका आधारमा संबन्ध अघि बढाएको बताए । नेपालले विगतमा चीनको आर्थिक तथा राजनीतिक सुधारको प्रक्रियादेखि कठिन समयमा चीनलाई सहयोग गरेकाले अहिले त्यसको गुण तिर्न चाहेको बताए । ‘नेपालले विगतमा चीनलाई गरेको सहयोगको गुण हामी तिर्न चाहन्छौँ' उनले भने ।
कार्यक्रममा नेपाल—चीन समाजकी अध्यक्ष प्रेम कुमारी पन्तले नेपाल चीन बीचको ६० बर्षको संबन्ध जान्न चाहनेका लागि पुस्तक उपयोगी रहेको बताइन् ।
पुस्तकका लेखक एवं पूर्वराजदूत हिरन्यलाल श्रेष्ठले नेपाल र चीनबीचको सम्पर्क र संबन्ध अझै बढाउन आवश्यक रहेको भन्दै चिनियाँ राष्ट्रपति सि जिनपिङ्को नेपाल भ्रमण चाँडै हुने अपेक्षा गरे ।
परराष्ट्र मामिलाकी जानकार अञ्जान शाक्यले पुस्तकमाथि टिप्पणि गरिन् । सन् १९५५ मा स्थापित नेपाल चीन कुटनीतिक संबन्धको ६० औँ बर्षगाँठका गत बर्ष परेको थियो ।