नक्कली आरोपमा १५ चिकित्सक समातिए

नक्कली आरोपमा १५ चिकित्सक समातिए

वीरगन्ज: नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले शुक्रबार वीरगन्जबाट नौ, विराटनगरबाट तीन र नारायणगढबाट तीन गरी १५ नक्कली चिकित्सकलाई पक्राउ गरेको छ।

चिकित्सकहरू पक्राउ परेको विरोधमा वीरगन्जका सरकारी तथा निजी अस्पतालमा कार्यरत चिकित्सक हडतालमा उत्रिएका छन्।नेपाल चिकित्सक संघ पर्साको आह्वानमा वीरगन्जका सरकारी तथा निजी अस्पताल, नर्सिङ होम र क्लिनिकको सेवा ठप्प पारेर चिकित्सकहरू हडतालमा उत्रिएका हुन्।

चिकित्सकहरू हडतालमा उत्रिएपछि नारायणी उपक्षेत्रीय अस्पताल र नेसनल मेडिकल कलेजको आकस्मिक उपचार कक्षबाहेक अन्य निजी अस्पताल, नर्सिङ होम र क्लिनिकमा बिरामीको उपचार ठप्प भएको छ।

चिकित्सकहरू काम नै ठप्प पारेर हडतालमा उत्रिएका कारण उपचारका लागि अस्पताल र निजी क्लिनिक पुगेका बिरामी र सेवाग्राही अलपत्र परेका छन्।
सीआईबीको टोलीले शुक्रबार बिहान नौ बजेतिर डाक्टरहरूलाई नियन्त्रणमा लिएलगत्तै अस्पताल, नर्सिङ होम र क्लिनिक बन्द गरेर डाक्टरहरू जिल्ला प्रहरी कार्यालय पर्सामा भेला भएका थिए।

सीआईबीको टोलीले पक्राउ परेका डाक्टरहरूलाई शुक्रबार दिउँसो ३ बजेतिर काठमाडौं लगेपछि चिकित्सक र स्वास्थ्यकर्मीले प्रहरी र सीआईबीविरुद्ध नाराबाजी गर्दै प्रदर्शन पनि गरेका थिए।काठमाडौंबाट सीआईबीका डीएसपी फिरोज बस्नेतको नेतृत्वमा आएको टोलीले पर्सा प्रहरीको सहयोगमा नौजना चिकित्सकलाई उनीहरू कार्यरत अस्पताल र क्लिनिकबाटै पक्राउ गरेको हो।

 

एमबीबीएस पढ्दा आईएस्सीको नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको आरोपमा सीआईबीले उनीहरूलाई पक्रेर लगेको जिल्ला प्रहरी कार्यालय पर्सा स्रोतले जनाएको छ। पक्राउ पर्नेहरूमा नारायणी उपक्षेत्रीय अस्पतालमा कार्यरत रौतहट तेजापाकड घर भएका चिकित्सक सरोज सिंह, पर्सा बगही घर भएका चिकित्सक कुशराज गिरी र पर्सा भवानीपुर घर भएका पन्नालाल पटेल, नेसनल मेडिकल कलेज वीरगन्जमा कार्यरत रौतहट तेजापाकड घर भएका डाक्टर मोहम्मद रहुल्ला खान, रौतहट सखुअवा घर भएका डाक्टर निमीषपाल राम, बारा कलैया घर भएका डाक्टर रामकुमार प्रधान, वीरगन्ज छपकैया घर भएका चिकित्सक इ श्रादुल हक तथा वीरगन्ज छपकैया घर भएका डाक्टर दिनेश साह र चिकित्सक अरुणकुमार गुप्ता छन्।

पक्राउ परेका सबै डाक्टरलाई सीआईबीको टोलीले शुक्रबार दिउँसै काठमाडौं लगेको छ।चिकित्सकहरू हडतालमा उत्रेपछि नारायणी उपक्षेत्रीय अस्पतालको मेडिकल बहिरंग (ओपीडी) विभागअगाडि शुक्रबार मध्याह्न १२ बजे उपचार पाउन नसकी अलपत्र भेटिएका पर्सा भौराटारका नन्दु यादवले भने, 'बिहान १० बजेदेखि नै डाक्टरलाई कुरेर बसेको छु। डाक्टर आउनेनआउने अझै अत्तोपत्तो छैन।'

वीरगन्जका अन्य निजी अस्पताल, नर्सिङ होम र क्लिनिकहरूमा पनि चिकित्सक नभेटिएपछि बिरामी उपचारबिनै घर फर्किएका थिए।चिकित्सकहरू पक्राउ परेपछि विभिन्न राजनीतिक दलका नेता र कार्यकर्ता पनि शुक्रबार दिउँसो जिल्ला प्रहरी कार्यालय पर्सामा पुगेका थिए।

काङ्ग्रेस, एमाले, संघीय समाजवादी फोरम नेपाल, राष्ट्रिय मधेस समाजवादी पार्टीका नेता र कार्यकर्ताले पनि जिल्ला प्रहरी कार्यालय परिसरभित्रै प्रहरीविरुद्ध नाराबाजी गर्दै प्रदर्शन गरेका थिए।उनीहरूले अस्पतालको अप्रेसन थियटर, आकस्मिक कक्ष र क्लिनिकमा बिरामीहरूको उपचार गरिरहेकै अवस्थामा चिकित्सकलाई सीआईबीको टोलीले अपहरणकारीको शैलीमा पक्रेर लगेको आरोप लगाएका छन्।

नेपाल चिकित्सक संघ पर्साका निवर्तमान अध्यक्ष डा. रवीन्द्र सिंहले प्रहरीले गुण्डागर्दी शैलीमा चिकित्सकलाई अस्पताल परिसरबाटै पक्रेर लगेकाले विरोध गरिएको बताए।'छानबिनप्रति हाम्रो कुनै आपत्ति छैन तर पक्राउ गर्ने शैली ठीक भएन', उनले भने, 'प्रहरीले किन, केका लागि पक्रेको हो र पक्रेर कहाँ लग्यो भन्नेबारेमा समेत जानकारी दिएको छैन।'

शुक्रबार साँझ वीरगन्जमा बसेको नेपाल चिकित्सक संघ पर्साको आकस्मिक बैठकले सीआईबीको कार्यशैलीको विरोध गर्दै अर्को निर्णय नभएसम्मका लागि चिकित्सकहरू काममा नफर्कने निर्णय गरेको छ।सरकारी र निजी सबै अस्पतालको इमरजेन्सीबाहेक अरू सबै उपचार सेवा ठप्प पार्ने निर्णय भएको छ', संघका निवर्तमान अध्यक्ष सिंहले भने, 'शनिबार बिहान फेरि अर्को बैठक बसेर आन्दोलनका थप कार्यक्रम घोषणा गर्छौं।'

उनले शनिबारदेखि वीरगन्जका औषधि पसल र प्याथोलोजी सेन्टर पनि बन्द हुने सम्भावना रहेको बताए। सीआईबीले डाक्टरहरूलाई पक्राउ गरेकोप्रति राजनीतिक दलका नेताहरूले पनि आपत्ति जनाएका छन्।शुक्रबार दिउँसो जिल्ला प्रहरी कार्यालयमा भेटिएका राष्ट्रिय मधेस समाजवादी पार्टीका केन्द्रीय सदस्य राजेशमान सिंहले भने, 'प्रहरीले छानबिन गर्न पाउनुपर्छ तर पक्राउ गर्ने शैली ठीक भएन। अपराधीलाई गर्ने व्यवहारजस्तै प्रहरीले डाक्टरहरूसँग गर्यो।'

नेपाल मेडिकल काउन्सिलले स्वास्थ्य सेवामा नक्कली चिकित्सक देखिएकाले छानबिनका लागि पत्र नै पठाएपछि सीआईबीको टोलीले देशभरिका सबै चिकित्सकको शैक्षिक प्रमाणपत्र छानबिन कार्य अघि बढाएको वीरगन्जमा आएको सीआईबी टोलीमा सहभागी एक अधिकृतले बताए।नक्कली चिकित्सक पत्ता लगाउन अपरेसन क्वाक नामको छानबिनपक्रिया सुरु भएको र त्यसमा परीक्षा नियन्त्रण कार्यालय, उच्च माध्यमिक शिक्षा परिषद् र प्रहरीको संयुक्त टोलीले काम गरिरहेको सीआईबीले जनाएको छ।

उता विराटनगरस्थित संवाददाताका अनुसार सीआईबी टोलीले विराटनगरबाट लाइफगार्ड अस्पतालका वरिष्ठ फिजिसियन डाक्टर जावेद अन्सारी, वरिष्ठ बालरोग विशेषज्ञ सञ्जयकुमार दास र ट्रमा सेन्टरका महमुद अब्दुल आलमलाई पक्राउ गरेको हो। पक्राउ परेका तीनैजना चिकित्सकलाई काठमाडौं लगिएको छ।

त्यस्तै सीआईबीले चितवनबाट पनि शुक्रबार तीन चिकित्सक पक्राउ गरेको त्यहाँस्थित संवाददाताले जनाएका छन्। पक्राउ पर्नेमा चिकित्सक सुनिल आचार्य, रजनी अग्रवाल र राजन पुरी छन्। चितवन प्रहरीका एसपी वसन्त कुँवरका अनुसार उनीहरूलाई भरतपुरको प्रगति पोलिक्लिनिकबाट सीआईबीको टोलीले समाएको हो। उनीहरूलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ।

चिकित्सकको 'अपहरण'

काठमाडौं: नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा एमबीबीएस पास गरी चिकित्सा सेवामा संलग्न रहेको आरोपमा १५ जना चिकित्सकलाई प्रहरीले पक्राउ गरेको घटनालाई नेपाल चिकित्सक संघले अपहरणको संज्ञा दिएको छ।

सिकिस्त बिरामीलाई हेरिरहेका बेला बिनापक्राउ पुर्जी चिकित्सकलाई पक्राउ गरेपछि संघले तत्कालै विरोध गरेको छ। संघका अध्यक्ष डा. अञ्जनीकुमार झाले सस्तो लोकप्रियता कमाउन चिकित्सकलाई अपहरणशैलीमा पक्राउ गरी हतोत्साहित पारेको अन्नपूर्णसँग बताए।

'नक्कली चिकित्सक भनेर बिरामीको उपचार गराइरहेका चिकित्सकलाई अस्पतालबाटै अपहरणशैलीमा जुन किसिमले पक्राउ गरी लगियो, त्यो लोकतन्त्रको ठाडो उल्लंघन हो', उनले भने, 'हामी यसको शनिबारै आकस्मिक बैठक डाकेर औपचारिक रूपमा विरोध गर्नेछौं।'

नेपाल मेडिकल काउन्सिलका सदस्यसमेत रहेका डा. झाले नक्कली चिकित्सक पक्राउ गर्ने अभियानबारे कुनै जानकारीसमेत नभएको दाबी गरे। 'यो अभियानमा काउन्सिल संस्थागत रूपमा संलग्न भएको मलाई जानकारी छैन', उनले भने।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.