खानेपानीको मुहानबाटै बालुवा निकाल्न ठेक्का

खानेपानीको मुहानबाटै बालुवा निकाल्न ठेक्का

पोखरा: पोखरामा आपूर्ति हुने पानीको मुख्य मुहानबाटै गिट्टी र बालुवा निकाल्न जिल्ला विकास समिति कास्कीले ठेक्का आह्वान गरेको छ।

बिनाप्रशोधन वितरण हुँदै आएको पानीको मुहानलाई धमिलो र अझै दूषित बनाउन सक्ने गरी ठेक्का दिने तयारी भएको हो।गतको जेठ दोस्रो साता जिविसले कास्कीका नदीनालामा ठेक्का आह्वान गरेको थियो। त्यही सूचनामा मर्दी घाटमा पनि ठेक्का आह्वान गरिएको छ।

न्यूनतम ३६ लाख ५० हजार रुपैयाँ तिर्ने गरी जिविसले उक्त ठेक्का सकार्न प्रतिस्पर्धा खुला गरेको छ।खानेपानी संस्थानले पोखरामा आपूर्ति गर्ने पानीमध्ये ९० प्रतिशत मर्दीखोलाबाट ल्याएको छ।

साढे चार करोड लिटर दैनिक पानीमध्ये ९० प्रतिशत मर्दीकै रहेको संस्थानको पोखरा कार्यालय प्रमुख निरण महर्जनले बताए। मर्दीमा बाँध बाँधेर पाइपमार्फत ल्याइएको पानीको मुहाननै खल्बल्याउने गरी ठेक्का आह्वान भएको बारे पोखरेली उपभोक्ता बेखबर छन्।

जिविसले ३५ दिने म्याद राखेर आह्वान गरेको ठेक्का लाग्ने समय बाँकी नै छ। तर ठेक्का लाग्नुअघि उक्त घाटबारे सोचनुपर्ने बताउँछन् मर्दीखोला किनारको गाउँ ल्वाङघलेलका अगुवा राम गुरुङ। भन्छन्, 'यसबारेमा पानीका उपभोक्ताले चासो दिनुपर्ने हो, उनीहरूले जानकारी नै पाएका छैनन्।' पानीको मुहान खतरामा पार्न खोजिएको गुरुङले बताए। ठेक्का लागिसकेपछि भन्दा अहिले नै समस्या सुल्झाउनुपर्ने उनको सुझाब छ।

 

संस्थान प्रमुख महर्जनका अनुसार मर्दीको पानीका उपभोक्ता तीन लाखभन्दा बढी पोखरेली हुन्। 'त्यसैले हामी चिन्तित छौं', उनले भने, 'त्यसरी ठेक्का नदिनोस् भनेर जिविसमा भनेका पनि छौं।' पानी धमिलो नहुने गरी गिट्टी बालुवा उत्खनन हुने आश्वासन पाएको उनले सुनाए।

कास्कीका स्थानीय विकास अधिकारी दामोदर भण्डारीले पानीको मुहानभन्दा पाँच सय मिटरमाथिबाट मात्रै उत्खनन हुने गरी ठेक्का दिन लागेको बताए। 'खोलामै गाडी हिँड्न नदिने सर्त राख्ने हो', उनले भने, 'वारिपारि दुवैतिरबाट गाडीले ओसारे पनि खोला धमिल्याउन दिइन्न।'

अनुगमनका लागि छुट्टै समिति बनाएर कडा निगरानी गरिने पनि उनले सुनाए। तर जिविसले दिएका अधिकांश ठेक्कापछि अनुगमन भएको रेकर्ड नभएको हुँदा उनका कुरा पत्याउन सकिने आधार भने छैन।

यसअघि पानीको मुहानभन्दा केही तल दिइएको ठेक्काबाट संस्थानले समस्या बेहोरिसकेको छ। पानीका पाइप अड्याउन तारजाली भरेर लगाएको गारो पनि ढुंगाबालुवा ठेकेदारले ध्वस्त पारेको अनुभव संस्थानसँग छ। महर्जन भन्छन्, 'हामीले जाली भरेका ढुंगा त जाली नै काटेर लगेका थिए भने अब कसरी मुहानलाई खतरा पुग्दैन भनेर विश्वास गर्ने ? '

जाली भरेका ढुंगा निकालेर पाइप भाँचिने खतरा ननिम्त्याउन ठेकेदारसँग आग्रह गर्दा पनि समस्या नघटेको उनले सुनाए। 'ठेकेदारलाई भन्यो भने कामदारलाई भनेका छौं भन्थे तर ढुंगा निकालियो र पाइपलाई खतरामा पारियो।' झन् यसपालि त पानीकै मुहानबाट उत्खनन हुने हुँदा खतरा बढ्ने उनले बताए।

'मुहानभन्दा २÷३ किलोमिटरमाथि उत्खनन् गरिए पानी सङ्लिएर आउँथ्यो', उनले भने, 'मुहाननजिकै निकालेपछि समस्या आउने छ।' त्यसरी उत्खनन गर्दा सारा पोखरेलीको स्वास्थ्यमा एकैपटक गम्भीर प्रभाव पर्नसक्ने खतरा उनले औंल्याए।

एलडीओ भण्डारी भने वातावरण प्रभाव मूल्यांकन गर्दा खासै फरक नपर्ने देखिएकैले ठेक्का आह्वान गरेको बताउँछन्। उनले समस्या देखिए ठेक्का बीचमा तोड्न सकिने पनि बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.