कुल्लीदेखि स्वर्णसम्मको यात्रा
'ढुंगाको काप फोडेर पनि उम्रन्छ पीपल' भन्ने भनाइ सिन्धुलीका गोपीलाल बम्जनको जीवनमा चरितार्थ भएको छ। सिन्धुरीको कमलामाई नगरपालिका-३ का स्थायी बासिन्दा बम्जनको बाल्यकाल अभाव र तनावले गुज्रिएको थियो।
बिहान बेलुकाको गाँस टार्नै मुस्किल पर्ने उनको परिवारमा पढाइ भन्ने विषय त धेरै परको थियो। 'मैले धेरै दुःखका साथ घरछेउकै स्कुलका कक्षा ९ सम्म पढेँ।
सानोमा हाम्रो परिवारमा खान लाउन धेरै दुःख थियो। साधारण किसानको परिवार हामीलाई हातमुख जोड्न मुस्किल पथ्र्यो। मेरा बाबाले हामीलाई खुवाउन गाउँकै साहूसँग ऋण लिनुभएको रहेछ। हामीलाई खुवाउन र पढाउन लिएको ऋण तिर्न नसक्दा बाबालाई ती साहूले एक दिन घरमै आएर बेस्सरी हकारे।
त्यो देखेपछि मैले पढाइ छाड्ने निर्णय गरेँ। के नै पढ्न सकियो र। बाबालाई हकारेको देखेपछि चित्त दुख्यो, अनि पढाइ छाडेर काठमाडौं खाल्टोमा झरेँ', आठौं दक्षिण एसियाली खेलकुद (साफ) को कराँतेका स्वर्णधारी बम्जनले आफ्नो विगतको पोको खोले।
सानोमा कमलामाईमा ठूला दाजुहरूले कराँतेका हुस गरेको देख्दा उनी पनि लोभिएका थिए। सिन्धुलीकै कुनाकाप्चामा सिकेको कराँतेको हुसको भूतले उनलाई काठमाडौंमा कुल्ली काम गर्दै गर्दा पनि उत्तिकै सताएछ।
भक्तपुरको सूर्यविनायकमा कुल्ली काममा तत्लीन बम्जनले सुरुमा कुल्ली कामबाट कमाएको पैसाले गी (कराँते पोसाक) किने। त्यसपछि सूर्यविनायकस्थित तत्कालीन भक्तपुर कराँते डोजोमा कराँते सिक्न थाले। २०४६÷४७ सालतिरको कुरा हो, बम्जन दिनभर कुल्ली काम गर्थे र बिहान बेलुका डोजोमा जान्थे।
डोजोमा खेले पनि काम पाउँदा जताततै पुग्नुपर्ने उनको बाध्यता थियो। कामका लागि त्यही बेला इलाममा बाटो खन्न र लमजुङको नहर बनाउन उनी पुगेका छन्।
'कुल्ली काम र कराँतेलाई सँगै लानु मेरो सोख र बाध्यता दुवै थियो। भक्तपुरमा खेल्दै थिए। २०५१ सालमा नेपाली सेनामा भर्ती खुल्यो। भाग्यले म आर्मी भएँ। आर्मी बनेको पहिलो दिन संसारै जितेजस्तो लाग्यो', बम्जनले भने।
आर्मीमा भर्ती भएको दुई वर्ष भएको थियो। कराँतेका खेलाडी उनी नाच्नमा पनि माहिर थिए। त्रिभुवन आर्मी क्लबमा खेलाडीसँगै उनले तेक्वान्दोको स्पाइरिङको अभ्यास पनि गर्न पाए। उनको नाच र स्पाइरिङ कलाबाट तत्कालीन वीरदल गुल्मका गुल्मपति माणिककुमार लामा प्रभावित भए।
'यो फुच्चे केटोले केही गर्छ भनेर गुल्मपतिले मलाई खेलमा लाग्न आग्रह गर्नुभयो। २०५४ सालमा उपत्यकाव्यापी कराँते प्रतियोगिता भएको थियो। उनले त्यही बेला कराँतेको पहिलो औपचारिक प्रतियोगितामा सहभागिताको मौका पाए। त्यति बेला स्वर्ण जितेपछि खेलमा लाग्न थप जाँगर आयो', बम्जन भन्छन्।
उनको त्यो प्रदर्शनले कराँतेका प्रशिक्षकको समेत मन जितेछ। त्यसपछि काठमाडौंमा सन् १९९९ मा सम्पन्न आठौं दक्षिण एसियाली खेलकुद (साग)मा काँतातर्फ प्रतिस्पर्धा गरेका उनले सोझै स्वर्ण जिते। उनले पहिलो अन्तर्राष्ट्रिय सहभागितामै स्वर्ण जितेपछि आर्मीको सिपाहीबाट एक तह बढुवा हुँदै लेसनायक भए भने तत्काल गुल्मले पनि एक तह बढुवा गरेर नायक बनायो।
आर्मीमा भर्ती भएको दुई वर्ष भएको थियो। कराँतेका खेलाडी उनी नाच्नमा पनि माहिर थिए। त्रिभुवन आर्मी क्लबमा खेलाडीसँगै उनले तेक्वान्दोको स्पाइरिङको अभ्यास पनि गर्न पाए।
त्यतिमात्र कहाँ हो र, सागका स्वर्ण विजेतालाई तत्कालीन राजा वीरेन्द्र शाहको हातबाट सुप्रबल गोरखा दक्षिण बाहु पदक थापेपछि बम्जनलाई विश्व नै जितेको महसुस भएछ। सागमा स्वर्ण जितेपछि उनको नाम सबैतिर फैलियो। आर्मीमा एकैपटक दोहोरो बढुवा र शान्तिसेनामा समेत जाने अवसर पाए। शान्तिसेनाबाट फर्किएपछि पनि उनले कराँतेलाई निरन्तरता दिए।
पाकिस्तानमा भएको नवौं सागमा पनि सहभागिताको मौका पाएका उनले कांस्यमा चित्त बुझाए। धनगढीमा भएको छैटौं राष्ट्रिय खेलकुद प्रतियोगितामा स्वर्ण जितेका उनले व्यक्तिगत रूपमा कराँते खेले पनि प्रतियोगिता भने छाडेका छन्।
'खेलेर नाम त कमाएँ तर नामअनुसार दाम नहुँदा गाउँमा अप्ठ्यारो हुने रहेछ। गेम खेलेर नाम कमाए पनि बूढीलाई फरिया किन्न गाह्रो। पैसा नभएपछि घरपरिवार र छिमेकले राम्रो नमान्ने। मैले तत्काल आर्मीको जागिर छाड्ने निर्णय लिएँ', उनले भने।
कराँतेमा वाहवाही भएका बम्जन आर्मीको जागिर र खेल छाडेर वैदेशिक रोजगारका लागि इराक गए। इराक आफैंमा खतरा थियो। नेटो सेनाको कार्यालयमा सुरक्षा गार्डका रूपमा काम गर्दा उनको मनमा दिनहँ दुईवटा तर्कना खेल्यो।
उनी दिनहँ सोच्थे रे-कि हड्डीको थुप्रो, कि त पैसा। १५ महिना काम गरेपछि उनले १०÷१२ लाख रुपैयाँ कमाए। त्यसबाट सिन्धुलीका एउटा घर बनाएपछि बल्ल उनलाई परिवार र छिमेकले पनि राम्रो मान्यो।
'पैसा भए पनि बच्चादेखि लागेको बानीले सताउने रहेछ। सानोमा सिकेको कराँते र सागमा जितेको स्वर्णले मेरो मन तलबलाउन थाल्यो। 'अहिले सिन्धुलीमै कमलामाई कराँते डोजो खोलेर साना बालबालिकालाई कराँते सिकाउँदैछु', बम्जन भन्छन्।
उनको डोजोमा अहिले दैनिक ६० जना खेलाडीले प्रशिक्षण लिन्छन्। हालसम्म एक हजारभन्दा बढीलाई कराँतेको प्रशिक्षण गराएका बम्जनको चारजना छोराछोरी छन्। उनको जेठो छोरा र जेठी छेरीले समेत कराँतेको ब्ल्याक बेल्ट लिइसकेका छन्। कान्छो छोरो पनि ब्राउन बेल्टका हुन्।
उनको कराँते प्रशिक्षण कला देखेर अहिले सिन्धुलीका धेरै युवकयुवतीलाई उनको डोजोले आकर्षित गरेको छ। एक वर्षअघि राष्ट्रिय खेलकुद परिषद् (राखेप)अन्तर्गत ज्यालादारी कराँते प्रशिक्षकमा नियुक्त भएका बम्जनको करार म्याद फेरि थपिएको छ।
'जिन्दगीको धेरै समय कराँतेमा लगाइयो। आफूले धोको मारेर खेल्न नपाए पनि भविष्यमा राम्रा खेलाडी उत्पादन गरेर देशको नाम राख्ने धोको छ', उनले आफ्नो भावी योजना सुनाए।