सधैं उदास देखिने त्यो अनुहार
'जीवन कुनै समस्या होइन, समाधान गर्नको लागि यो त अनुभव गर्नैपर्ने यथार्थ हो।' कतै पढेको सम्झन्छु कुनै दार्शनिकलाई। तर, त्यो सधैंभरि उदास देखिने आइमाईले यो कुरा पढेकी छैन होली। त्यसलाई सुनाइदिँदा के पो भन्ली ? यस्ता दार्शनिक कुराले उसको जीवनमा कति अर्थ राख्ला?
यदि साँच्चै सुनेर बुझी भने उसले जीवनलाई यथार्थ मानेर अनुभव गर्ली या समस्या ठानेर समाधान गर्दागर्दै एक दिन एउटा लामो सुस्केरा हालेर जीवन समाप्त पारिदेली ? त्यो उदासीको हदसम्म उदास किन देखिन्छे सधैंभरि ? कि यो उदासी नै उसले अनुभव गरिरहेको जीवनको यथार्थ हो?
या जीवनको यथार्थभन्दा कोसौं टाढा जीवनलाई समस्या मानेर बाँचिरहेकी छे ? जीवन के हो ? तत्व के हो जीवन निर्माण गर्ने ? सबै मानिस एउटै तत्वले निर्मित छन् या फरक तत्वहरूले ? शुक्रकीट र ओभाको फ्युजन त एउटा प्रक्रिया हो उत्पादनको तर तत्वहरू के छन् जीवन निर्माण गर्ने ?
उदासी, दुःख, पीडा, खुसी, सुख, हाँसो, रुवाइ, आँसु कसरी थपिन्छन् ? सधैंभरि क्षितिज हेर्दै त्यसलाई टोलाइबसेको देखेर सोच्न मन लाग्छ। मानिस बाँचिरहेको यो निरपेक्ष प्रक्रिया हो या यो मृत्युको प्रतीक्षा हो। संघर्ष केका लागि ? जीवनको लागि वा मृत्युको लागि ?
यहाँ मानिसलाई रात पनि प्रिय लाग्छ तर त्यसलाई किन केही प्रिय लाग्दैन ? के उसको मनमा कुनै भावना छैन ? प्रेम, माया, दया वा घृणाजन्य भावना छैन ? त्यो एउटी आइमाई हो। हुनुपर्ने प्रेम हो उसको छातीमा। लोग्ने छ, दुई छोराहरू छन्, उसको शरीरमा पनि स्त्री अंगहरू छन्।
उसमा पनि स्त्रीयोचित गुणहरू छन्। तर उसको अनुहारमा किन कुनै भाव देखिँदैन ? किन त्यो अनुहार निरपेक्ष भावमा टोलाइबस्छ ? उसको छातीबाट जीवनधारा बग्छ। होइन भने जीवनको प्रयोजन सकिएको हुनुपर्छ र प्रयोजन सकिएपछिको शून्य अवस्था हुनुपर्छ उसको निरपेक्ष श्यामश्वेत अनुहार जसमा माया, प्रेम वा अन्य मानवीय भावना फुल्दैन। पुरानो घरको दैलोको ठेलामा बसेर उसले टोलाएको देख्दा दिन र रातमा कहाँनेर भेद हुन्छ जान्न मन लाग्छ।
जीवन र जीवनविहीन निरसताको सीमारेखा कहाँनेर छ भनेर खुट्याउन मन हुन्छ।सबै शुक्रकीट र ओभाको फ्युजनबाट उस्तै जीवन निर्मित हुन्छ भने त्यो आइमाईको छातीमा पनि प्रेम थियो होला। उसले पनि सपना देखेकी थिई होली। उसले पनि कसैलाई कल्पना गरेकी थिई होली।
कुनै दिन उसले सुनाएकी थिई उसमा पनि चञ्चलता थियो, ऊ पनि उत्ताउलिएकी थिई, उसलाई पनि काउकुती लागेको थियो। उसको ओठमा पनि मुस्कान थियो। उसको छातीमा पनि उच्छवास थियो। उसका आँखामा पनि सपना थिए। उसले पनि सिउरेकी थिई फूल आमाले बाटिदिएको चुल्ठोमा।
उसले पनि गाँठो पारेकी थिई बाउले किनिदिएको चोलीमा कसैको प्रेमपत्र। उसले पनि पढेकी थिई केही हरफ जीवनका कविताहरू। उसले पनि खिपेकी थिई केही अक्षरहरू हृदयको काँचो कागजमा। उसले पनि राखेकी थिई कितावमा मुजुरको प्वाँख। कोरेकी थिई चित्रहरू।
'जीवनका चित्रहरूमा पोतेका रङहरू पानीरङ रैछन्। सबै उडिगए। पखालिएर गए मेरै आँसुको सिमसिमे झरीमा।' उसको नोस्टाल्जिक सिम्फोनीमा एकदिन भावुक बनेको थिएँ।
उसको लोग्नेले प्राण धन्नको लागि मासु पसल खोलेको थियो र वंश धान्नको लागि दुई थान छोरा उत्पादन गरेको थियो। ती दुई थान प्राणी उत्पादन गर्दा उसमा भने आनन्दको लेस पनि थिएन भन्थी। ती प्राणीहरूको उत्पादनमा उसले आफ्नो जीवनको लागि कुनै कविताको हरफ रचिन।
उसको लोग्ने उसका बाबु-आमाको सपना हो। स्वर्गको ढोकाको साँचो थियो त्यो लोग्नेमानिस उसका बाबु-आमाको लागि। त्यो स्वर्गमा ऊ आफैं भने बर्जित थिई। उसले एकपटक भनेकी थिई- 'मेरो जीवन नर्कको अंश हो। म आफ्नै चिहानमाथि भड्किरकेको एउटा आत्मा हुँ।'
म आफ्नै लागि दोस्रो मृत्युको पर्खाइमा छु।' लोग्नेसँग शरीरको मात्र सम्बन्ध छ। ऊ बुझ्दिन उनीहरू खुसी छन् या दुःखी ? सुख र दुःखको बीचमा कहाँनेर रेखा कोरिएको छ उसले पत्ता लगाउन सकेकी छैन। यसबारेमा घोत्लिन चाहन्न। त्यो मधुरो रेखा उहिले मेटिइसकेको छ।
ऊसले केही वर्ष लोग्नेको सानो होटेलमा भाँडा माझी। रक्सी बेची। जति रक्सी बेच्दै गई त्यति नै जीवनप्रतिको उसको प्रेम पग्लँदै गयो। लोग्नेले उसको लागि काम निर्धारण गरिदियो। ऊ सम्झौता गर्दै गई, मन मार्दै गई।
पछि लोग्नेले मासु पसल राखिदियो। ऊ विरलै आउने ग्राहकलाई मासु काटेर बेच्थी। उसको लोग्नेले सोचेको थियो, सहरमा मासु राम्रै बिक्छ। बिक्नुको अर्थ थियो उनीहरूले पैसा कमाउनेछन्। घर बनाउनेछन् सहरमा। जीवनलाई सुखमय बनाउनेछन्। त्यस्तो त भएन।
उसले मासु काटेको असुहाउँदिलो देखिन्थ्यो। तर उसले त्यही काम गरी। उसँग छनोटको सुविधा थिएन। मासु काटेको छ्याक्छ्याक् आवाज उसलाई साह्रै कर्कश, खस्रो र रुखो लाग्थ्यो तर उसले त्यही आवाजमा आफ्ना जीवनका रागहरू गाइरहनु पर्यो। भद्दा लाग्छ उसलाई आफ्नै जीवनको राग।
ऊ मोजार्ट बन्न सक्दिन तिनलाई तुरुन्तै फेर्नलाई। उसका लागि त्यो नै उपलब्ध एकमात्र राग थियो।ऊ धेरैजसो दैलोको ठेलोमा बसेकी देखिन्छे। तर ऊ बाटोमा हिँडिरहेका मानिसहरूप्रति ध्यान दिन्न। डराउँछे मरेका रहरहरूले ब्युँतेर क्षतिपूर्ति माग्नेछन्।
उसका मरेका सपनाहरूले उसको छातीमा कोर्रा बजार्नेछन्। उसको छातीभित्र अनेकन् दुःख, पीडाहरू थुनिएका छन्। छाती गान्निएको छ। उसको छातीमा छोरो र लोग्ने दुवैले खेल्छन् तर खेलमा ऊ आनन्द अनुभूति गर्न सक्दिन। ऊ सक्दिन आफ्नो विगतलाई एउटा फिक्का हाँसोमा उडाइदिन न सक्छे त्यो विगतको कसैसँग क्षतिपूर्तिको दाबी गर्न। सुल्झिँदैन जीवनको जेलिएको गाँठो।
यो संसारको सबैभन्दा बिकाउ वस्तुको नाम हो-आइमाई। आइमाईको हाँसो बिक्छ। आँसु बिक्छ। मासु बिक्छ। रङ बिक्छ। आइमाईको आफ्नो उडान हुँदैन। एउटा पुरुषको वीर्यबाट ऊ जन्मन्छे र अर्को पुरुषको वीर्यबाट सिञ्चित हुन्छे।
ऊ भन्छे- 'जीवन त माकुराको जालोजस्तै जेलिएको छ।' तर उसलाई थाहा छैन ऊ त्यो जालोमा माकुराको नियति बाँचिरहेकी छे या त्यसमा अल्झिन आउने कीराको। बुझेकी छे दुवै अवस्थामा उसको जीवनको नियति एउटै हो। त्यही जालोमै जेलिइरहनुपर्ने। उसलाई त्यो जालोमा कसले अल्झाइदियो ? त्यो मानिस जसलाई उसको लोग्ने भनेर चिनाइएको छ के त्यही हो माकुरो ?
हरक्षण मुखबाट धुवाँ फुक्छ लोग्ने त्यसमाथि रक्सी अनि एन्टिक पुरुष गन्ध। उसमा इन्कार गर्ने ताकत छैन। प्रत्येक रात लोग्ने उसको शरीरमा स्खलित हुने चेष्टा गर्छ तर छिट्टै थाक्छ र आँखा चिम्लिन्छ। त्यसपछिको बाँकी रात ऊ एक्लै काट्छे। बेलाबेला छोराको रुवाई अनि उस्तै स्तब्धता।
छोराको गुहुमुतको गन्ध, लोग्नेको मुखबाट निस्केको रक्सीको गन्ध प्लस पुरुष गन्ध, काँचो मासुको गन्ध, छिँडीको ओसको गन्धको अनौठो मि श्रण। उसलाई वाकवाकी लाग्छ। 'यस्तो जीवनभन्दा त प्रयोगशालाको गिनी पिग बन्नु ठीक होइन ? ' उसको प्रश्नले भाउन्न हुन्छ। निरुत्तर अर्कोतिर फर्कन्छु।
छोराको हात समातेर स्कुलसम्म पुर्याउँछे। जाँदा आउँदा बाटोमा के सोच्छे त्यसले ? सारा क्रियाहरू ऊ यन्त्रवत् गरिबस्छे। ती त्यसका शरीरमा भएका अंगहरू हुन् कि यन्त्रका पार्टपुर्जाहरू ? ती त्यसका इन्द्रियहरू हुन् या औजारहरू ? यति धेरै निरपेक्ष जीवन ?
घाम, पानी, बतास, बादल, वसन्त, शरद, झरी, ठिही, माया, करुणा, या लोभ केहीले पनि किन छुँदैन उसलाई ? किन यति रुखो भएकी त्यो ? लोग्नेमानिसको आँखाबाट मैले त्यसलाई चिन्न वा बुझ्न सकुँला के ?
सबै सम्बन्धहरूमा आर्थिक कारण प्रधान हुन्छ भन्ने कुरा उसलाई हेक्का छ कि छैन होला ? सोध्छु एकदिन। भन्छे- ' श्रम शिविरमा राखिएकी एउटी बँधुवा मजदुरभन्दा फरक छैन मेरो जीवन। त्यति गरेबापत मैले तर ज्यालाको अपेक्षा गर्न पाउँदिन।
त्यो गर्ने हक आइमाईलाई छैन।' टाउको रन्थनिन्छ। साँच्चै त्यो आइमाईको जीवन एउटा बधुँवा मजदुरको जस्तो मात्रै हो ? कि उसले सुख खोज्न नजानेकी हो ? खुसी हुन जान्नु कलाकारिता हो।
'यो तिम्रो आफ्नै कमजोरी हो' भनेँ उसलाई। उसमा कुनै भाव देखिएन प्रतिक्रियाको। उसले निरपेक्ष भावमा भनी- 'मेरो लोग्ने पनि मेरो बारेमा यस्तै सोच्छ तर म खुसी हुन्छु भनेर डराउँछ। ऊ डराउँछ उसको अनुपस्थितिमा मैले आफ्नो खुसीको लागि केही गरिहाल्छु कि भनेर।'
मासु पसल चलेन। लोग्ने गलत थियो। सहरमा सबैभन्दा बढी त मासु नै बिक्छ भन्थ्यो तर बिकेन। पसल बन्द गरिदियो। त्यो आइमाईको उदास र दुःखी अनुहार देख्नु परेन। तर त्यो एकतमासको कान्तिविहीन, मलिन, दुःखी अनुहार मनबाट हटेन। आजभोलि उसको पसल छैन।
अब ऊ बेच्ने धन्दामा छैन। त्यो मूलसडकको छेउमा दैलोको ठेलोमा बसेर आकाश हेर्दै टोलाउनु पर्दैन उसले। छिँडीको ओसिलो कोठा छ तिनीहरूको। कोठामा घडीको समय पर्खिबस्छे र समयसँगै अन्य यन्त्रवत् क्रियाहरू।
छोरो आउने जाने समय, लोग्ने आउने जाने समय, उनीहरूले उसको शरीरसँग खेल्ने समय, घाम उदाउने समय, घाम डुब्ने समय आदि। उसको उदासी उस्तै छ। उसको दुःख उस्तै छ। उसको मनको विज्ञान उस्तै छ। कसैले उसलाई सोध्दैन। सायद फुर्सद पनि छैन।
सहरमा जीवन फुर्सद लिएर बाँच्नै सक्दैन।आजभोलि त्यो आइमाई कोठाको सानो झ्यालबाट हेरिबस्छे। एक टुक्रा आकाश त यहाँबाट पनि देखिन्छ भन्छे। दुःखको रङ र आकाशको रङ उस्तै छ भन्छे। एकदिन उसलाई सोधेको थिएँ उसलाई कुन रङ मन पर्छ भनेर।
भनेकी थिई- 'मृत्युको रङ कुन हो मलाई त्यही रङ मन पर्छ। तिमीलाई थाहा छ मृत्युको रङ कस्तो हुन्छ ? 'उसँगको अन्तिम भेटमा उसले भनेकी थिई। 'यो संसारको सबैभन्दा बिकाउ वस्तुको नाम हो- आइमाई।
आइमाईको हाँसो बिक्छ। आँसु बिक्छ। मासु बिक्छ। रङ बिक्छ। उसको आफ्नो भन्ने चीज केही हुन्न। सपना, रहर, चाहना भन्ने शब्दले आइमाईको लागि कुनै अर्थ बोक्दैनन्। आइमाईको आफ्नो उडान हुँदैन।
एउटा पुरुषको वीर्यबाट जन्मन्छे र अर्को पुरुषको वीर्यबाट सिञ्चित हुन्छे। सबै अंगहरूलाई फलामे साङ्लाले बाँधेर छोडिएको एउटा निरीह प्राणी हो आइमाई। त्यही बन्धनलाई जीवन भन्छ लोग्नेमानिस।'
त्यसपछिको स्तब्धता र निरबतामा उदासीले नृत्य गरिरह्यो। दुःखहरूको अर्केस्ट्रा बज्न थाल्यो ऊ जीवनको उही पुरानो राग गाउन थाली। म त्यसको अर्केष्ट्राको धुनले मरेतुल्य भएको छु। एउटा प्रश्नले मन हुँडलेको छ। अरू कति दुःख र कष्ट बाँचेपछि आइमाईले मान्छे हुन पाउँछन् ?