एमाले अब चुनाव केन्द्रित

एमाले अब चुनाव केन्द्रित

काठमाडौं: डेढ वर्षभित्र स्थानीय, प्रदेश र केन्द्रीय गरी तीनवटै तहको निर्वाचन गर्ने सरकारी कार्ययोजनाको समर्थन गर्दै सत्ताको नेतृत्व गरिरहेको एमालेले आफ्ना सबै गतिविधि अब चुनाव केन्द्रित बनाउने निर्णय गरेको छ।

एमाले स्थायी समितिको शनिबार बसेको बैठकले पार्टीका गतिविधि चुनाव केन्द्रित गर्ने निर्णय गर्दै संविधान कार्यान्वयनमा जोड दिने निर्णय गरेको हो।'तीनवटै तहको निर्वाचनसहित संविधान कार्यान्वयनका लागि सरकारले पारित गरेको विस्तृत कार्ययोजनाको समर्थन गर्दै पार्टीका सबै गतिविधि चुनाव केन्द्रित बनाउने निर्णय भएको छ,' प्रचार विभाग प्रमुख योगेश भट्टराईले अन्नपूर्णसँग भने,'संविधान कार्यान्वयनमा सबै दल एकताबद्ध भएर लाग्ने विश्वास लिएका छौ।'

सरकारले आगामी मंसिरमा स्थानीय तह, आउँदो जेठमा प्रदेशसभा र ०७४ मंसिरमा केन्द्रीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा) को निर्वाचन गर्ने भन्दै संविधान कार्यान्वयनको विस्तृत योजना पारित गरी संसद्मा पेस गर्दैछ।सत्तासीन एमाओवादी, प्रमुख विपक्षी कांग्रेस र मधेस केन्द्रित दलले भने मंसिरमा गर्ने भनिएको स्थानीय तहको निर्वाचनको विरोध गर्दै आएका छन्।

भदौभित्र स्थानीय निकायको पुनर्संरचना आयोगको प्रतिवेदन सार्वजनिक गर्न लगाएर मंसिरमा स्थानीय निर्वाचन गराउने तयारीमा सरकार लागेको छ। एमालेले मंसिरमा अन्तरिम नभई स्थानीय तहकै निर्वाचन गराउने तयारीमा सिंगो पार्टी कमिटी परिचालन गर्ने र त्यसको वातावरणमा लाग्ने निर्णय गरेको प्रचार विभाग प्रमुख भट्टराईले जानकारी दिए।

 

चुनाव केन्द्रित गतिविधि गर्न, सरकारको नीति तथा कार्यक्रम र बजेटका विषयमा एमालेले जनतालाई जानकारी गराउन असार १८ गते सात प्रदेशमा सातवटा ठूला सभा गर्ने निर्णय गरेको छ। प्रचार विभाग प्रमुख भट्टराईका अनुसार प्रदेशस्तरीय सभालाई पार्टीका शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ।
जसअनुसार एक नम्बर प्रदेशमा वरिष्ठ नेता झलनाथ खनाल, २ नम्बर प्रदेशमा वरिष्ठ नेता माधव नेपाल, ३ नम्बर प्रदेशमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ।

यस्तै ४ नम्बर प्रदेशमा उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, ५ नम्बर प्रदेशमा उपाध्यक्ष वामदेव गौतम, ६ नम्बर प्रदेशमा उपाध्यक्ष युवराज ज्ञवाली र सात नम्बर प्रदेशसभालाई उपाध्यक्ष भीम रावलले सम्बोधन गर्ने कार्यक्रम तय गरिएको प्रचार विभाग प्रमुख भट्टराईले जानकारी दिए।

यस्तै निर्वाचनको तयारी र एमाले नेतृत्वको सरकारले गरेका कामकारबाहीबारे असार २२ देखि २९ गतेसम्म पार्टीका सबै जिल्ला कमिटीलाई जिल्लास्तरीय सभा गर्न स्थायी समितिले निर्देशन दिएको छ।

एमालेले संघीयताअनुसार पार्टीका प्रदेश कमिटी बनाएर प्रदेशको निर्वाचन र संरचना निर्माणको वातावरण बनाउन पार्टीलाई क्रियाशील बनाउने तयारी गरिरहेको भट्टराईले बताए। केही दिनभित्रै प्रदेश कमिटीको संरचनाबारे निर्णयमा पुग्ने तयारी भइरहेको उल्लेख गर्दै भट्टराईले त्यसपछि प्रदेश संरचनामा केन्द्रित भएर प्रदेश निर्वाचनको वातावरण बनाउने काम एमालेले गर्ने बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.