मेक्सिकोको पोस्ट्मा चिलीको सात गोल
काठमाडौंः कोपा अमेरिका फुटबल प्रतियोगिता अन्तरगत आज बिहान भएको खेलमा साविक विजेता चिलीले मेक्सिकोमाथि गोलवर्षा गरेको छ ।
सेमिफाइनलका लागि भएको भिडन्तमा चिलीका लागि एड्युवार्डो भार्गस एक्लैले ह्याट्रिकसहित चार गोल गरे ।
एड्सन पुचको गोलमा १६ औं मिनेटमा अग्रता लिएको चिलीले पहिलो हाफमा दुई गोल गर्न सफल भयो ।
पहिलो हाफको ४४ औं मिनेटमा एलेक्सिस सान्चेजको पासमा एड्युआर्डो भार्गसले अग्रता दोब्बर बनाउन सफल भए ।
पहिलो हाफमा दुई गोल गरेको चिलीले दोस्रो हाफमा अरु पाँच गोल गर्यो । उसका लागि खेलको ४९ औं मिनेटमा अट्र्युरो भिदालको पासमा सान्चेजले गोल गर्दै अग्रता तेब्बर बनाए ।
तीन गोलको अग्रता लिएको अवस्थामा चिलीका लागि पहिलो गोल गरेका भार्गसले खेलको ५२ औं मिनेटमा गोल गर्दै अग्रता ४–० मा पुर्याए ।
उनी त्यतिमै रोकिनेवाला थिएनन् । खेलको ५७ औं मिनेटमा भार्गसले व्यक्तिगत प्रयासमा अर्को गोल गर्दै ह्याट्रिक पुरा गरे भने चिलीले ५–० को अग्रता लियो ।
पाँच गोल खाइसकेको अवस्थामा तितरबितर भइसकेको मेक्सिकोमाथि फेरि भार्गसले गोलको पींडा थपिदिए । उनले खेलको ७४ औं मिनेटमा गोल गर्दै चिलीलाई ६–० को अग्रता दिलाए ।
चिली त्यतिमै रोकिएन । दुई देशबीचको खेल प्रतिस्पर्धात्मक हुने विश्लेषकहरुको अनुमानलाई गलत सावित गरेको चिलीका लागि ८७ औं मिनेटमा एड्सन पुचले अर्को गोल थप्दै चिलीलाई ७–० को फराकिलो जित दिलाए ।
मेक्सिकोलाई स्तब्ध बनाउँदै सेमिफाइनलमा पुगेको चिलीको भिडन्त अब कोलम्बियासँग हुनेछ । कोलम्बिया पेनाल्टी सुटआउटमा पेरुलाई हराउँदै सेमिफाइनलमा पुगेको हो ।
आजै बिहान भएको अर्को खेलमा अर्जेन्टिनाले भेनेजुएलामाथि ४–१ जित निकाल्दै आयोजक अमेरिकासँगको सेमिफाइनल भिडन्त पक्का गरिसकेको छ ।