निराशा, कुन्ठा र आक्रोश
अहिले सबै नेपालीमा असन्तोष व्याप्त छ। असन्तोषका कारण सबैका अलगअलग छन्। यो असन्तोषले विस्तारै निराशा जन्माउँदैछ। यो निराशाको सम्बोधन गर्न नेतृत्व चुकेको त छैन, तर सम्बोधनको तरिकाले निराशा कम हुनुको साटो झन् बढ्दो छ। विस्तारै विस्तारै यो निराशा कुन्ठामा परिणत हुँदैछ।
कुन्ठापछिको अर्को तह आक्रोश हो। तर परिस्थिति त्यहाँसम्म भने पुगेको छैन, र पुग्न दिइनु पनि हुँदैन। यदि आक्रोशमा पुग्न दिइयो भने अवस्था कतिसम्म डरलाग्दो हुन्छ भन्ने कुरा समकालीन विश्वका अनेकौं स्थानमा भएका विप्लवले देखाएका छन्।
खोलामा धेरै पानी बगेको छ, परिस्थिति फरक भएको छ भन्ने भाषण सुन्दा नेतृत्व यो समस्यासँग परिचित भएजस्तो लाग्छ। तर व्यवहार हेर्दा निराशाको कारण पहिल्याउन सकेको देखिँदैन। सूचना र सञ्चारको क्षेत्रको अवस्था प्रतिदिन सुध्रँदैछ। अब कुनै सूचना गोप्य रहन असम्भवप्रायः छ। यस्तो अवस्थामा असन्तोषको सम्बोधन गर्ने आफू पनि अध्यावधिक हुन आवश्यक छ। जनमानसलाई गलत तथ्य, तथ्यांकको आधारमा चित्त बुझाउन सकिँदैन। आफूसामुन्ने पस्किएको कुरा कति ठीक कति बेठीक भनेर जाँच्ने अनेकौं तरिका सहज उपलब्ध छन्।
सञ्चारको तीव्र विकासले विश्व र मानवको जीवन प्रणालीमा धेरै परिवर्तन आइसकेको छ। अहिले प्रौढ हुँदै गरेको पिढीले सूचना प्राप्त गर्न गर्नुपरेको अत्याधिक श्रम अहिले कल्पना गर्न पनि सकिन्न।
७० को दशकमा 'सीबी रेडियो' भनिने सीमित रेडियो सञ्चारको अनुमति प्रक्रिया सरल गरेर जनतामा ल्याउँदा संयुक्त राज्य अमेरिकाले युगान्तकारी काम गरेको थियो। केही वर्ष पहिलेको रेडियो या टिभी राख्न अनुमतिपत्र लिनुपर्ने र त्यसको सालवसाली नवीकरण गर्नुपर्ने कानुन व्यवहारतः अहिले लागू नभए पनि खारेज भएको छैन।
आज हातहातमा मोबाइल र सामाजिक सञ्जालले जोडिएको युवा पुस्तालाई केहीदशक पहिलेको त्यो अवस्था ढुंगेयुगझै लाग्छ। तर समाजको नेतृत्व गरिरहेको वर्गले सञ्चारको यो सर्वसुलभताको शक्ति र असरको अनुमान गर्न नसकेको देखिन्छ। सूचना र त्यसको प्रशोधनको जिम्मा अब विद्वत वर्गको हातमा छैन।
समाजका विभिन्न तहका समूह आआफ्नो ज्ञान र विवेकको आधारमा आफै अर्थ लगाउँछन्। यसका आधारमा व्यक्त गरेको प्रतिक्रिया निमेषभरमै सबैतिर प्रसार हुन्छ। नेपालको बारेमा प्रसार भइरहेका कुरामा सकारात्मक कम नै भेटिन्छ। यसले जनताले आफ्नो भविष्य अँध्यारो देख्न थालेका छन्।
सबैको चेतन वा अर्धचेतनले एक युगनायक खोजी गरिरहेको छ। यसको प्रत्यक्ष लक्षण कसैले पनि अलिकति आशा जगाइदियो भने त्यसको प्रशंसामा सबै लाग्नु हो। यसरी आशा जगाउनेहरू अधिकांश मौका पाउँदा असफल हुने गरेका छन्। यो न उनीहरूको गल्ती हो न योग्यताको कमी।
अब जनमानसले मेधावी खोज्दै छैन चमत्कारी माग्दैछ। त्यसैले एकएक गरेर नेतृत्व दूधको उमालजस्तो ह्वात्तै शिखरमा पुग्दै त्यही गतिमा तल झर्दै छन्। लामो समय आस्थाको केन्द्र हुन सकेका छैनन्। जति जनताको आस्था कायम राख्न समर्थकहरू बोलीको, लेखाइको सहारा लिन्छन् त्यति नै आस्था कम हुन्छ। जनता कर्मले आफूमा विश्वास जगोस् भन्ने सोचमा छन्।
यसरी एकएक पात्र असफल हुँदै जाने हो भने जनताको कुन्ठा आक्रोशमा परिणत हुन्छ। त्यो आक्रोशले विप्लव जन्माउन थाल्यो भने त्यसको कुनै अनुहार हुनेछैन। नेपालमा एक अनुहारविहीन विद्रोहको पृष्ठभूभि तयार हुँदैछ। यस्तो अनुहारविहीन विद्रोहको न कुनै नेतृत्व हुन्छ, न कुनै विषेश माग।
दावानल जस्तो जता सल्किन सक्यो त्यतै सल्किने गर्दछ। यसले कसैको भलो गर्दैन, मुलुकको विनाश भने पक्कै गर्छ। त्यसैले यो अवस्थातर्फ मुलुकलाई जान दिइनु हुँदैन।
०६३ को परिवर्तनमा प्रचण्डको भूमिगत नाम र गिरिजाप्रसादको अन्तर्राष्ट्रिय साखले काम गर्यो। तर छिट्टै यी नामहरू स्खलित भए, उनीहरूको नामले जनतामा कमाएको डर वा आस्थाको पुँजी सकियो।
जेजस्तो भएपनि नेपालका विगतका सबै परिवर्तन अनुहारविहीन क्रान्तिका उपज थिएनन्। चाहे आदरले होस् वा डरले कुनै न कुनै अनुहार थियो। चाहे भीमसेन थापा हुन् वा जंगबहादुर एक सवल पात्रको रूपमा उदाएका थिए।
सात सालमा बीपी कोइरालाप्रतिको विश्वासले काम गरेको थियो भने सत्र सालमा राजा महेन्द्र सवल थिए। चाहे समर्थक हुन् वा विरोधी सबै यी पात्रलाई सक्षम ठान्थे। उनीहरूले गरेका कामका समर्थक पनि थिए र विरोधी पनि।
यस्ता कुराले केही फरक परेको थिएन किनभने उनीहरूको दृढ निश्चय थियो, विरोधीलाई दोषारोपण गर्नुभन्दा आफ्नो सोचलाई कार्यरूप दिन ध्यान दिन्थे।
०४६ सालमा अनुहार गणेशमान थिए। दुई विपरीत ध्रुवका राजनीतिक विचारधाराका दल जोड्न सफल भए।
कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, मनमोहन अधिकारी, मदन भण्डारी जस्ता व्यक्तित्वहरूमा समन्वय भयो। अनुहारविहीन आन्दोलन भएन। यस्तै ०६३ को परिवर्तनमा पनि प्रचण्डको भूमिगत नाम र गिरिजाप्रसादको अन्तर्राष्ट्रिय साखले काम गर्यो। तर छिट्टै यी नामहरू स्खलित भए, उनीहरूको नामले जनतामा कमाएको डर वा आस्थाको पुँजी सकियो।
निर्णय लिन नसक्ने र निर्णय लिए पनि त्यसमा अडिग रहन नसक्ने नेतृत्वमा परिणत हुनु दुर्भाग्यपूर्ण भयो।त्यसपछि त चिठा परेजस्तो जो कोही पनि नेता हुन थाल्यो। आज शिखरमा र भोलि जमिनमा हुनेहरूको बाहुल्यता बढ्यो।
जनताले मान्न नसकेको व्यक्तिलाई एकाएक नेता बनाउँदा उच्च नेताहरूले आफ्नो साख गुमाएको पत्तै पाएनन्। ठूलाठूला सपनाहरू देखाइए, जो पूरा हुन सम्भव भएन। यो सम्भव नभएको कुराका अनेकौं बहाना बनाइए।
हरेक बहानाले जनतामा नैराश्यता थप्दैछ। अब कताकता सैनिक शासनको माग सुनिन थालेको छ। कतैकतै तानाशाह नै भए पनि हुन्छ भन्ने आवाज आउँदैछन्। पाखा लगाइएका राजातर्फ आशाले हेर्ने जमात पनि नभएको होइन।
अनुहारविहीन विप्लवको सम्भावना रोक्नसक्ने पात्र भनेका दलहरूलगायत जनताले आशापूर्ण तरिकाले हेरेका शक्तिहरू हुन्। यदि यी विकल्प पनि भएन भने मुलुकमा पक्कै अनुहारविहीन विप्लव हुनसक्छ। मुलुक विखण्डनतर्फ जान सक्छ।
नेपालको करिब पौने तीन शताब्दीमा युगनायकको आवश्यकता परेको कालखण्ड यही नै हो। यदि यो भएन र मुलुकमा अनुहारविहीन विप्लव भयो भने यी पात्रहरू त दोषी हुन्छन् नै तर समाजमा आशाको दियो बाल्न नसकेको अपराधबाट कुनैपनि आफूलाई चेतनशील ठान्ने नागरिक बच्न सक्दैन्।