कर्मचारी अभावले जिल्ला प्रशासन कैलाली अस्तव्यस्त

कर्मचारी अभावले जिल्ला प्रशासन कैलाली अस्तव्यस्त

धनगढीः दईजना प्रशासकीय अधिकृत र पाँचजना नायव सुब्बाको दरबन्दी खाली हुँदा जिल्ला प्रशासन कार्यालय कैलालीको सेवा प्रभावित भएको छ ।

भएका कर्मचारी पनि छलफल बैठक र गोष्ठीमा जान ठीक्क भएपछि नागरिकता र राहदानी बनाउन आएका सेवाग्राहीहरु घण्टौँ कुर्न बाध्य भएका छन ।
तीन प्रशासकीय अधिकृतको दरबन्दी रहेको जिल्ला प्रशासनमा एक मात्रै प्रशासकीय अधिकृत नेत्रप्रसाद पौडेलले एक्लै सबै काम भ्याइरहेका छन् ।

सेवाग्राहीहरु मर्कामा पर्दा समेत भएका कर्मचारीको उचित व्यवस्थापन हुन नसक्दा दैनिक सयौँ सेवाग्राहीको भीड रहने कार्यालय अस्तव्यस्त बनेको छ ।

‘म नागरिकता बनाउन आएकी हुँ, असारमा सबैले खेतीबारीको काम गर्न थालेका छन्, विहानदेखि खाना खान पाएको छैन, एकछिनमै आउँछु भनेर जानु भएको दुई घण्टा भयो’, धनगढीबाट झण्डै ८० किलोमिटर टाढा रहेको रामशिखरझालाकी राधा रोकायाले गुनासो गरिन्, ‘त्यो एकछिन अझै भएको छैन ।’

राधा मात्रै होइन कैलालीको धेरै टाढा टाढाबाट आएका सेवाग्राहीहरु नागरिकताकै लागि दुई तीन दिनसम्म धाउन बाध्य भएका छन् ।

‘एक पटक आउन जान र खाना खान एक हजार खर्च हुन्छ, नागरिकताका लागि आएको, तर प्रशासनमा कर्मचारी नै नभएपछि कुरीरहेकी छु’, जिल्ला प्रशासन बाहिरको सिसमभाडीको सित्तलमा कर्मचारी कुरीरहेकी धनगढीबाट ९० किलोमिटर टाढा रहेको लम्कीचुहा नगरपालिकाकी जौमती खनालले भनिन् ।

जिल्ला प्रशासनको मुद्धाफाँट पनि पुरै खाली छ । दुई प्रशासकीय अधिकृत नभएपछि उनीहरु बस्ने कोठामा ताला लगाइएको छ ।

दुईजना प्रशासकीय अधिकृत कमल महरा र मंगल शाहीको काज फिर्ता भएपछि प्रशासनको कामकाज अस्तव्यस्त भएको हो ।

अध्यागमन विभागबाट काजमा आएका कमलसिंह महराको बैशाख १२ गते काज फिर्ता र अर्का प्रशासकीय अधिकृत मंगल शाहीको बैशाख २० गते घोडाघोडी नगरपालिकाको कार्यकारी अधिकृतमा सरुवा भएपछि अहिले एकजनाले मात्रै तीनजनाको काम गर्नुपरेको छ ।

दुई सातदेखि रिक्त रहेको सहायक प्रमुख जिल्ला अधिकारीको पदमा पनि आइतवार मात्रै बझाङको प्रमुख जिल्ला अधिकारीबाट सुरुवा भएर आएका हिरालाल चौधरी हाजिर भएका छन् तर उनी पनि राहदानीको तालिममा गएपछि प्रशासनको कामकाज प्रभावित भएको छ ।

मुद्दा फाँटका नासु दत्तुराम पाण्डेको इलाका प्रशासन कार्यालय जोडबुडा सरुवा भएपछि उनको स्थानमा भूमिसुधारबाट सुरुवा बढुवा भएका ईश्वरदत्त जोशी र मालपोतबाट सुरुवा बढुवा भई जिल्ला प्रशासनको नियुक्ति बुझेका दुर्गादत्त पन्त पनि हाजिर नभएपछि अरु फाँटको काम पनि प्रभावित भएको छ ।

यस्तै टीकापुरमा रहेको मालपोत कार्यालयबाट नासुमा बढुवा भएर जिल्ला प्रशासन कार्यालय कैलाली खटाइएका मानबहादुर बोहरा पनि अइतबारसम्म हाजिर भएका छैनन ।

यसअघि नै प्रशासनमा खाली रहेका दुईजना नासुका लागि लोकसेवा आयोगमा लेखी पठाएकोमा ती दुई पद पनि खाली छन् ।

‘लोकसेवामा माग भएका पद मंसिरतिर मात्रै पदपूर्ति हुने बताइएको छ’ प्रशासन फाँटका नासु केशव प्रसाद जोशीले भने । दुईजना प्रशासकीय अधिकृत र पाँचजना नासु नभएकाले सेवा प्रवाह ढिलो भएको प्रमुख जिल्ला अधिकारी अव्दुल कलाम खाँले पनि स्वीकार गरेका छन ।

‘एकैपटक दुईजना प्रशासकीय अधिकृतको सुरुवा हुनु, तीनजना नासुको पनि पद खाली रहनु र लोकसेवाबाट पतपूर्तिमा ढिलाई भएकाले कामकाज प्रभावित भएको छ’, प्रमुख जिल्ला अधिकारी खब्दुल कलाम खाँले भने ।

प्रमुख जिल्ला अधिकारी खाँ पनि यही असार ८ गते सेवानिवृत्त भइरहेकाले उनको पनि अधिकांश समय भेटघाटमै बित्ने गरेको छ ।

गृह मन्त्रालयले, दरबन्दी अनुसारका कर्मचारी नपठाउँदा सेवाग्राहीलाई समस्या भएको उनले बताए । तर मन्त्रालयले कर्मचारी अभावबारे जानकारी पाएकोले तत्काल दरवन्दी परिपूर्ति गर्ने जनाएको छ ।

रिक्त दरबन्दी पूर्ति गर्ने विषयमा छलफल चलिरहेकाले बढीमा १० दिनभित्रै कर्मचारी कैलाली पठाउने गृह मन्त्रालयका सहसचिव चक्र बुढाले बताए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.