गर्भवती बुहारी बचाउँदा सासुको ज्यान गयो
राजविराजः सिँचाइ मन्त्री उमेश यादवको गाउँ सप्तरीको लालापट्टीमा आइतबार राति एक महिलाको सिलौटा प्रहारबाट हत्या भएको छ ।
सामान्य विवादमा लालापट्टी–७ निवासी ६२ वर्षीया साबित्रीदेवी खंगको छातीमा सिलौटा र डाढुले हान्दा उनको मृत्यु भएको प्रत्यक्षदर्शीले बताए ।
चार महिनाकी गर्भवती बुहारी २३ वर्षीया जानकीदेवी खंगलाई कुटपिटबाट जोगाउन गएकी साबित्रीको छिमेकी ५५ वर्षीय धनिकलाल खंग खत्वे, उनकी श्रीमती ५२ वर्षीया कमलीदेवी खंग र छोरा २७ वर्षीय पञ्चदेव खंगले कुटपिट गर्दा मृत्यु भएको प्रहरी नायव उपरीक्षक दानबहादुर कार्कीले बताए ।
राजविराजस्थित अञ्चल अस्पतालमा घाइते बुहारीको उपचार भएको छ भने मृतक सासुको पोष्टमार्टम भएको छ । घटनालगत्तै आरोपितहरु फरार रहेका छन् ।
कसरी भयो हत्या ?
शनिबार साँझ जानकीदेवी छिमेकमा मसला पिँध्न गएकी थिइन् । मसला पिँध्न गएकी उनलाई चामल चोरेको आरोप लगाउँदै कमलीदेवी खंगले कुटपिट गर्न थालिन् ।
गर्भवती बुहारीमाथि कुटपिट भइरहेको थाहा पाएर उनकी सासु सावित्रीदेवी जोगाउन पुगेकी थिइन् ।
मृतकका छोरा शनिश्चर खंगका अनुसार कमलीदेवीसँगै उनका श्रीमान् धनिक र छोरा पञ्चदेवले मिलेर सिलौटा, चुलेसी र डाढुले प्रहार गर्दा सावित्रीको लडेर मृत्यु भएको हो । हत्यापछि धनिक खंगका परिवार गाउँ छाडी फरार भएका छन् ।