धेरै नक्कली चिकित्सक भारतको बिहार बोर्डका

धेरै नक्कली चिकित्सक भारतको बिहार बोर्डका

सुवास गोतामे

काठमाडौंः नक्कली प्रमाणपत्र रहेको आरोपमा पक्राउ परेका चिकित्सकले भारतको बिहार बोर्डबाट आईएस्सी गरेको रहस्य खुलेको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले आठ सय नौजना चिकित्सकको शैक्षिक प्रमाणपत्रबारे अनुसन्धान गर्दा एक सयजनाको नक्कली प्रमाणपत्र रहेको पत्ता लगाएको हो ।

ब्युरोले नक्कली चिकित्सक पक्राउ गर्न थालेको ‘अप्रेसन क्वाक’ अन्तर्गत गत शुक्रबार एकसाथ १० वटा जिल्लाबाट ३६ जना चिकित्सकलाई पक्राउ गरेको थियो ।

जसमध्ये काठमाडौंका १३, पर्साका नौ, मोरङका तीन, चितवनका तीन, धनुषाका दुई, ललितपुरका दुई र दाङ, झापा तथा कास्कीका एकएकजना चिकित्सक छन् ।

ब्युरोका एसपी तारणी लम्सालका अनुसार अनुसन्धानका लागि पक्राउ गरिएका चिकित्सकमध्ये १६ जनाले बिहार बोर्डबाट मेडिकल काउन्सिललाई बुझाएका मार्कसिटमा अंक सच्याइएको छ ।

बोर्डले दिएको अंक र काउन्सिलमा बुझाइएको मार्कसिटमा फरक रहेको लम्सालले बताए । त्यस्तै १४ जनाले काउन्सिलमा मार्कसिट बुझाए पनि बिहार बोर्डमा उनीहरूको रेकर्ड नै भेटिएन । ती विद्यार्थीका रूपमा समेत दर्ता नभएका पाइएको सीआईबीले जनाएको छ ।

एसपी लम्सालका अनुसार तीनजना चिकित्सकको बिहार बोर्डमा एउटा रेकर्ड छ भने काउन्सिलमा बुझाएको मार्कसिटमा अर्को नाम छ । दुईजना चिकित्सक भने बिहार बोर्डबाट लिइने परीक्षामा समेत अनुपस्थित पाइएका छन् । एकजनाले अर्काको एनएमसी नम्बर प्रयोग गरेर अनुमतिपत्र (लाइसेन्सिङ) परीक्षा दिएको पाइएको एसपी लम्सालले बताए ।

सरकारी तथा निजी अस्पताल र क्लिनिकमा डाक्टरकै हैसियतमा काम गर्दै आएका ३६ जना चिकित्सक एकसाथ पक्राउ गरिएको यो पहिलो घटना हो । यसअघि सीआईबीले १७ जना नक्कली चिकित्सकलाई पक्राउ गरी ठगी महलअन्तर्गत मुद्दा चलाएको थियो ।

पक्राउमध्ये हाम्रो सहयात्री हस्पिटलमा कार्यरत चिकित्सक श्रीराम घिमिरेले बिहार बोर्डबाट प्राप्त गरेको आईएस्सीको प्रमाणपत्रमा देखाएअनुसार सात सय ४२ अंक ल्याएको देखिन्छ । तर वास्तविकतामा उनले धेरै कम अंक ल्याएको एसपी लम्सालले बताए ।

उनले भने, ‘हामीले आठ सय नौजनाको प्रमाणपत्र छानबिन गरेका थियौं । सयजनाको फल्ट देखिएपछि अनुसन्धान गर्दा ३६ जना पक्राउ गर्न सफल भयौं, अन्यको खोजी कार्य भइरहेको छ ।’ पक्राउ परेका चिकित्सकमा तिलगंगा आँखा अस्पतालदेखि नर्भिक हस्पिटल र बी एन्ड बी हस्पिटलसम्मका छन् ।

अप्रेसन क्वाक टिममा ब्युरोसँगै नेपाल मेडिकल काउन्सिल र उच्च माध्यमिक शिक्षा परिषद्को संयुक्त टोली छ । चिकित्सकको शैक्षिक प्रमाणपत्र र एनएमसी नम्बर ब्युरोलाई उपलब्ध गराउनमा काउन्सिल र परिषद्ले सहयोग गरेका हुन् ।

ब्युरो प्रमुख डीआईजी नवराज सिलवालले चिकित्सकजस्तो मर्यादित र संवेदनशील पेसामा फर्जी कागजपत्र प्रयोग भएको खुलासासँगै सर्वसाधारणको जिउधनको रक्षामा गम्भीर संकट देखा परेको बताए ।

सिलवालका अनुसार यो अप्रेसनको सिलसिलामा नक्कली चिकित्सकका बारेमा ब्युरोलाई चिकित्सकले नै सूचना दिएका थिए ।

‘चिकित्सक पेसा प्रतिष्ठित पनि हो तर सेतो कोटभित्रको विश्वासलाई धोका दिनु राम्रो होइन । सर्वसाधारणको स्वास्थ्यसँग खेलबाड गर्ने अधिकार कुनै पनि चिकित्सकलाई छैन । हामी अझै त्यस्ता नक्कली प्रमाणपत्रधारी चिकित्सकलाई खोजीखोजी कारबाहीको दायरामा ल्याउँछौं,’ डीआईजी सिलवालले भने ।

उनले चिकित्सकलाई पक्राउ गरेको घटनालाई लिएर कोही आत्तिनु वा डराउनु आवश्यक नभएको बताए । उनले भने, ‘जो पक्राउ परेका छन्, उनीहरू अपराधी होइनन्, अहिले अभियुक्त मात्रै हो, अनुसन्धानका सिलसिलामा पक्राउ गरिएको छ । अदालतले निर्दोष वा दोषी ठहराउला, सम्मानित ढंगले पूर्वजानकारी दिएरै पक्राउ गरिएको हो ।’

सीआईबीले पक्राउ गरेका चिकित्सकलाई आइतबार ठगी मुद्दामा अदालतबाट म्याद थप गरेको छ ।


के छ ठगी महलमा ?

ठगी महलको २ नम्बर बुँदामा कसैले आफ्नो नाम ढाँटी त्यो नाम मेरो होइन, अर्कैको हो भनी वा यो मानिस म होइन अर्कै हो भनी र अर्को मानिसको नामलाई मेरो हो सो मानिस मै हुँ भनी भन्नु वा त्यस्तो कुरा अर्काबाट जानी बुझी भनाउनु भनिदिनु इत्यादि जुनसुकै कुरा गरी होस् कसुर सजायबाट बच्नका लागि वा बेइमानीको नियतसँग अरू कसैलाई धोका गफलत वा झुक्यानमा परी अर्काको नोक्सान वा आफ्नो फाइदा हुने काम गरेमा ठगी ठहर्ने उल्लेख छ । यस्ता कसुर गर्नेमाथि बिगो भराई जरिबाना तिर्ने, पाँच हजार जरिबाना र पाँच वर्ष कैद सजायको व्यवस्था छ ।

पक्राउ परेका चिकित्सक

नाम- कार्यरत स्वास्थ्य संस्था

पुनम कर्ण- झरना फार्मेसी, कपन

बुद्धिमान श्रेष्ठ - कान्तिपुर जनरल एन्ड डेन्टल हस्पिटल, सामाखुसी

लिली राजवंशी – तिलगंगा आँखा अस्पताल, तिलगंगा

बिनिता अधिकारी – ब्राइट स्माइल डेन्टल क्लिनिक

रावेतरञ्जनकुमार ठाकुर – सोसाइटी डेन्टल क्लिनिक चाबहिल

बोदित आचार्य – केयर डेन्टल क्लिनिक, पुरानो बानेश्वर

दीपेश पौडेल – किस्ट मेडिकल कलेज, ललितपुर

गजानन्दप्रसाद भण्डारी – नेपाल फेमेली प्लानिङ एसोसिएसन, ललितपुर

सञ्जय यादव – युनिभर्सल मेडिकल कलेज, भैरहवा

सन्तोषकुमार झा – ट्रमा सेन्टर, काठमाडौं

गणेश साह – लोकहित डेन्टल अस्पताल, त्रिपुरेश्वर

निलिमा खड्का महत – अम्दा नेपाल जोरपाटी र हेल्दी डेन्टल क्लिनिक

विनिता मण्डल – रेसा फार्म, चाबहिल

राहिल फराज अन्सारी – तनहँु सेवा हस्पिटल, दुलेगौंडा

        श्रीराम घिमिरे – हाम्रो सहयात्री हस्पिटल

कुशराज गिरी – शान्ति क्लिनक, वीरगन्ज

पन्नलालप्रसाद पटेल – गण्डक अस्पताल, वीरगन्ज

महेश्वर राय यादव – मेरी स्टोप्स सेन्टर पोखरा

निमेषपाल रमन – नेसनल मेडिकल कलेज, वीरगन्ज

मोहम्मद रुहुल्लाह – नेसनल मेडिकल कलेज, वीरगन्ज (धुलिखेल अस्पतालमा चार वर्ष काम गरेको)

रन्धीर राजवंशी – बजरंग क्लिनिक, झापा

सुनिल आचार्य – प्रगति पोलिक्लिनिक चितवन

मोहम्मद अबुल कलाम – ट्रमा अस्पताल विराटनगर

इसादुल हक – नेसनल मेडिकल कलेज एन्ड टिचिङ अस्पताल

सरोजकुमार सिंह – नारायणी उपक्षेत्रीय अस्पताल, पर्सा

रजनी अग्रवाल – पुरानो मेडिकल कलेज, चितवन

रवीन्द्रकुमार पाण्डे – केयर नर्सिङ होम, जनकपुर र मिथिलाञ्चल डेन्टल क्लिनिक

रामजी यादव – पूजा मेडिकल हल

रामकुमार प्रधान – नेसनल मेडिकल कलेज एन्ड टिचिङ अस्पताल

विष्णुप्रसाद भुसाल – बीआर डेन्टल क्लिनिक, तुल्सीपुर

अरुणकुमार गुप्ता – नर्भिक हस्पिटल, थापाथली र बी एन्ड बी, ग्वार्को

सञ्जयकुमार दास – श्री राम डाइग्नोस्टिक किल्निक, विराटनगर

दिनेशकुमार साह – कलेज अफ मेडिकल साइन्स भरतपुर र नेसनल मेडिकल कलेज वीरगन्ज

मनीष अर्याल – फेमेली प्लानिङ एसोसिएसन नेपाल, इटहरी

राजन पुरी – चितवन मेडिकल कलेज, चितवन

जावेद अख्तर अन्सारी – लाइफ गार्ड अस्पताल, विराटनगर


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.