देश खाने 'देशभक्त' का नक्कली एजेन्डा
ब्रिटिस राजदूत (रेजिडेन्ट) गर्डलस्टोनले वीर शमशेरलाई मन पराउँदैनथे। सन् १८८५ मा षडयन्त्रपूर्वक प्रधानमन्त्री भएका वीर शमशेरकै प्रियपात्रहरूमार्फत गुप्तचरको रूपमा प्रयोग गरेर उनले सरकारी सूचना संकलन गर्थे भनिन्छ।
आफूलाई खाँटी देशभक्त भन्दै साँखुल्ले बनेर श्री ३ महाराजको पूजादेखि भुजासम्मका खबर दिने कथित देशभक्तहरूझैं आज पनि कार्यपालिका, न्यायपालिका, व्यवस्थापिका, सुरक्षा अंगलगायतका यावत् सूचना बेचेर धनी हुने ठूलो समूह नेपालमा सक्रिय छ। देश खाने कृत्रिम देशभक्तहरू चिन्न नसक्दा हिजो राजदरवारकै गुप्त सूचना पनि विदेशीका निवासमा पुग्थ्यो भने आज हरेक गौंडागौडामा त्यस्ता राष्ट्रघातीहरू सक्रिय छन्।
२०४० साल फागुनमा पंक्तिकारले राजा त्रिभुवनका सवारी चालक मरिचमान नकर्मीसँग ठहिटीस्थित उनकै निवासमा आठ घन्टासम्म कुराकानी गरेको थियो। त्रिभुवनले शीतल निवास (महाराजगञ्ज) स्थित भारतीय दूतावासमा राजनीतिक शरण लिएपछि श्री ३ मोहन शमशेरले अर्जुन शमशेर र विजय शमशेरलाई वार्ता गर्न पठाएका थिए। राजाले भेट गर्न अस्वीकार गरेपछि भारदारीसभा बोलाइयो।
त्रिभुवनका ड्राइभरको भनाइ अनुसार, अघिल्लो दिनसम्म राजभक्त र देशभक्त भनिएका काठमाडौंका कतिपय अवसरवादी प्रवञ्चक भारदारले राजालाई नै गद्दीच्युत गर्नुपर्ने राय दिए। गणेशमान सिंहका बाजेले कडा शब्दमा त्यसको विरोध गर्दै भनेका थिए -'राणाहरूलाई ए-बी-सी- क्लासमा विभक्त गर्दा तत्कालीन प्रधानमन्त्रीले गुहुको टीका पहिरिबक्स्यो।
हजुरले राजालाई गद्दीच्यूत गरिबक्स्यो भने त्यो भन्दा ठूलो गुहुको टीका पहिरिबक्सनेछ।' त्रिभुवनका शाही पाश्र्ववर्ती जनरल नरशमशेरको जीवनीमा पनि यो उल्लेख भएकाले मरिचमान नकर्मीको कथन पूर्ण सत्य ठहरिन्छ।
देशभक्ति र राष्ट्रवादका गीत गाउँदैमा कोही देशभक्त हुँदैन। टनकपुर, महाकाली, कोसी, गण्डक र त्यस्ता कैयन् सन्धि-सम्झौतामा राष्ट्रघात गर्नेहरू राजनीतिमा सक्रिय रहँदा लामो कालखण्डसम्म राष्ट्रले ठूलो क्षति भोग्नुपर्यो।
इजरायल वा पाकिस्तान जस्ता देशमा त्यस्तो राष्ट्रघात गर्नेहरूलाई गुप्तचर पठाएर सेनाले मध्यरातमै प्राणपखेरु उडाइदिन्छ। नेपालमा त राष्ट्रिय सेनालाई दुस्मन भन्नेहरूले पनि राज्यबाट मान-सम्मान पाइरहेकै छन्। पूर्व प्रधानमन्त्री मरिचमान सिंह जस्ता प्रखर राष्ट्रवादी राजनीतिज्ञलाई अन्त्येष्टीमा समेत राज्यले यथोचित सम्मान दिएन। किनभने उनी देश लुट्ने र देश खाने देशभक्त थिएनन्।
सर ज्योफ्रे बेथामले जुद्ध शमशेरलाई 'झन्डै एकसयजना छोराका पिता' भनेका छन्। छोरीहरूको कुरा त्यसमा उल्लेख छैन। ती सबै राज्यकोषबाटै पालिएका थिए। २०६२÷०६३ सालको परिवर्तन (? ) पछि सिंहदरवारमा पुगेका कतिपय नयाँ राणाहरूले त्यसरी नै पचासौं व्यक्तिलाई छोराछोरीसरह सल्लाहकार, विज्ञ आदि बनाएर पालनपोषण गर्दै आएका छन्।
पार्टी र त्यसमा पनि आफ्नो गुटका मानिस पदेन विशेषज्ञ बनाइएका छन्। क्षमता नभएपनि राजाका कर्मचारीहरू पदेन राजभक्त, पदेन कूटनीतिज्ञ र पदेन आमसञ्चारविद् भएजस्तै तलबभत्ता पाउने सबै विज्ञ भएका छन्।
देश खाने 'देशभक्तहरू' अहिले मात्र होइन, उहिले पनि थिए। सन् १६३० मा तिब्बतमा विद्रोहीहरूलाई दमन गर्न सेनाका कमान्डर भएर गएका भीम मल्ल (कान्तिपुरका राजा प्रताप मल्लका भाइ) ले सन् १६४५ देखि १६५० सम्म पटकपटक त्यहाँ पुगेर सफलता पाए।
लडाईं जितेर फर्केपछि चापलुस, चाकडीवाज र कुरौटेहरूले भीम मल्लले अब राजा प्रताप मल्ललाई गद्दीच्यूत गरेर शासन गर्न खोजेका छन् भन्ने हल्ला फैलाए। राजाले विचारै नगरी भीमलाई वध गर्ने हुकुम दिए। बिना कसुर पति मारिएपछि सति जान वाध्य उनकी पत्नीले श्राप दिइन् -'देशको भलो चिताउनेको यस्तो दुर्गति हुन्छ भने नेपालमा कुनै देशभक्तको पनि भलो नहोस्।'
किम्वदन्तीको रूपमा आएपनि राष्ट्रवादी देशभक्तहरूमध्ये धेरैको अवस्था आज पनि मरेतुल्य छ। देश खाने कृत्रिम देशभक्तको बाहुल्य रहँदै आएको छ, नेपालमा। त्यसैले अभिभावकहरू छोराछोरीलाई 'चाँडै धनी बन्नू' भन्छन्, राष्ट्रवादी भएर राष्ट्र बचाउनू, देशभक्त हुनू भन्दैनन्। युरोप-अमेरिका गएर उतै बस्नु भन्छन्। देश खाने देशभक्तहरू नेपालमा प्रशस्त लुटेर विदेशमै मर्न तयार छन्। हिजो कतिपय नेपालीहरू प्र्राणत्याग गर्न काशी जान्थे, आज क्यानाडा र क्यालिफोर्निया जान्छन्।
लिओ तोल्स्तयले भनेका छन् -'देश सर्वोच्च हुन्छ भन्ने भावना नै देशभक्ति हो।' त्यसैले जातिवाद, क्षेत्रवाद, धर्म, संस्कृति, परम्परा र सम्प्रदायभन्दा माथि हुन्छ देश। देशभक्ति राजनीति होइन, तर देशभक्ति नभएको मान्छेका हातमा राजनीति गयो भने त्यहीबाट सुरु हुन्छ देशको पतन। नेपालमा देखिँदै आएको बेथितिले यही पुष्टि गरेको छ।
बीपीको मृत्युपछि देश खान खोज्ने विदेशीका 'संयन्त्र' बनिसकेका कांग्रेसीहरूले बीपी विचारको सार बुझ्न सकेनन्। फलतः कांग्रेस आज 'भाइ माओवादी' बनेको छ।
भिट्कुन क्विजलिङ्ले दोस्रो विश्वयुद्धमा आफ्नो देशमा हमला गर्न जर्मन सेना बोलाए। उनी नर्वेजियन लेवर पार्टीका नेता थिए, कम्युनिस्ट विचारका। पछि अमेरिकाको समर्थक बनेर पार्टी नै कम्युनिस्टविरोधी बन्न पुग्यो, सन् १९५० पछि।
दोस्रो विश्वयुद्धमा रक्षामन्त्री रहेका क्विजलिङ्लाई टाइम पत्रिकाले समेत 'राष्ट्रघाती' भनेर लेख्यो। सन् १९३१ देखि १९३३ सम्म रक्षामन्त्री र सन् १९४२ देखि १९४५ सम्म प्रधानमन्त्री रहेका क्विजलिङले जर्मनीको कठपुतली भएर काम गरे। उनले राजा हाकोन (सातौं) लाई जर्मन सेनाद्वारा कैद गराए।
नेपालमा बहुदलीय व्यवस्थाका पक्षमा भएको आन्दोलनका बेला वामपन्थीहरूको गोप्य बैठकमा एकजना कम्युनिस्ट नेताले 'भारतीय सेना बोलाएर राजा वीरेन्द्रलाई तत्काल कैद गर्नुपर्ने' प्रस्ताव राखेका थिए। राष्ट्रवादी विचारका नेता मदन भण्डारीले रौतहट निवासी ती राष्ट्रघाती नेतालाई हप्काउँदै भने -'तपाई आफ्ना शब्दहरू फिर्ता लिनुहोस्। राजासँग हाम्रो सैद्धान्तिक असहमति छ।
राजा राष्ट्रवादी छन्। त्यसैले, विदेशी सेना बोलाएर राजतन्त्र हटाउने हाम्रो सोच छैन। त्यसो गर्नु सरासर राष्ट्रघात हुन्छ।' गुप्त बैठकमा सहभागी एक वामपन्थी नेताका अनुसार, देश खान खोज्ने ती कथित देशभक्त चुनाव हारेर पनि भारतकै प्रयत्न र बलमा प्रधानमन्त्री भए। उनी आज पनि दिल्लीका दूत जस्ता छन्।
कतिपय व्यक्तिले इतिहासको मिहिन अध्ययन नै नगरी सबै राणशासकहरू खराब थिए भन्ने प्रचार गरेको पाइन्छ। राजाहरूलाई अधिकारविहीन तुल्याएर आफू सर्वेसर्वा भएपनि राणा शासकले श्री ५ लाई यथोचित सम्मान गरेका थिए। 'लाइफ अफ महाराज सर जंगबहादुर राणा' पुस्तकमा पद्मजंग (जंगबहादुरका पुत्र) लेख्छन् -'जंगबहादुरका परमभक्त विजयराज पाण्डे लगायतका भारदारले हामी राजाको मुकुट हजुरलाई पहिर्याउन चाहान्छौं भनेर जंगबहादुरलाई आग्रह गर्दा आफूले राजालाई हटाउने कुरा कल्पना पनि गर्न सक्दिनँ भन्ने जवाफ दिएका थिए।' (पृष्ठ १९३)
२००७ सालमा भारदारी सभामा रहेका काठमाडौंका केही लुब्ध, चापलुस र देशघातीहरूले श्री ३ मोहन शमभशेरलाई उकासेर राजा त्रिभुवनलाई गद्दीच्यूत गर्न खोज्दा उनले अस्वीकार गर्दै त्रिभुवनका माइला नाति ज्ञानेन्द्रलाई बेबी किङ बनाएर राजगद्दीमा राखी गद्दी खाली हुन दिएनन्। देश खाने देशभक्तहरूको कुरा सुनेर मोहन शमशेरले गलत निर्णय गरेको भए भारतीय नेताहरूले सयकडौं राज्यलाई गाभेझैं नेपालको अस्तित्व तत्काल समाप्त पार्न सक्थे।
राष्ट्रियतामा आँच आउँछ भनेर बीपी कोइरालाले २०३७ सालमा जनमतसंग्रहको परिणाम सहर्ष स्वीकार गरे। चुनावमा धाँधली भएका सूचनाहरू पाएपनि उनले किचलो गरेनन्। राजसंस्था र प्रजातन्त्रवादी शक्तिहरूबीचमा फाटो गराएर इन्दिरा गान्धीले नेपालमा अस्थिरता फैलाउन खोजेको कुरा आठवर्ष भारतमा निर्वासित भएर बस्दा बीपीले राम्ररी बुझेका थिए।
त्यसैले बहुदलीय व्यवस्थाका पक्षमा ४५ प्रतिशत मत प्राप्त हुँदा एकदिन त्यसैलाई भरपर्दो पुँजी बनाउन सकिन्छ भन्ने पनि उनले बुझेका थिए। बीपीको मृत्युपछि देश खान खोज्ने विदेशीका 'संयन्त्र' बनिसकेका कांग्रेसीहरूले बीपी विचारको सार बुझ्न सकेनन्। फलतः कांग्रेस आज 'भाइ माओवादी' बनेको छ।
पश्चिमाहरू नेपाल र चीनबीच सम्बन्ध प्रगाढ भएको देख्न चाहँदैनन्। सन् १८८६ मा चीनका राजाले पठाएको विशेष प्रतिनिधिमण्डललाई नेपालले अभूतपूर्व स्वागत गरेपछि ब्रिटिस दूत मेजर डुरान्ड क्रुद्ध भए। 'राणा शासनको वृतान्त' पुस्तकमा प्रमोद शमशेर राणाले त्यसबेला नेपाल दरबारले आफ्नो यथोचित सम्मान नगरेको भन्दै ब्रिटिस दूतले पत्र पठाएकोमा सरकारले 'तपाईलाई सैनिक सलामी दिएकै हो, ख्याल गर्नु भएन छ' भन्ने जवाफ पठाएको कुरा लेखेका छन्।
आज पनि पश्चिमाहरूले एनजीओ- आईएनजीओ र लोभीपापीहरूलाई प्रशस्त दानापानी दिएर नेपालमा प्राचीन धर्म-संस्कृति, परम्परागत शक्ति, एकताका सूत्रहरू, इतिहास, मौलिकता सबै भत्काउन चाहेका छन्। त्यही हुनाले नेपाल राष्ट्रको झन्डा र नाम फेर्नुपर्छ भन्दै माओवादी मच्चियो, मच्चियो र थच्चियो।
हिन्दु र बौद्धलगायतका संस्कृति मास्ने दीर्घकालीन रणनीति एवं राष्ट्रिय एकता ध्वस्त पार्ने संघीयता पश्चिमाहरूकै गुरुयोजना हो भन्ने कुरा समयमै हृदयंगम नगरेमा नेपाल गृहयुद्धमै फस्ने निश्चित देखिएको छ। त्यसैले देश खाने देशभक्तका नक्कली एजेन्डाबाट राष्ट्रलाई बचाउनु आजको आवश्यकता हो।