'अज्ञात'को शरणमा बाबुराम
राजनीतिक चक्र द्रुत गतिमा घुमिरहेको छ र परिवर्तनको गति त्वरित भएको छ। यो त्वरण देशको आन्तरिक कारणबाट कति उत्प्रेरित छ र बाह्य उत्प्रेरकको कति प्रभाव छ ,त्यो आउँदा घटनाक्रमको स्वरुप र नियतिले देखाउने छ। तर यति निश्चित छ यसले देशको राजनीतिक आयाम र आयतनमा प्रभाव पार्ने छ।
परिणामको सकारात्मकता वा नकारात्मकता र त्यसको दिशा बाह्य तथा आन्तरिक शक्ति सन्तुलनको अवस्थाले निर्धारित गर्ने छ। किनकि अहिले राजनीतिक प्रबाहको दिशालाई आफूअनुकूल मोड्न सक्रिय भइरहेका बलहरूको प्रकृति तथा दिशा भिन्नाभिन्नै छ र यस अवस्थामा विभिन्न पार्टी, समूह तथा व्यक्तिहरूका राजनीतिक क्रियाकलापको ठोस र तर्कपूर्ण विश्लेषण गरी तर्कसंगत निष्कर्षमा पुग्न त्यति सजिलो छैन।
सबै पक्ष तथा शक्तिहरूको अन्तरनिहित उद्देश्य तथा सामथ्र्य स्पष्ट भइसकेको अवस्था छैन। किनकि विगत लामो समयदेखि देशको राजनीति स्वाभाविक गति र प्रक्रियामा अगाडि बढिरहेको छैन र नेतृत्व वर्गको चरित्र तथा व्यवहारमा आउने परिवर्तनले अस्वाभाविक र आकस्मिक अन्ध मोडहरू कदम-कदममा अगाडि आएका छन् र तिनले अनपेक्षित परिणाम दिएका छन्।
यस पृष्ठभूमिमा हेर्दा अहिले पनि अगाडि आउने सम्भावित अन्ध मोड तथा अनपेक्षित आकस्मिकताको सम्भावनाहरूलाई पूर्ण रूपमा नकार्नु वा त्यसबाट ढुक्क भएर बस्न सकिने अवस्था देखिँदैन।
देशको वर्तमान अवस्था राजनीतिक रूपले नयाँ चरणमा प्रवेश गरिसकेको ( राजतन्त्रात्मक अवस्थाबाट लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेको संकीर्ण अर्थमा ) तर राजनीतिक स्थिरता र गन्तव्य (संवैधानिक रूपमा समाजवादउन्मुख भनिए पनि ) स्थापित नभइसकेको तरल अवस्था हो। आर्थिक रूपमा पुँजीवादी आर्थिक संरचनाको चरणमा प्रवेश गरिसकेको संक्रमणकालीन अवस्था हो।
सामाजिक रूपमा अझै एकतर्फ सामन्ती संरचनाका अवशेष, (सामाजिक संस्कार, संस्कृति, मनोविज्ञान, सामाजिक भाषिक धार्मिक लैंगिक विभेद र वर्ण विभाजनको अर्थमा ) बलियो रूपमा विद्यमान रहेको तथा मध्यम वर्ग (आर्थिक अर्थमा) तथा मध्यम वर्गीय मनोविज्ञान र मानसिकताको आधिपत्य रहेको अवस्था हो।
अर्कोतर्फ मध्ययुगीन संस्कार, संस्कृति तथा परम्पराबाट आधुनिकतातर्फ संक्रमणको चरणमा स्वाभाविक रूपमा अगाडि आउने, आधुनिकता तथा परम्परागत रुढीवादबीच उत्पन्न हुने तीव्र अन्तरद्वन्द्वको अवस्था हो।
यस्तो द्वन्द्व सार्वत्रिक र स्वाभाविक अवस्था भए पनि वर्णविभाजन हाम्रो आफ्नो विशिष्ट चरित्र भएको हुँदा यस क्षेत्रमा देखिने सामाजिक अन्तरद्वन्द्व हाम्रो विशिष्ट अवस्था हो, जसको सम्यक र न्यायिक समाधानको बाटो हामी आफैंले निरुपण गर्नुपर्ने हुन्छ, अन्यत्रको अनुभव बटुली समाधान पहिल्याउने सुविधा हामीसँग छैन। तेस्रोतर्फ नयाँ संविधानले उत्पन्न गरेको विवाद र सामजिक विभाजनको भूमरीमा फसिरहेका अवस्था हो र यसबाट सुरक्षित अवतरण आजको पहिलो आवश्यकता हो।
बाबुरामले आफ्नो पुरानो वैचारिक र सैद्धान्तिक धरातल छोडी नयाँ ठाउँमा छलाङ त लगाए तर गणितको भाषामा भन्ने हो भने 'कोअर्डिनेट अज्ञात' भएको विन्दुमा पुगेका छन्, जहाँ उनको वास्तविक उपस्थितिको ज्ञान हुँदैन।
देशलाई यस जटिल चरणबाट अगाडि बढाउँदा वर्तमानका यी कार्यभारप्रतिको दृष्टिकोण, यिनको सम्यक समाधानको विश्वासिलो तथा यथार्थपरक योजना तथा कार्यक्रमको आधारमा पार्टीहरूको प्रगतिशीलता, क्रान्तिकारिता तथा नयाँपनको परख हुने भएकोले अग्रगमनका लागि यस सामाजिक तथा आर्थिक जटिलतातर्फ इंगित गरिएको हो।
यस जटिल तथा तरल अवस्थामा देशको आधुनिक तथा नयाँ समाज ( पार्टीहरूले भन्ने गरेको तर व्यवहारमा नदेखिएको) निर्माणको कार्यभारले देशलाई त्यस गन्तव्यतिर डोर्याउन हामीसँग किटानी लक्ष, स्पष्ट नीति, दृढ संकल्प, ठोस योजना, स्वच्छ राजनीति, उच्च मनोबल, शुद्ध आचरण र उच्च नैतिकताको माग गरिरहेको छ। यसका लागि देश र जनताप्रति समर्पण भाव तथा तदनुरुपका क्रियाकलापको आवश्यकता छ। आज यसै कोणबाट क्रियाशील पार्टीहरूको मूल्यांकन गरी त्यहीअनुकूलको दृष्टिकोण बनाउन आवश्यक छ।
यिनै अवस्था र आयामहरूको मूल्यांकन तथा समाधानको बाटो जस्ता विषयलाई कारण देखाएर वाम पार्टीहरूभित्र अन्तरद्वन्द्व र अन्तरपार्टी सम्बन्धहरूमा उथलपुथलको नयाँ दौड सुरु भएको छ (यद्यपि यस उथलपुथलमा उपरोक्त मुद्दाहरू भन्दा सत्तालालसा तथा व्यक्तिवादिता मुख्य कारण रहे पनि यी मुद्दाहरूलाई कारणको रूपमा प्रस्तुत गर्ने गरिएको छ)।
यस क्रममा पक्ष परिवर्तन, नयाँ गठजोड, पार्टी विभाजन तथा पार्टी गठनजस्ता प्रक्रिया देखापरिरहेका छन् र यसले अरू गति लिने सम्भावना देखा पर्छन्। बहुदलीय प्रजातान्त्रिक परिपाटीमा विभिन्न सिद्धान्त, दृष्टिकोण र उद्देश्यसहितका सानाठूला अनेकौं पार्टी अस्तित्वमा रहनु नयाँ पार्टी खोलिनु, राजनीतिक रूपमा ध्रुवीकृत हुनु सामान्य कुरा हो र यसलाई सामान्य रूपमा नै लिनुपर्छ।
विभिन्न पार्टीहरूको सहअस्तित्व र प्रतिस्पर्धा नै प्रजातन्त्रको सौन्दर्य हो। अहिले हामीकहाँ पनि पार्टीहरूको परस्पर विलयन, नयाँ पार्टीको गठन, पार्टीहरूको विभाजन प्रक्रिया चलिरहेका छन्। यसमा वाम खेमाभित्रका परिघटना विशेष चासोको रूपमा हेरिएका छन्।
देशको वर्तमान सर्वांगीण संक्रमणको चरणमा (समाजवादउन्मुख राज्य व्यवस्थाको निर्माण गर्ने संवैधानिक प्रतिबद्धता र नयाँ नेपाल निर्माणका लागि आमूल सामाजिक-आर्थिक परिवर्तनको अपरिहार्यताको अवस्थामा) अस्तित्वमा रहेका र नयाँ रूपमा संगठित भइरहेका पार्टीहरूलाई उपरोक्त कार्यभारप्रति तिनको दृष्टिकोण र प्रतिबद्धताको आधारमा हेर्नु र सम्भावनाको आकलन गर्नु र त्यसप्रति सचेत जनताबाट प्राप्त हुने प्रतिक्रिया स्वाभाविक हुन् र यस विषयमा विभिन्न पक्ष र कोणबाट अभिव्यक्ति आइरहेका पनि छन्। जनस्तरबाट यस्तो सरोकार देखिनु र त्यसका सबल र निर्वल पक्ष केलाउनु देश र समाजका लागि सकारात्मक कुरा हो।
यस क्रममा दशवर्षे सशस्त्र युद्धका नायक तथा एकताका प्रचण्ड पथका प्रवर्तक प्रचण्डको एमाओवादीबाट माओवादी केन्द्रको रूपमा जामा परिवर्तन र नयाँ जमघटको गठन र घोर माओवदी पक्षधर तथा माओवादको नेपाली संस्करणको रूपमा प्रचण्डपथका प्रेरक तथा व्याख्याता, पूर्व जनकमिसार बाबुराम भट्टराईको एमाओवादीको परित्याग र नयाँ शक्ति पार्टीको गठन प्रमुख चासोको विषय भएका छन्।
यी घटनालाई एकतर्फ नेपालमा वाम दुस्साहसवादको स्खलन तथा क्रमिक विघटनको रूपमा हेरिएको छ भने अर्कोतर्फ त्यसको नयाँ रूप र नयाँ राजनीतिक कार्यदिशा के हुने भन्ने विषयमा आम चासो देखापरेको छ। अहिले सत्ताधारी एमालेभित्र पनि दुई ध्रुवीय विभाजनको अवस्था देखिएको छ र शीतयुद्ध बढी मुखरित भएको छ। यी सबै परिघटनाले नेपाली राजनीतिको नयाँ पाटोलाई जन्म दिने सम्भावनाबारे जनमानसको चासो बढेको छ।
अहिले सत्ता र प्रतिपक्षमा रहेका प्रभावशाली पार्टीहरू, जसले राजनीतिक दिशालाई नयाँ मोड दिन सक्छन्, तीमध्ये नेपाली कांग्रसका लागि वर्तमान अवस्था राजनीतिक रूपमा लक्ष प्राप्त गरिसकेको अवस्था हो र आर्थिक परिवर्तन र विकासका लागि उसको प्रगतिशीलताको अधिकतम सीमा पश्चिमा पुँजीवाद निर्देशित र नियन्त्रित नव उदारवादी पुँजीवादको घेराभन्दा बाहिर जान सक्दैन।
प्रजातान्त्रिक समाजवाद उसको राजनीतिक हतियार मात्र हो अन्तिम लक्ष होइन भन्ने उसका विगतका क्रियाकलापले नै प्रमाणित गरिसकेको अवस्था हो। यस अवस्थामा देशलाई प्रगतिशील दिशामा अगाडि बढाउने जिम्मेवारी वामपन्थी शक्तिको हुन आउँछ। तर वामपन्थीखेमाको विश्लेषण गर्दा प्रचण्डको माओवादी केन्द्रको हकमा प्रचण्ड स्वयं संक्रमणकालको पीडाबाट गुज्रिरहनु भएको र उहाँले गठन गर्नुभएको माओवादी केन्द्र संस्थागत रूपमा कुनै ठोस साझा राजनीतिक तथा वैचारिक धरातलमा उभिनसकेको छैन भन्ने उनको सांगठनिक स्वरुपले नै देखाइसकेको छ।
त्यसमा सम्मिलित जमात परिवर्तनको साझा लक्ष र राजनीतिक दिशाभन्दा अस्तित्व संरक्षणको भोकले उत्पन्न गरेको परिस्थितिले एउटा मञ्चमा अवश्य उभिन पुगेका छन् तर त्यस केन्द्रले न अहिलेसम्म माओवादको मोह त्याग गर्न सकेको छ न त आफ्नै जीवनमा असफलता भोगेको नौलौ जनवादी क्रान्तिको नै। उनको नयाँ जनवादको स्वरुप के? स्पष्ट छैन।
चीनमा नै असफल नयाँ वादको दिशामा जानसक्ने अवस्था छैन। आफ्नै जीवनले सिकाएको पाठबाट प्रचण्डले सवक सिकेको हुनुपर्छ, राजनीतिक अस्तित्वका लागि। किनकि अगाडिको राजनीतिक दिशा स्पष्ट छैन।
यस क्रममा लामो प्रचार र तयारीपश्चात् बाबुरामको 'नयाँ शक्ति' पार्टीको रूपमा अगाडि आएको छ। यसका जन्मको पृष्ठभूमि केलाउने हो भने यसको जन्मको प्रमुख कारक सिद्धान्त र राजनीतिभन्दा व्यक्तित्वको टकराव देखिन्छ। बाबुरामले एमाओवादी परित्याग गर्नुअघि प्रचण्डसँगको व्यक्तित्वको टकरावलाई वैचारिक जामा लगाउन कार्यनीतिक मत न्तिाको नाममा 'नयाँ शक्ति' शब्दको प्रयोग गर्दै आएका हुन्।
त्यसबेला केही विश्लेशकहरूले यसलाई संसदीय परिपाटीलाई आत्मसात गरी दुई-दुई पटक सत्ता सञ्चालन गरिसकेको अवस्थामा माओवादी कलेवरको सान्दर्भिकता समाप्त भइसकेको र अब यो पार्टी पुरानो माओवादी रूपमा होइन, माक्र्सवादी सैद्धान्तिक जगमा उभिएको नयाँ शक्ति बन्नपर्छ भन्ने रूपमा अथ्र्याएका थिए।
यद्यपि अरू पार्टी भन्दा त्यस माक्र्सवादी शक्तिको विशिष्टता परिभाषित थिएन, तैपनि यसप्रति गैरमाओवादी माक्र्सवादीहरूको चासो बढेको थियो। तर यसको गठन प्रक्रिया र त्यसमा अभिव्यक्त वैचारिक तथा राजनीतिक अवधारणा र सांगठनिक स्वरुप हेर्दा यो पहिचानविहीन जत्थाको रूपमा देखापरेको छ। कुनै सैद्धान्तिक र राजनीतिक ठोस आधारविनाको व्यवहारवादी जमातको रूपमा देखा परेको छ। व्यवहारवाद भनेको, 'ताक परे तिवारी तत्र गोतामे' चरित्र हो।
'वाम लोकतान्त्रिक' शब्दलाई यदि, 'लेफ्ट सोसल डेमोक््रयाटको पर्यायवाचीको अर्थमा भनिएको हो भने आजको नेपालमा यस पार्टीका लागि नेपाली कांग्रेसभन्दा भिन्न चारित्रिक विशेषता र पहिचानसहित स्थापित हुने स्थान छैन। 'वाम-लोकतान्त्रिक' 'समाजवादउन्मुख' जस्ता शब्द संक्रमणकालीन गठबन्धन तथा राज्यसत्ताका रूप हुन सक्छन्, पार्टीको सैद्धान्तिक आधार होइन।
संक्षेपमा भन्नुपर्दा बाबुरामले आफ्नो पुरानो वैचारिक र सैद्धान्तिक धरातल छोडी नयाँ ठाउँमा छलाङ त लगाए तर गणितको भाषामा भन्ने हो भने 'कोअर्डिनेट अज्ञात' भएको विन्दुमा पुगेका छन्, जहाँ उनको वास्तविक उपस्थितिको ज्ञान हुँदैन।
यस अवस्थामा एकतर्फ देशलाई समाजवादउन्मुख अग्रगामी दिशामा लैजानुछ भने अर्कोतर्फ वाम खेमाभित्रको यो अन्यौल र विभाजन तथा मपाईंवादले दिशाविहीन र अन्यौलग्रस्त अवस्थामा पुर्याएको छ। यो चिन्ताको विषय हो। यस अवस्थामा सुधार ल्याउन देशको वर्तमान अवस्थाको सर्वांगीण विश्लेषण र संयुक्त कार्यदिशा तय गर्न संवादको नयाँ चरणको आवश्यकता छ।