पेटभरी खान नपाउने चेपाङको कथा
शिवप्रसाद उप्रेती
छतिनगैरा (गोरखा): आधा घन्टाको बाटो तल असारे उन्मादले निर्निमेष सुसाइरहेको त्रिशूली छ । त्रिशूलीको काँठकाँठै दिनरात गुड्ने गाडीले त्रिशूलीको आवाजलाई गाढा बनाइरहेको छ । वारि घ्याल्चोक ६ छतिनगैराका चेपाङ समुदायले पारि जोगीमारा, मझिमटार, हुग्दीखोला हेर्दै जिन्दगीका कहर काटेको पुस्तौं भयो ।
डन्नु चेपाङ उनीहरूमध्येकै एक हुन् । उनले त्रिशूलीको गोरखापट्टिको पखेरामा खनीखोस्री गरेको ५५ वर्ष भयो। यो उमेरसम्म आङभरि लगाएको र पेटभरि खाएको अनुभव उनीसँग छैन ।
उनी मेलाबाट घरमा पुग्दा सधैं साँझको आठ बजेको हुन्छ । गाउँभरि झिलिमिली बिजुली बत्ती बलिसकेको हुन्छ । कतै टीभी, कतै रेडियो बजिरहेको आवाज आइरहेको हुन्छ ।
थकाइले लखतरान भएर दुई लालाबाला र वृद्धा आमालाई घरमा भेट्न पुग्दा उनको घरमा बिजुली बत्ती त परको कुरा, टुकी बत्ती पनि बलेको हुँदैन । अँगेनुको धमिलो उज्यालोमा साढे चार बर्से छोरा विकास, सातबर्से कुमार र ८१ वर्षकी जन्मदाता आमा आधा हरछोपिने लुगा लगाएर बसिरहेका हुन्छन् ।
सातबर्से कुमारले खोले पकाइसकेका हुन्छन् । बाउ घर आउलान्, आदेश देलान् र दृष्टि र श्रवणशक्ति गुमाएकी बज्यैलाई खुवाएर आफूहरू खाउँला भनेर दुई भन्ट्याङभुन्टुङ पर्खिरहेका हुन्छन् । डन्नु सधैंजसो एक छाकमात्र खान्छन् त्यही पनि साहूको मेलामा ।
‘बिहान सात नबज्दै मेलामा पुग्छु', उनी भन्छन्, ‘बेलुका सात बजेसम्म काम गर्छु । भात दिए भने दुई सय ५० रुपैयाँ ज्याला दिन्छन् । खाजामात्र दिए भने तीन सय ।' यही पैसाले तीनजनालाई पुग्ने चामल, नुन किन्छन् । सधैं काम पनि पाइँदैन । ‘अहिले त खेत रोप्ने, मकै गोड्ने, घैया गोड्ने बेला परेको छ र काम पाइएको छ । सधैं त काम पाइँदैन', उनले भने, ‘अरू बेला साहूको घरमा घाँस लैजान्छु । गाईबस्तुको भकारो सोहोर्छु । खान दिन्छन् । दुईचार पैसा दिन्छन् ।'
परिवारलाई पकाउने र खुवाउने काम सातबर्से कुमारको जिम्मामा छ । बिहान साढे छ बजेतिर खोले पकाउँछन् । ‘ट्वाकको आधा चामल हाल्छु । दुई ट्वाक पानी हाल्छु', खोले पकाउने आफ्नोे दैनिकी सुनाउँदै उनले भने, ‘अनि छड्किन्छ । त्यसमै नुन हाल्छु । एकछिनपछि झिक्छु । बाउले खाँदैनन् । आमै, भाइ र मलाई पुग्छ ।'
कुमार, विकास र ८० बर्से आमैले बिहान छ बजेदेखिको भोक एकैचोटि साँझ आठ बजेतिर मेटाउँछन् । ‘दिउँसो भोक त लाग्छ । बाउ आउँदैनन्', कुमारले भने, ‘दिउँसो भोक लागेपछि गाउँ चाहार्छौं । आँपको फेदतिर जान्छौं ।' भोलिपल्ट बिहानको छाक पनि अधिकांश अघिल्लो साँझको बासी खोलेले टार्छन् । ‘हिजोको खोले थियो । यिनीहरूले त्यही खाए', बिहान साढे सात बजेतिर उनको घरमा पुग्दा डन्नुले बिहानको भान्सा भइसकेको बताए । आफ्नो भान्सा भने मेलामा हुने उनको भनाइ थियो ।
‘म त मेलामै खान्छु', केही कुरा लुकाएको, केही लजाएको स्वरमा फेरि भने, ‘म त साँझमा कहिल्यै पनि खान्नँ । बानी भइसक्यो । भोक पनि लाग्दैन ।' आँपले त्यस दिनको छाक टारेको कुरा उनले अलि पछि खुलाए । ‘अघि मेलाबाट आउँदा आँपको बोटमा गएको थिएँ । धेरै खाएँ । अमन भएको छ', उनले रहस्य खोले, ‘आँपको सिजनभरि त केटाकेटी पनि यसैले अघाउँछन् । ढुक्क हुन्छ ।' गिट्ठाको सिजन भर्खरै सकिएको हो । ‘वैशाख र जेठभरि गिठा, भ्याकुर र प्याकुनाले धान्यो । अहिले आँपले धानेको छ । अब हरियो मकै आउँछ', उनले भने ।
डन्नुले तीनफेर बिहे गरे । ‘शत्रु लागे । दुलै त टिक्नै दिँदैनन्', डन्नुले विकासतिर देखाउँदै भने, ‘यो सात महिनाको हुँदा छोडेर पोइला गई । यसकी आमा कान्छी हो । जेठीलाई पनि गाउँलेले कुरा लाएर बस्न दिएनन् । पोइल गई । माइलीलाई पनि बस्न दिएनन् । गरिब छ, पाल्न सक्दैन भन्दा रहेछन् ।' श्रीमती नहुँदा आफ्नो, बूढी आमाको र दुई लालाबालाको बेस्याहार भएकोमा उनको ठूलो विषाद छ ।
घरमुनि उनको एक हलको मेलो पखेरो छ । त्यहाँको उब्जनीले एक महिनालाई पनि पुग्दैन । ‘बाहुनको मेला जान्छु । दिउँसो १२ बजेतिर मेलामा भात खाएपछि साँझ खानै पर्दैन ।' बिहान कुमार आफैंले खोले पकाउँछन् । तिउन-तरकारी पकाउँदैनन् । खोलेमा नुन हालेर भाइ र बज्यैलाई पनि खुवाउँछन् । आफू पनि खान्छन् । साँझ पनि उनी आफैंले पकाउँछन् ।
डन्नुको घरभित्र अन्न राख्ने भकारी पनि छैन । गोदाम पनि छैन । केबल अँगेनु छ । पकाउने चलाउने र खाने दुईचार भाँडाकुँडा, एक पोका नुन र एकतिहाइ बोराजति चामलमात्र छ । राहतमा पाएको ओढ्ने र ओछ्याउने लुगा कुनामा डल्लो पारेर राखेका छन् । घरमा बिजुली बत्ती छैन । मिटरबक्स किन्ने र महसुल तिर्ने पैसा नहुँदा घरमा बत्ती नजोडेको उनले बताए । ‘बत्ती जोडेको छैन । जोड्ने खर्च नभएर नजोडेको', उनले भने, ‘बत्ती नभए पनि ठिकै छ । भए यी भान्टाङभुन्टुङ रमाउँथे होलान् ।'
कुमार र विकास दुवैजना स्कुल जाँदैनन् । स्थानीय शिक्षक अनुप चेपाङका अनुसार उनीहरूलाई पढ्न पठाउने अभिभावक छैनन् । ‘डन्नु एकाबिहानै मेलामा जान्छ । साँझमात्र फर्कन्छ', उनी भन्छन्, ‘बज्यै छिन् ८० वर्षकी । जन्मजात मुख बोल्दिनन् । बिहान १० बजे कसले पढ्न पठाउने ? ' दुई दाजुभाइले गाउँ चाहारेर दिन बिताउने गरेको उनले बताए । ‘कसले केही देला र खाउँला भनेर घरघर चाहार्छन् यी दाजुभाइ । तर यहाँ सबैको अवस्था उस्तै हो । कसले के दिने ? '
नजिकैको प्रजाज्योति प्राविमा सरकारले विद्यार्थीलाई खाजाको व्यवस्था गरेको छ । खाजाको लोभले पनि उनीहरू विद्यालय जाँदैनन् । डन्नुका अनुसार विकासको स्कुल जाने उमेर भएको छैन । कुमार जानै मान्दैन ।
सबै चेपाङ उस्तै
स्थानीय सन्तोष चेपाङका अनुसार डन्नु अलि बढी गरिब भए पनि छतिवनगैराका सबैको अवस्था उस्तै हो । गत वर्षको भूकम्पका कारण खाने, बस्ने कुरा राहतमा पाए । ‘नत्र घ्याल्चोकतिरका मान्छेको फाटेको लुगा ल्याई सिएर ओढ्नेओछ्याउने बनाउँछन्', उनले भने, ‘खानेकुरा पनि कोही एक छाक खाएर पेट पाल्छन् । कोही अरूको काम गरेर साँझबिहान पेट पाल्छन् त कोही कन्दमूल खाएरै ।' अरू ठाउँ विकास हुँदै गए पनि छतिवनगैराका चेपाङहरूको पुस्तौंदेखिको गरिबी हट्न नसकेको उनको भनाइ छ ।
चेपाङहरू भिरालो पखेरामा बसेकाले पनि गरिब भएको उनको भनाइ छ । ‘गरिब हुनुको मुख्य कारण यहाँको जमिन राम्रो छैन', उनले भने, ‘राम्ररी जोत्यो, सबै माटो बगाएर त्रिशूलीमा पु¥याउँछ । मल हाले पनि बगाएर त्रिशूलीको माछालाई हुन्छ । अनि खेती राम्रो हुँदैन ।'
धेरथोर कमाएको पैसा पनि जोगाएर राख्नुपर्छ भन्ने चेतना नभएको उनको ठम्याइ छ । ‘बाहिर गएर ढुंगामुढाको काम गरेर कमाएको पैसा पनि रक्सी खाएरै सिध्याउँछन्', सन्तोष भन्छन्, ‘जागिर खान पढाइ छैन । विदेश गएर कमाउने पनि छैनन् ।' स्थानीय अनुप चेपाङका अनुसार चेपाङहरू सानैमा बिहे गर्ने, धेरै सन्तान जन्माउने गरेकाले पनि पछि परेका हुन् । ‘अधिकांशको बिहे १५ वर्षमै हुन्छ', उनले भने, ‘अनि बच्चा जन्मा'को जन्मायै गर्ने, हुर्काउने, पाल्ने गर्दैमा जीवन बित्छ । कसरी प्रगति हुने ? ' राम्रो प्रशिक्षण गर्न सकेमा यहाँका चेपाङको पनि अवस्था सुधार हुने विश्वास उनले व्यक्त गरे ।