महिलालाई फोटोग्राफी तालिम
काठमाडौँ: सातदिने आधारभूत महिला फोटोग्राफी तालिमको शनिबार काठमाडौं जिल्ला क्षेत्र नं ३ का सांसद रामेश्वर फुँयालले समापन गरेका छन् ।
सरस्वतीनगरस्थित सरस्वतीनगर सुधार संघको भवनमा आयोजना भएको फोटोग्राफी तालिममा २७ जना महिलाको सहभागी थिए ।
महिला फोटोग्राफर तथा तेक्वान्दो तालिम उपभोक्ता समितिका अध्यक्ष ललिता खड्काले सहभागी महिलालाई तालिम दिएकी थिइन् । तालिमले महिलालाई सक्षम बनाई अगाडि बढ्न प्रेरणा दिने प्रशिक्षक खड्काले बताइन् ।
फोटोग्राफर खड्काको अध्यक्षतामा डाँछी तेक्वान्दो हलमा भएको समापन कार्यक्रममा काठमाडौँ फोटोग्राफर संघका अध्यक्ष भवदेव थापामगर, फोटोग्राफर तथा बज्र कलेजका प्रधानाध्यापक रत्नमान आँसु, समाजसेवी उर्मिला श्रेष्ठ, काठमाडौं फोटोग्राफर संघका सदस्य करिश्मा काप्री ढकाल र काठमाडौं फोटोग्राफर संघका सदस्य अस्मिता कार्कीले तालिम प्राप्त महिलालाई शुभकामना तथा बधाई दिए ।
समापन कार्यक्रममा प्रमुख अतिथि सांसद फुँयालले यस आर्थिक वर्षमा महिला फोटोग्राफी तालिमका लागि दुई लाख रुपैंया सहयोग गर्ने बताए ।
त्यसैगरी, काठमाडौं फोटोग्राफर संघका अध्यक्ष भवदेव थापा तथा वरिष्ठ फोटोग्राफर रत्नमान आशुले फोटोग्राफी तालिमलाई अगाडी बढाई महिलालाई दक्ष र आत्मनिर्भर बनाउन आ आफ्नो तर्फबाट पनि सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाए ।