फेरि बन्दुक उठाउने बैद्यको चेतावनी
काठमाडौं: क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्यले राष्ट्रिय स्वाधिनताको रक्षा र जनजीविकाका समस्या समाधान गर्न फेरि बन्दुक उठाउने चेतावनी दिएका छन् ।
उनले नयाँ जनवादी क्रान्ति आवश्यक रहेको बताउँदै त्यसका लागि आफ्नो पार्टीले बन्दुक उठाउने चेतावनी दिएका हुन्।
सो पार्टीले सोमबार रजाधानीमा आयोजना गरेको राष्ट्रिय भेलाको काठमाडौँमा उदघाटन गर्दै उनले यस्तो चेतावनी दिएका हुन्।
अध्यक्ष वैद्यले जनवादी क्रान्तिविना जनताको जीवनमा परिवर्तन नआउने भन्दै त्यसका लागि पार्टीले बन्दुक उठाउने गरी कार्यदिशालाई समृद्ध पार्ने बताए । बन्दुक उठाउनुपूर्व क्रान्तिका लागि लामो तयारी गर्नुपर्ने उनले बताए।
अध्यक्ष वैद्यले माओवादी केन्द्रमा गएका रामबहादुर थापा ‘बादल’को समूहप्रति लक्षित गर्दै क्रान्ति गर्न कठिन भएजस्तै सुखसयल गर्नेहरुको पनि भविष्य राम्रो नरहेको बताए ।
सो पार्टीले आफनो पार्टीलाई छोडेर धेरै नेताहरु माओवादी केन्द्रमा गएकोले यस्तो कार्यकर्ता भेलाको आयोजना गरेको हो ।
वैद्यले नेकपा (माओवादी केन्द्र) सँग आफनो पार्टीको एकता हुन नसक्ने बताए । उनले माओवादी दलहरुसँग कथित एकताका नाममा आफ्नो विचार, पार्टी र बचेको क्रान्तिकारी धारलाई ध्वस्त पार्न खोजिएको आरोप लगाए ।