१५ महिनापछि पालमुनिबाट भवनमा स्वाथ्य सेवा

१५ महिनापछि पालमुनिबाट भवनमा स्वाथ्य सेवा

नुवाकोट: 'भूकम्पले तहसनहस बनाइदिएपछि करिब डेढ वर्षदेखि पालमुनि निकै कष्ट व्यहोर्दै बिरामीको उपचार गरिरहेका थियौं। चर्को धुप, वर्षा, हावाहुरीलगायत सबै किसिमका अप्ठ्यारा झेल्न हामी बाध्य थियौं। अब भने बल्ल राहत मिल्ने भयो,' जर्मन सरकारले जिल्ला अस्पताल त्रिशूलीको हाताभित्र निर्माण गरिदिएको सबैभन्दा ठूलो प्रकारको 'प्रिफ्याब' भवन उद्घाटन कार्यक्रमपछि यहाँ कार्यरत डा. रकी प्रजापतिले सोमबार अन्नपूर्णसँग दुःखसँगै खुसी पनि व्यक्त गरे, 'बिरामीले बल्ल आरामका साथ उपचार पाउने भए।'

डा. प्रजापतिले साँघुरो र अप्ठेरो ठाउँमा सेवा प्रदान गर्दा पाएको सास्तीबारे बोल्दै गर्दा अस्पताल परिसरमा १५ महिनादेखि खडा गरिएका अँध्यारा, चिसा र खुम्चिँदै गएका पालहरूका ढोकाबाट अन्य चिकित्सक, नर्स, बिरामी र उनीहरूका आफन्तले पनि खुसीसाथ नयाँ भवन चिहाइरहेका थिए।

झाडापखाला भएपछि आमालाई भर्ना गरेकी रसुवा लहरेपौवाकी पार्वती आचार्य पनि छिट्टै अस्पतालमा नयाँ भवन खडा भएको र केही दिनमै त्यहाँ बिरामीलाई सार्ने सूचना पाएपछि दंग थिइन्। 'छोराछोरी, आफन्त बिरामी पर्दा म पटकपटक यो अस्पताल आउने गरेको छु।

पहिले हेर्दा पनि विरक्त लाग्थ्यो। सुत्ने ठाउँ नभएर रातभरि जागा बस्थ्यौं। लामखुट्टेले टोकेर हैरान पाथ्र्यौ। आफैं बिरामी परेर जानुपर्ने अवस्था थियो', उनले भनिन्, 'अब त्यस्तो हुन्न होला। नयाँ भवनमा बिरामीलाई सार्न पायौं भने पनि धेरै समस्या समाधान हुन्थ्यो जस्तो लागिरहेको छ।'

नेपाल-जर्मनी पुनर्निर्माण कार्यक्रमसम्बन्धी रूपरेखामा आधारित जर्मन संघीय आर्थिक सहयोग तथा विकास मन्त्रालयको आर्थिक सहयोगमा जीआईजेडले एक करोड २० लाख रुपैयाँ लागतमा पाँच महिनामै उक्त भवन निर्माण गरिदिएको हो। बहिरंग सेवा, प्याथोलोजी ल्याब, रेडियोलोजी सेवा, प्रसूति सेवालगायत आधुनिक स्वास्थ्य सेवा दिन मिल्ने गरी १७ वटा कोठाको भवन निर्माण गरिएको हो।

 

धादिङ, नुवाकोट र रसुवाका बिरामीलाई लामो समयदेखि सेवा दिइरहेको उक्त अस्पतालका १९ वटा ब्लकमध्ये १४ वटा ब्लक भूकम्पले ध्वस्त बनाइदिएको थियो। भूकम्पले अस्तव्यस्त बनाएको उक्त अस्पतालको सेवालाई निरन्तरता दिन भुटानी चिकित्सकको टोलीले एक महिनासम्म यहीं बसेर सहयोग गरेका थिए। त्यसपछि पालमुनि सारिएको सेवा अब नवनिर्मित प्रिफ्याब भवनमा सारिनेछ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सुर्यप्रसाद भुसालले भूकम्पका कारण संकटमा परेको अस्पतालको सेवालाई स्तरीय रूपमा प्रदान गर्न जर्मन सरकारले ठूलो गुन लगाएको बताए।

भवन उद्घाटन र हस्तान्तरण कार्यक्रमका लागि पुगेका निमित्त स्वास्थ्य सचिव डा. पदमबहादुर चन्दले नेपालको स्वास्थ्य सेवा स्तरीय रूपमा प्रदान गर्न जर्मन सरकारले ठूलो सहयोग गरेको बताए। मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले पनि आपत्का बेला सहयोग गर्ने निकाय जीआईजेडप्रति आभार व्यक्त गरे।

जर्मन राजदूत मथायस मेयरले भूकम्पपछि निर्मित अस्पताल भवन स्वास्थ्य संस्थाको सफल पुनर्निर्माणमा कोसेढुंगा साबित भएको बताए। जीआईजेडका निर्देशक डा. रोलाण्ड स्टेयुरेरले स्वास्थ्य मन्त्रालसँगको साझेदारीमा जर्मन विकास सयोगले त्रिशूली अस्पतालसहित नुवाकोट र धादिङमा गरी ३८ वटा प्रिफेब्रिकेटेड स्वास्थ्य चौकी निर्माण गरिरहेको जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.