बाढीको त्रासमा सर्वसाधारण

 बाढीको त्रासमा सर्वसाधारण

विराटनगर: बक्राहा खोलामा आएको बाढी बस्तीमा पसेर घर डुबानमा परेपछि १५ दिनअघि विस्थापित बनेको मोरङको मधुमल्ला ५ का धनबहादुर मगरको परिवार अहिले आफ्नै घरमा फर्किएको छ।

तर कतिबेला खोलामा बाढी आउने हो र त्यसले थप क्षति पुर्‍याउने हो भन्ने त्रास मगर परिवारमा कायमै छ। सरकारी तवरबाट सुरक्षित रूपमा वैकल्पिक र दिगो बासस्थानको व्यवस्था हुन नसक्दा मगर परिवार पुरानै घरमा बस्न बाध्य छ।

'बाढीले बाँध फुटाएर फेरि बस्तीमा पस्यो भने स्थानीय बासिन्दा धेरैको उठिबास हुनेछ। अझ रातको समयमा बाढी आयो भने भागेर ज्यान जोगाउन पनि पाउँदैन', स्थानीय पूर्ण बस्नेतले भने, 'कति बेला के हुने हो भन्ने त्रासमा छन् सबै। खोलामा आउने बाढीले थप क्षति पुर्‍याउने खतरा टरेको छैन।'

जेठ २२ गते बिहान आएको बाढीले घर डुबाउँदा मगर परिवारसँगै विस्थापित बनेको अन्य सात परिवार अहिले पहिलेकै घरमा फर्किए पनि सबैमा त्रास भने कायमै छ। बाढीले बगाएर एकजनाको मृत्यु पनि भयो। बस्नेतले भने, 'बाढीले घर डुबान हुँदा पीडामा परेका सबै परिवार त्रासदीपूर्ण अवस्थामा दिनरात काटिरहेका छन्। उनीहरूलाई सुरक्षित अवतरणको व्यवस्थाका लागि कुनै पनि पहल भएको छैन।'

गत वर्ष असार १५ गते राति त्यही खोलो बाँध फुटाएर बस्तीमा पस्दा मधुमल्लाका ४, ५, ६ र ८ नम्बर वडा पूरै प्रभावित बनेका थिए। बाढीले क्षतिको घर मर्मतसम्भार गरेर दुई सय परिवार बसिरहेको छ। त्यतिबेला बाढीले चार घर बगाउनुका साथै मधुमल्ला ५ का ४ वर्षीय शिशिर थापाको बाढीले बगाएर मृत्यु भएको थियो।

 

मोरङका विभिन्न खोलामा आउने बाढीका कारण बर्सेनि थुप्रै धनजनको क्षति हुने गरे पनि सरकारी तवरबाट क्षति न्यूनीकरणका लागि भएका काम प्रभावकारी हुन सकिरहेका छैनन्। नुनसरी बक्राहा, गछिया, चिसाङ, तेली, सोल्टी, मोरंगी, लोहन्द्रा, खदम, बुढी, सिंगिया, मावा, राम्री, सुनझोडा, रतुवा, ध्रापासमेतका खोलाले ठूलो मात्रमा धनजनको क्षति पुर्याउने गरेको सरकारी निकायले जनाएका छन्।

दिगो रूपमा कसरी सुरक्षित गर्न सकिन्छ भन्ने बारेमा सरकारी निकायले चासो नदेखाउने गरेको र पुरानै ठाउँमा गएर बस्नुपर्ने बाध्यता रहेको पीडितको गुनासो छ। 

प्रहरीले तयार पारेको विवरणअनुसार अत्यधिक वर्षासँगै खोलामा आउने बाढी र हुने डुबानका कारण मोरङका विभिन्न स्थानमा बस्ने सात हजार परिवारका ३५ हजारभन्दा बढी जनसंख्या बाढी र डुबानको उच्च जोखिममा छन्। 

उर्लाबारीका स्थानीय मानबहादुर श्रेष्ठ खोला नियन्त्रणका लागि सरकारी उदासिनताको सिकार सर्वसाधारणले बन्नु परिरहेको बताउँछन्। 'खोला नियन्त्रणका लागि भनेर निर्माण गरिएका बाँध र तटबन्ध बलिया नहुँदा फुटाएर बाढी बर्सेनि बस्तीतिर पस्ने गरेको छ,' उनले भने, 'लापरबाहीका कारण खोला नियन्त्रणका लागि खर्च गर्ने गरिएको लाखौं रुपैयाँ बालुवामा पानी हालेजस्तो हुने गरेको छ।'

दीगो रूपमा बाँध र तटबन्ध निर्माण गरेर खोला नियन्त्रण गर्ने कामलाई प्रभावकारी नबनाइँदा सर्वसाधारणले बाढीको त्रास र पीडा भोग्नु परिरहेको बताउँदै श्रेष्ठले भने, 'कतिपय स्थानमा खोला नियन्त्रणका लागि बनाइएका बाँध कमजोर भएको र कतिपय स्थानमा खोला नियन्त्रणको कुनै पनि प्रयास नहुँदा बस्ती जोखिममा छन्।'

जलउत्पन्न प्रकोप नियन्त्रण डिभिजन कार्यालय नम्बर २ मोरङका सूचना अधिकृत एवं इन्जिनियर सरोज कार्की मोरङमा साना तथा ठूला गरेर ४० देखि ५० स्थानमा खोला, खोल्सी नियन्त्रण, बस्ती बचावट र पहिरोको जोखिम कम गर्ने हिसाबमा काम गरिएको बताउँछन्।

गुरुयोजनामै पारेर गछिया, लोहोन्द्र, चिसाङ र बक्राहा खोलामा बाँध र तटबन्ध निर्माणको काम सम्पन्न भइसकेको उनको भनाइ छ। 'खोला नियन्त्रणका लागि धेरै काम भएका छन्। तर मोरङ सुरक्षित छ भनेर भन्न सक्ने अवस्था छैन,' उनले भने, 'बाँध र तटबन्ध निर्माणका लागि नियमिततर्फ यो वर्ष तीन करोड रूपैयाँ खर्च भइसकेको छ। आपतकालीनतर्फ एक करोड रुपैयाँ खर्च गरेर काम सम्पन्न हुने अवस्था छ।'

प्रहरीले तयार पारेको विवरणअनुसार अत्यधिक वर्षासँगै खोलामा आउने बाढी र हुने डुबानका कारण मोरङका विभिन्न स्थानमा बस्ने सात हजार परिवारका ३५ हजारभन्दा बढी जनसंख्या बाढी र डुबानको उच्च जोखिममा छन्।

मोरङ प्रहरी प्रमुख एसपी सन्दीप भण्डारीका अनुसार यसअघि आएकाका बाढीले पुर्याएको क्षतिको अवस्थाको आधारमा सम्भावित जोखिमयुक्त स्थानको पहिचान गरेर प्रहरीले बाढी र डुबानबाट प्रभावित हुने क्षेत्रको विवरण तयार पारेको हो। 'बाढी र डुबानका उच्च जोखिममा रहेका स्थानमा प्रहरीले उच्च सतर्कता अपनाएको छ,' भण्डारीले भने।

प्रहरीका अनुसार विभिन्न गाविस र नगरपालिकासहित हसनदह, बारंगी, लेटाङ-भोगटेनी, जाँते, बेलबारी, केराबारी, सुन्दर-दुलारी, कोसी-हरैंचा, लखन्तरी, मोतीपुर, उर्लाबारी, मधुमल्ला, राजघाट, सिजुवा, बरडंगा, महादेवा, गोविन्दपुर, इटहरा, होक्लाबारी , बबियाविर्ता, दादरबेरिया, कदमाहासमेतका विभिन्न वडा बाढी र डुबानको उच्च जोखिममा छन्। खोला किनार र आसपासमा रहेका बस्ती जोखिममा रहेको प्रहरीले जनाएको छ।

'मोरङका धेरै स्थानका बासिन्दा बाढी र डुबानको उच्च जोखिममा छन्। उनीहरू कतिबेला के हुने हो भन्ने त्रासमा बसिरहेका छन्,' प्रमुख जिल्ला अधिकारी तोयम रायाले भने, 'कुनै समस्या आइहाले तत्काल उद्धारका लागि प्रहरीसमेतका सुरक्षा निकायलाई तैनाथी अवस्थामा राखिएको छ। खोला किनारमा रहेका बस्तीको सुरक्षाका लागि अपनाउनुपर्ने सबै उपाय अपनाएर हुन सक्ने सम्भावित जोखिम न्यूनीकरणका लागि सम्बन्धित निकायलाई निर्देशन दिइसकिएको छ।'


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.