स्लोभाकियासँग गोलरहित बराबरी खेल्दै इङ्ल्यान्ड प्रि क्वार्टरमा
काठमाडौंः युरोकप फुटबल प्रतियोगिता अन्तरगत समूह चरणको अन्तिम खेलमा इङ्ल्यान्ड स्लोभाकियासँग बराबरीमा रोकिएको छ ।
समूह ‘बी’ अन्तरगतको अन्तिम खेलमा आफ्ना प्रमुख ६ खेलाडीलाई बेन्चमा राखेर उत्रेको इङ्ल्यान्डका कुनै स्ट्राइरले प्रभाव देखाउन सकेनन् ।
यसअघिको वेल्सविरुद्धको खेलमा गोल गरेका डानियल स्टुरेज र जेमी भर्डेलाई अग्रपंक्तिमा उतारेको इङ्ल्यान्डले मिडफिल्डमा पनि दोस्रो रोजाइका खेलाडीलाई अवसर दिएको थियो ।
प्रिमियर लिगमा सफल भएका स्ट्राइकरहरु युरोकपमा नचलिरहँदा प्रशिक्ष रोय हड्सनले स्लोभाकियाविरुद्ध पनि परीक्षण गर्न खोजेका थिए । तर उनी यो परीक्षणमा पनि खरो उत्रन सकेनन् ।
स्लोभाकियासँग गोलरहित बराबरी खेलेपछि इङ्ल्यान्ड तीन खेलबाट पाँच अंकसहित अन्तिम १६ मा पुगेको छ ।
इङ्ल्यान्डले समूह चरणको पहिलो खेलमा रसियासँग बराबरी खेलेको थियो भने वेल्सलाई पराजित गरेको थियो । अन्तिम खेलमा स्लोभाकियासँग पनि गोलरहित बराबरी खेलेपछि ऊ यो समूहबाट ५ अंकसहित अन्तिम १६ मा पुगेको हो ।