रोजगारीको सम्भावना खोज्दै, उच्च शिक्षा रोज्दै

  रोजगारीको सम्भावना खोज्दै, उच्च शिक्षा रोज्दै

काठमाडौं: एसएलसी परीक्षाको नतिजा सार्वजनिक भएसँगै विद्यार्थीहरू कक्षा ११ को पढाइका लागि राम्रा उच्च माविको खोजीमा लागिसकेका छन्।

छोराछोरीको चाहनालाई साथ दिँदै अभिभावक आफैं पनि कुन विषय पढ्दा राम्रो हुने र अध्ययनपछि रोजगारीका सम्भावना कस्तो छ भन्ने परामर्शमा जुटिरहेका छन्।तर अझै पनि विद्यार्थीहरू ढुक्क हुन सकेका छैनन्, राम्रो कलेज, राम्रा विषय र अध्ययनपछि रोजगारीका सम्भावनालगायतका विषयमा।

गत बिहीबार सार्वजनिक भएको एसएलसी नतिजामा ए प्लस ग्रेड ल्याएर उत्तीर्ण भएका मनीष अधिकारी यस्तै विद्यार्थीमध्येका एक हुन्, उनले कक्षा एघार पढ्नका लागि थुप्रै विद्यालय चाहारिसके पनि कुन विद्यालय रोज्ने भन्नेमा अझै निर्णय गर्न सकेका छैनन्।

'नतिजा आएको एक साता समयमा पाँचवटा उच्च माविको भ्रमण गरिसकें। तैपनि यही उच्चमाविमा भर्ना हुन्छु भन्ने निर्णय गर्न सकिन', आफ्नो समस्याबारे अधिकारी भन्छन्,'एकथरी आफन्त उच्चमाविले कक्षा एघार र बाह्रको विद्यार्थी उत्तीर्ण दरलाई आधार मानेर विद्यालय रोज्नुपर्छ भन्छन्।

अर्काथरी मानिस उच्च प्रतिशत ल्याएर विद्यार्थी उत्तीर्ण गराउने भन्दा पनि विद्यार्थीलाई विषयगत रूपमा सीप सिकेर गरिखान सिकाउने विद्यालय रोज्नुपर्छ भन्छन्। त्यही भएर म अलमल्लमा परें।'

हालै संसद्बाट पारित शिक्षा ऐन संशोधनसम्बन्धी विधेयकले कक्षा बाह्रलाई विद्यालय शिक्षाको अन्तिम तहका रूपमा परिभाषित गरेपछि विद्यार्थीहरू यस तहमा जसरी भए पनि राम्रो अंक ल्याएर उत्तीर्ण हुनुपर्ने दबाबमा छन्।

स्नातक तहमा मेडिकल, इन्जिनियरिङलगायत व्यवस्थापन, मानविकी र शिक्षा संकायमा पढ्नका लागि समेत विद्यालय शिक्षाको नतिजालाई आधार मानिने हुनाले विद्यार्थीमा यस्तो दबाब परेको हो।

नासा इन्टरनेसनल कलेजका प्राचार्य सुधीरकुमार झा एसएलसीमा ल्याएको प्रतिशतभन्दा पनि कक्षा बाह्रको प्रतिशतको महत्व अधिक रहेकाले यसमा विद्यार्थीहरू विशेष सजग भएर उच्चमाविको खोजीमा जुट्नुपर्ने बताउँछन्।

'अहिले एसएलसीको प्रतिशको मात्र कुनै अर्थ छैन। विद्यार्थीले जसरी पनि एसएलसीमा उच्च अंक ल्याएका हुन्छन्। हामी त्यतातिर खोजी पनि गर्दैनौं', झा भन्छन्,'विद्यार्थीको मुख्य उपलब्धि परीक्षण गर्ने ढोका भनेको १० जोड दुईको नतिजा हो। जुन नतिजाले विद्यार्थीलाई उच्चशिक्षामा कुन विषय पढेर भविष्यमा के बन्ने भन्ने निक्र्योल गर्न मद्दत गर्छ।'

 

कक्षा ११ मा विद्यार्थी आकर्षण गराउन जेजस्तो आश्वासन दिएर भर्नामात्र गराउने भन्दा पनि त्यहाँबाट उत्पादन भएका विद्यार्थीहरू कुनकुन क्षेत्रमा लागेका छन्, त्यहाँ पढाउने शिक्षकको योग्यता र क्षमता कस्ता छन् भन्ने विषयमा बढी अध्ययन गर्नुपर्ने झाको सुझाव छ।


अहिलेको आवश्यकता विद्यार्थीलाई धेरै प्रतिशत ल्याएर उत्तीर्ण गराउने होइन। उनीहरूलाई भविष्यमा सक्षम नागरिक भएर जीउन सक्ने कला सिकाउने शिक्षा आवश्यक छ।

 उच्च माध्यमिक शिक्षा परिषद्का उपाध्यक्ष चैतन्य शर्मा पनि विद्यार्थीहरू कक्षा एघारको भर्नाका समयमा विद्यालयको ठूलाठूला र आकर्षक भवनभन्दा पनि त्यहाँको पढाइ उपलब्धि कस्तो रहेको छ भन्ने विषयमा सजग रहनुपर्ने बताउँछन्।

'अहिलेको आवश्यकता विद्यार्थीलाई धेरै प्रतिशत ल्याएर उत्तीर्ण गराउने होइन। उनीहरूलाई भविष्यमा सक्षम नागरिक भएर जिउन सक्ने कला सिकाउने शिक्षा आवश्यक छ', शर्मा भन्छन्,'विद्यार्थीले उच्चमावि रहेको स्थान, उच्चमावि वरपरको वातावरणलगायतका विषयमा पनि बुझेर मात्र भर्ना हुनुपर्छ।'

एसएलसी परीक्षामा उच्च अंक ल्याएर उत्तीर्ण भए पनि दस जोड दुईमा सामान्य अंकमात्र ल्याएर उत्तीर्ण भएका विद्यार्थीका थुप्रै उदाहरण छन्। त्यति मात्र होइन, एसएलसीमा सामान्य अंक ल्याए पनि दस जोड दुईको राम्रो नतिजाका कारण छात्रवृत्तिमा मेडिकल, इन्जिनियरिङलगायतका विषय अध्ययनको मौका पाएका विद्यार्थी पनि थुप्रै भेटिन्छन्।


विद्यार्थीको रुचि र क्षमताबारे मूल्यांकन नगरी सामाजिक प्रतिष्ठा कायम राख्न र अरूलाई देखाउनका लागि मात्र विद्यार्थीलाई भर्ना गरिँदा यस्ता समस्या आउन सक्छन्।'अहिले नेपालमा लाइसेन्स लिएका चिकित्सकको संख्या अठार हजारको हाराहारीमा छ। तर कार्य क्षेत्रमा खटिएका चिकित्सकको संख्या ६ हजार पनि छैन', परिषद्का सदस्यसचिव नारायण कोइराला भन्छन्,'यसको अर्थ विद्यार्थीको रुचि र क्षमता हेरेर उच्चमाविमा भर्ना गरिदिनुपर्दछ हो।'

कसैप्रति इगो देखाउन वा समाजमा आफ्नो हैसियतमात्र देखाउन महँगा विद्यालयमा कठिन विषयमा भर्ना गरिँदा बिचैमा पढाइ छोड्ने, विद्यार्थीमा मानसिक तनाव हुनेजस्ता समस्या पनि निम्त्याउन सक्ने हुनाले अभिभावक तथा विद्यार्थी स्वयं पनि सचेत रहनुपर्ने कोइरालाको भनाइ छ।

उच्च माध्यमिक विद्यालय संघ (हिसान) का सचिव कपिलदेव रेग्मी पनि पछिल्ला वर्षहरूमा उच्चशिक्षाका बारेमा परामर्शमा आउने विद्यार्थीहरू विद्यालयको प्रतिशतभन्दा पनि अतिरिक्त क्रियाकलापको अवस्था कस्तो रहेको छ भन्नेमा चासो राख्न थालेको बताउँछन्।

'मेरो विद्यालयमा आउने विद्यार्थी र अभिभावकहरूमध्ये अधिकांशले तपाईंको विद्यालयको नतिजा कस्तो छ भन्दा पनि तपार्ईंकोमा अतिरिक्त क्रियाकलापको अवस्था कस्तो छ भनेर सोध्ने गर्नुभएको छ। हामीले त्यहीअनुसार विद्यार्थीको व्यक्तिव्य विकास, आत्मविश्वास बढाउनेलगायतका क्रियाकलापमा जोड दिएका छौं', कान्जिरोवा उच्चमाध्यमिक विद्यालयका प्राचार्यसमेत रहेका रेग्मीको अनुभव छ।

एसएलसीपछि कुन विषयमा कति विद्यार्थी?


उच्च माध्यमिक शिक्षा परिषद्को तथ्यांक हेर्दा विगतका वर्षहरूमा एसएलसीमा विशिष्ट श्रेणीमा उत्तीर्ण हुने विद्यार्थीको पहिलो रोजाइ विज्ञान विषय पढ्नेतिर रहेको देखिन्छ।

प्रथम श्रेणीमा उत्तीर्ण भएका अधिकांश र विशिष्ट श्रेणी ल्याएका पनि केही विद्यार्थीको आकर्षण व्यवस्थापनतिर रहेको पाइन्छ। दोस्रो श्रेणीमा उत्तीर्ण भएका तथा बाँकी विद्यार्थीको प्राथमिकता शिक्षा र मानविकी समूहतिर रहेको छ।

परिषद्का अनुसार गत वर्ष एसएलसी उत्तीर्ण भएर उच्च माध्यमिक शिक्षा परिषदन्तर्गतका उच्चमाविहरूमा भर्ना भएकामध्ये ४५ प्रतिशत विद्यार्थी शिक्षा विषयतिर, ३० प्रतिशत विद्यार्थी व्यवस्थापनतिर तथा विज्ञान विषय पढ्ने विद्यार्थी १४ प्रतिशतको हाराहारीमा छन्। बाँकी विद्यार्थी मानविकी तथा समाजशास्त्रतिर भर्ना भएको देखिन्छ।

नेपालमा अहिले संस्थागत रूपमा पाँचवटा संस्थाले उच्च शिक्षा पढाइरहेका छन्। विद्यार्थीको आकर्षण पहिलो आकर्षण प्लस टु, दोस्रो सिटिइभिटी, तेस्रोमा ए लेभल, चौथो सिबिएसई तथा आइसिएससी र पाँचांैमा आइबी बोर्डतिर रहेको विभिन्न अध्ययनहरूले देखाएका छन्।


सीपमूलक शिक्षाका लागि सिटिइभिटी


एसएलसी परीक्षा उत्तीर्णपछि विद्यार्थीको दोस्रो आकर्षणका रूपमा रहेको संस्थामा पर्दछ, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)। सिटिइभिटीले एसएलसी उत्तीर्ण विद्यार्थीलाई लक्षित गरेर स्वास्थ्य तथा इन्जिनियरिङमा तीनवर्षे डिप्लोमा, नर्सिङ तथा १५ महिने'सर्ट टर्म' कोर्सका रूपमा टेक्निकल एसएलसी (टीएसएलसी) को पढाइ सञ्चालन गरिरहेको छ।

त्यसबाहेक एसएलसीमा अनुत्तीर्ण विद्यार्थीलाई सीपमूलक तालिमका साथमा प्राविधिक शिक्षा दिने उद्देश्यले २९ महिने प्राविधिक एसएलसीको पढाइ पनि सञ्चालन गरिरहेको छ।

सिटिइभिटीका सदस्यसचिव डा. रामहरि लामिछानेका अनुसार यस्ता शिक्षालयमा विद्यार्थी भर्ना क्षमता २५ हजारको हाराहारीमा छ। डिप्लोमा तहमा मुलुकभरका शिक्षालयमा १६ हजार तीन सय पचासजना विद्यार्थी भर्ना गर्ने क्षमता छ। यस्ता कलेजको संख्या दुई सय ४२ छ। नर्सिङ कलेजको संख्या एक सय नौ छ। नर्सिङ र डिप्लोमा तहको पढाइ हुने कलेजहरू ५० जिल्लामा छन्।

प्राविधिक एसएलसी दिने शिक्षालय ६० जिल्लामा छन्। जसमा ३३ वटा पाठ्यक्रम तयार गरिएको भए पनि २६ वटा विषयको मात्र पढाई सुरु गरिएको छ। सिटिइभिटीले सामुदायिक विद्यालयहरूमा जेटिए, भेटनरीलगायतका विषय पढाइ हुने १५ महिने एनेक्स कार्यक्रम पनि सञ्चालन गरिरहेको छ।

जुन कार्यक्रम एसएलसीपछि सीमित समय अध्ययन गरेर रोजगारीमा जान चाहने विद्यार्थीलाई लक्षित गरेर तयार गरिएको हो। एनेक्स कार्यक्रम ७५ वटै जिल्लाका ९९ वटा सामुदायिक विद्यालयमा सञ्चालित छन्।

सिटिइभिटीबाट उत्पादन भएका विद्यार्थीहरूमध्ये ९३ प्रतिशत उत्पादन संस्थाको सम्बन्ध लिएर निजी कम्पनीमा तथा सहकारीमा दर्ता भएर सञ्चालित संस्थाका छन्। आठ प्रतिशत विद्यार्थीमात्र आंगिक क्याम्पसमा पढ्ने गरेको सिटिइभिटीबाट सम्बन्धन लिएर सञ्चालित कलेज सञ्चालकहरूको संस्था फोरम फर हेल्थ एन्ड टेक्निकल साइन्सका अध्यक्ष कश्यप पौडेल बताउँछन्।

विदेशी डिग्री लिनेलाई ए लेभल
बेलायतको क्याम्ब्रिज विश्वविद्यालयसँगको सम्बन्धनमा सञ्चालित ए लेभल नेपालमै बसेर विदेशी पाठ्यक्रमअनुसार पढ्छु भन्ने विद्यार्थीका लागि उपयुक्त विकल्प बनेको छ।

नेपालमा यस विषयको पढाइ बूढानीलकण्ठ स्कुलले सन् १९८६ मा सुरु गरेको थियो। दस जोड दुईसरहको यो तहको पढाइ विश्वका एक सय ७० मुलुकमा मान्यता दिइन्छ।

विश्वव्यापी मान्यता प्राप्त शिक्षा भएकाले वर्षैपिच्छे यसको लोकप्रियता बढिरहेको कलेज सञ्चालकहरू बताउँछन्।

ए लेभलको पढाइ सञ्चालन गरिरहेको शैक्षिक संस्थाहरूको छाता एउटा साझा संस्था क्याम्ब्रिज एजुकेसन एसोसिएसन अफ नेपाल (सिएन) का अनुसार नेपालमा अहिले नेपालका दर्जन भन्दा बढी शैक्षिक संस्थाले सञ्चालन गरिरहेका छन्।

नेपालमा अहिले पनि वार्षिक एक हजार पाँच सयको हाराहारीमा विद्यार्थीहरू ए लेभल अध्ययनका लागि भर्ना हुन्छन्।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.