लमजुङमा पनि समातिए ‘नक्कली चिकित्सक’
बेंसीशहरः नक्कली चिकित्सकविरुद्ध क्वाक अभियान चलाइरहेको प्रहरीले लमजुङबाट नक्कली चिकित्सकको आशंकमा एकजनालाई पक्राउ गरेको छ ।
पूर्वी लमजुङको राइनास–३, धमिलिकुवा गरमबेंसीस्थित सहोदर अस्पताल प्रालिका सञ्चालक समेत रहेका ३८ वर्षीय शिवराम श्रीमल पक्राउ परेका हुन् ।
नक्कली चिकित्सकको आशंकामा उनी प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को सूचीमा थिए । उनलाई जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक कमल रजौरेकोे नेतृत्वको टोलीले दिउँसो अस्पतालबाटै पक्राउ गरेको हो ।
‘सबै काम सकाएपछि सीआईबीको पत्र देखायौं’, प्रहरी निरीक्षक रजौरेले भने, ‘उनले सहजरुपमा स्वीकार गरेपछि थप अनुसन्धानका लागि अपराध अनुसन्धान ब्युरो पठाइसकेका छौं ।’
पक्राउ परेका उनले भारतको विहार विश्वविद्यालय अन्तर्गत जेपीएल कलेजबाट आईएस्सी, काठमाडौं मेडिकल कलेजबाट एमबीबीएस र बीर अस्पतालबाट एमडी गरेको गरेको बयान दिएको प्रहरीले जनाएको छ ।