आर्थिक अभियान दैनिकलाई प्रेस काउन्सिलको यस्तो निर्देशन
काठमाडौं (अन्नपूर्ण): प्रेस काउन्सिलले आर्थिक अभियान राष्ट्रिय दैनिकलाई इन्भेस्टमेन्ट बैंक र त्यसका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृतविरुद्ध उक्त पत्रिकामा प्रकाशित धारावाहिक टिप्पणीको खण्डन छाप्न या नछाप्ने भए त्यसको कारण सात दिनभित्र खुलाउन निर्देशन दिएको छ।
अमर्यादित र अपमानजनक भाषामा शृंखलाबद्ध रूपमा छापिएका सामग्रीको खण्डन गर्न पत्रिका तयार नभएपछि बैंकका तर्फबाट प्रेस काउन्सिल नेपालसमक्ष उजुरी दिइएको हो।
प्रेस काउन्सिलको विज्ञप्तिअनुसार विभिन्न मितिमा उक्त पत्रिकामा छापिएका समाचार असत्य, प्रमाणविहीन, अभद्र र अमर्यादित भएको, त्यस्ता समाचारबाट आफू र आफूसम्बद्ध संस्थासमेतको वैयक्तिक, सामाजिक, व्यावसायिक इज्जत र प्रतिष्ठामा समेत गम्भीर आघात पुर्याएकाले खण्डन पठाएकोमा प्रकाशन गर्न ठाडै इन्कार गरेको भनी नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डेले उजुरी गरेका हुन्।
विज्ञप्तिमा 'निवेदकले पठाएको खण्डन किन प्रकाशित नगरिएको हो ? प्रकाशित गर्न नमिल्ने कुनै कारण भए सात दिनभित्र आधार-प्रमाणसहित जबाफ पेस गर्न र त्यस्तो कुनै कारण नभए निवेदकको खण्डन अविलम्ब प्रकाशित गरी काउन्सिललाई जानकारी दिन' भनिएको छ।